खेलकुदका माध्यमबाट सामाजिक कुरीतिलाई चुनौती दिइरहेका छौँ (भिडियो स्टोरी)

एकदिन छोरीहरु रिसाएर स्कुलबाट घर आए। बाबाको घुँघुरिएको चाउचाउजस्तो कपाल लुछे। ‘खुरुक्क काट्नु नत्र बोल्दैनौँ, खाना पनि खान्नौँ’, भने। 

प्राकृतिक रुपमै घुँग्रिएको कर्ली कपालवाला उनलाई अचम्म लाग्यो। ‘मेरोजस्तो कपाल बनाउन केटाहरु हजारौं खर्च गर्छन्। मैले त सौभाग्यले यस्तो कपाल प्राकृतिक रुपमै पाएको छु तर मेरा सानी सात–आठ वर्षकी छोरीलाई किन नराम्रो लाग्यो?’ 
सोधे, ‘के भयो?’ 

उत्तर भने निकै रमाइलो थियो र पछिसम्म सम्झँदा पनि फिसिक्क मुस्कान फुस्किहाल्ने टाइपको। उनी सधैं छोरीहरुलाई स्कुलसम्म पुर्‍याउन जान्थे। छोरीहरुका साथीले ‘उनी बा हुन्’ भन्ने थाहा पाइसकेका थिए। 

त्यसपछि साथीहरुलाई के चाहियो? सजिलै जिस्काउन थाले, ‘ए चाउचाउकी छोरी ! तेरो बाबाको कपाल खाइदिऊँ?’
‘इरिटेड’ हुनेगरी खाने चाउचाउलाई बाबु बनाइदिएपछि छोरीहरुलाई रिस उठ्यो। अनि खुरुक्क कपाल काट भन्ने निरंकुश आदेश दिए।

त्यही घुँगुरिएको कपालवाला मान्छेलाई मेला, पर्व र उत्सवहरुमा लामा–लामा लेन्स भएका दुई तीनवटा क्यामेरा बोकेर ठोक्रे कपाल हल्लाउँदै हिँडिरहेको देख्न सकिन्छ। उनी हुन्, कर्णाली ‘स्पोर्स क्लब’का अध्यक्ष सरोज शाही। जो हालै कर्णाली प्रदेश सरकारले गरेको निर्णयबाट ‘कर्णाली खेलकुद परिषद्’ को सदस्य चुनिएका छन्।

‘कर्णाली स्पोट्र्स क्लब’ लाई अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ धावक हरि रोकायाले संरक्षण गरिरहेका छन्। उनकै कुशल अविभाकत्वमा जुम्लाले विश्वाव्यापी रुपमा चर्चित विश्वरुपा बुढा, सुनमाया बुढा, पुर्णलक्ष्मी न्यौपाने, दुर्ग बुढा, रेजिना भण्डारीजस्ता कर्णालीका हिरा उत्पादन गरेको छ।  

यही क्लबलाई व्यवस्थित गर्न समय बिताइरहेका सरोज शाहीका गतिविधि हेरेर कर्णाली प्रदेश सरकारले उचित मूल्यांकन गरेको छ। यसरी उनको मूल्यांकन हुनुमा पर्दापछाडिका थुप्रै कारण होलान्। 

देशको राजनीतिले कुनै–कुनै रुपमा प्रभाव पार्‍यो होला नै। सम्बन्धहरुले भूमिका खेले होलान् तर पनि प्रष्ट भन्न सकिने स्थिति छ। उनी र उनको क्लबले आममान्छेले देख्ने गरी केही गरेको छ।

*****

सन् २०१५ अघि काठमाडौं पढ्न जाँदा उनले चर्चित खेलाडीको नाममा उत्साही पूर्व ‘स्टार खेलाडी’ को समूहले केही गतिविधि गरेको देखेका थिए– जस्तो कि बैकुण्ठ मानन्धर, जीतबहादुर केसीलगायत आइकनहरुको नामका भएका खेलकुद गतिविधि।

