ओलम्पिक छनोटकाे रुपमा लिइएकाे नेपालगन्ज म्याराथन मंसिर ६ गते आयोजना हुने

नेपालगन्ज म्याराथनको छैटौं संस्करण मंसिर ६ गते आयोजना हुने भएको छ। 

क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथन हुन लागेको हो। 

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ। 

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको आयोजकले जनाएको छ। 

आयोजकका अनुसार नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ। 

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट घटाइएको आयोजकले जनाएको छ। पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ। 

गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो।
 
कर्पोरेर फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता  रहनेछ। खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन्। म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदैआएका छन्।

नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए। त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्।
    
    

प्रकाशित मिति: : 2020-11-08 15:44:00

प्रतिकृया दिनुहोस्