धारा छैठौँ नेपालगञ्ज म्याराथनमा एक्सन एडको सहकार्य

बिएल संवाददाता

काठमाडाै‌ं

धारा छैठौँ नेपालगञ्ज म्याराथनमा एक्सन एड जोडिएको छ। ‘बाँच्नका लागि हिडौं’भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनमा साझेदारी गरेको हो। नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ।
      
नेपालगञ्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन्। 

एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भनिन्, ‘कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो – बाच्नका लागि हिंडौं। तर, यो यतिमा मात्रै सीमित छैन। न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ।’

उनले थपिन्, ‘राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिकाविरुद्ध हुने हिंसा र बलात्कारविरुद्धको आवाज हो। साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलामा कोभिड–१९ को प्रभावमा पनि यो केन्द्रित छ। असमानता र अन्यायको अन्त्य तथा समानता र न्यायको  पक्षको आवाज पनि हो यो अभियान–बाच्नका लागि हिंडौं।’ 

कोरोनाले गर्दा देशमा आठ महिनादेखि खेलकुद ठप्प हुँदा छैठौ नेपालगञ्ज म्याराथनको तयारी अघि बढिरहेको छ। अझ टोकियो ओलम्पिकमा जाने नेपाली खेलाडीको यहीबाट छनौट हुने भएकाले नेपालगञ्ज म्याराथनको गरिमा बढेको छ। 

यसपाली पनि नेपालका ‘शीर्ष’ धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुँदैछन्। नेपालगञ्ज म्याराथनमा प्रथम हुने धावकले नेपाली राष्ट्रिय झण्डा बोकेर टोकियो ओलम्पिकमा सहभागी हुन पाउने छन्।

पश्चिम नेपालको व्यापारिक केन्द्र, जातीय, धार्मिक तथा साम्प्रदायिक विविधताले भरिपूर्ण सद्भावको शहर हो, नेपालगञ्ज। सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने अभियानअन्तर्गत नेपालगञ्ज म्याराथनलाई अघि बढाइएको छ।

सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गराउन हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ। कोरोनाले गर्दा प्रतियोगितात्मक यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदैछन्। 

शहरका प्रतिष्ठित व्यक्तिहरुलाई सडकमा दौडाउने हाम्रो अभियान जारी नै रहेको छ। प्रतियोगिताको अर्को आकर्षणका रुपमा कर्पोरेट रनमा शहरका हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2020-11-13 16:08:00

प्रतिकृया दिनुहोस्