त्यही बेला उनलाई लागेको थियो, ‘हामीसँग पनि हरि रोकायाजस्तो आइकन हुनुहुन्छ। धेरै मान्छेले हरि रोकाया दौडिन्छ भन्नेबाहेक अरु थाहा पाएका छैनन्। अब हामीसँग भएको हिरालाई कुहिरोको कागजस्तो हुन दिनुहुन्न। हाम्रो गहनालाई चम्काएर लगायो भने झन् सुहाउने छ।’ 

सरोज थिए– ट्राभल एण्ड टुरिजमका विद्यार्थी। जुम्लाका विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेका उनले आईएनजीओमा काम गर्ने अवसर पाए। ‘साउथ एसियन इन्फ्रास्टक्चर टुरिजम डेभलपमेन्ट’ भन्ने एसियाली विकास बैंकको ‘पाइलट प्रोजेक्ट’ थियो। सुविधा सरकारी कार्यालयका उच्चपदस्थ कर्मचारीको भन्दा उम्दै राम्रो थियो। हाईफाई जति गरे पनि हुने। छरछिमेकमा नाम चलेको। 

तर, स्वतन्त्र चरीझैं प्रकृतिको कावा खाने मन भएका उनी आईएनजीओको चौघेरामा बस्न चाहेनन्। पखेटा काटिएजस्तो लाग्न थालेपछि उनले राम्रै जागिरलाई पनि तिलाञ्जलि दिए। पछि लोकल एनजीओबाट आउने ‘अफर’ प्रति पनि वितृष्णा जाग्न थाल्यो।
अब उनी फुक्काफुल भए। हुँदाखाँदाको जागिर छोडेपछि त्यसै बस्नु पनि थिएन। त्यही बेला लाग्यो– क्लब राम्रो प्लेटफर्म हो भन्ने।

पहिला दाजुभाइहरु सल्लाह गरेर खोलेको क्लबलाई वैधानिकता दिएर अघि बढ्ने सोच बन्यो। ‘एकदिन कोठाभित्र दुई, चार जना मान्छे डाकेर साधारण सभा गरी टीम बनायौँ’, उनले भने, ‘पैसा हुने ठाउँमा पो मान्छे हुन्थे। गैरनाफामूलक काम गर्ने एक–दुई जनाले त हो नि !’

त्यसपछि खेलकुदकै कामलाई निरन्तरता दिने संकल्प गरे। यसले खेलाडीलाई एक्लै तालिम गराइरहेका हरि रोकाया वसन्तमा पलाएका पालुवाजस्ता भए। उनी आफ्नो सीप क्षमता नयाँपुस्ताको उज्यालो भविष्य निर्माणमा लगाइरहेका थिए। त्यसमा इँटा थप्ने काम क्लबले गर्‍यो। 

ट्रेनिङ लिइरहेका खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने ठाउँ खेज्ने र त्यहाँसम्म खेलाडी पुगाउनको लागि प्रायोजक जुटाउने काम पनि क्लबले नै गर्‍यो।

त्यस बेला भन्दा अगाडि हरि रोकायाले केही खेलाडीहरुलाई तालिम गराइरहने र बिरलै मात्र हुने राष्ट्रिय तथा क्षेत्रीय खेल कुरेर सहभागी गराउने गरिरहेका थिए। उनले काम गरिरहेको तर खेलाडीले ‘प्लेटफर्म’ नपाइरहेको अवस्थामा क्लब ढुंगा खोजिरहेको बेला देउताजस्तो बनेर आयो।

‘सुरुमा दाजुभाइको सर्किलबाट काम गर्‍यौँ। केही रकम खेलाडीको घरपरिवारबाट पनि जुट्यो। सबभन्दा बढी खेलाडी बाहिर पठाउने आँट र आत्मविश्वास जुट्यो’, उनले भने, ‘त्यो लटमा थिए अहिलेका सुनमायम बुढा लगायतका खेलाडीहरु। विश्वरुपा बूढाहरुलाई हरि रोकायाले अगाडि नै तालिम गराइरहनुभएको थियो तर उनीहरु आफ्नो क्षमता देखाउन चार–पाँच वर्षमा धौ गरी आउने क्षेत्रीय र राष्ट्रिय खेलकुद कुरिरहेका हुन्थे।’

पछि दौडिरहेका खेलाडीहरुको लागि अवसरको खोजी भयो। तुलनात्मक रुपमा अल्ट्रा म्याराथन दौडमा बढी अवसर देखेपछि खेलाडीलाई अल्ट्रा–धावकको तालिम दिन गुरुलाई आग्रह गरियो। परिणाम क्लबले हालसम्म पनि अल्ट्रामा बढी ध्यान दिइरहेको छ।

अल्ट्राको पहिलो प्रतियोगिता थियो, ‘गोदावरी म्याराथनु।’ त्यहाँ पठाइएजतिका सबैले जिते। जुम्लाका सबै खेलाडीपछि मात्र अन्तका खेलाडीको नम्बर लाग्यो। त्यसले उत्साह ह्वात्तै बढ्यो। त्योभन्दा अगाडि मुस्किलले एक दुई जना खेलाडीको सहभागिता हुनेगरेको थियो। त्यस्तो बेला खेलाडीको ‘करिअर’ राम्रो बनाइदिन आर्मीबाट अगाडि बढाउनुको विकल्प थिएन। विश्वरुपा, पूर्णलक्ष्मी न्यौपाने उदाहरण हुन्। 

गोदावरी म्याराथनको उत्साहले बाहिर खेलाडी पठाउनुपर्ने भएपछि बस्न, खान र यातायातको अभाव हुन थाल्यो। पछि केही सहयोगी हातहरु खोज्न थालियो। उनीहरुले खेलाडीको नाममा सहयोग गरे।

यस्तो क्रम बढ्दै गयो। सम्पर्कको दायरा बढ्यो। विदेशीसँग पनि सम्पर्क सूत्र जोडियो। उनीहरु पनि जुम्ली खेलाडीलाई बोलाउन थाले। त्यस्तो बेला आवास, खाना र यातायातको बन्दोबस्त आफैँ गरिदिन्थे। 

जुम्ली खेलाडीको एउटा गुण भन्नुपर्छ– जहाँ गए पनि जित्न थाले। कति ठाउँमा त पहिलो, दोस्रो, तेस्रो पुरस्कार पनि उनीहरुकै पोल्टामा पर्न थाल्यो। खेलाडीहरु जुम्लालाई चिनाउँदै अगाडि बढ्न लागे। 

जिल्लामा पुरस्कार र ट्रफी भित्र्याउन थाले। उनीहरु मेडलले सिँगारिन थाले। उनीहरुले पाउने पुरस्कार को २५ प्रतिशत रकमसम्म क्लबमा योगदान गर्न लगाउन खेलाडीलाई उत्प्रेरित गर्ने काम भयो। पछिका खेलाडीलाई बाहिर पठाउन कुनै खालको टण्टा नहोस् भनी। सबैको सहकार्यमा क्लबले कोशेढुंगा पार गर्दै गयो।

खेलाडीहरुबाट आशालाग्दो नतिजा आउन थालेपछि क्लबको तालिम कमजोर रहेनछ भन्ने कुरा ढुक्क भयो। पछि क्लब रोड रेसभन्दा पनि अल्ट्रामा बढी फोकस भयो। धेरै खेलाडीहरुले अल्ट्रामै आफ्ना करिअर सुरु गरे। उनीहरु भविष्य यसैमा देखिरहेका छन्। सुनमाया, मञ्जु बुढा, राममाया बुढा पछिल्ला उदाहरण हुन्।

अल्ट्रा म्याराथन दौडको लागि लामो समय कुर्नु नपर्ने र खेलाडीहरुले स्पेस पनि पाइरहने भए तर यतिका वर्ष दौडिएको खेलाडीलाई समाजले समेत प्रश्न गरिरहेको हुने रहेछ। यस्तो बेला अल्ट्रा म्याराथन दौडको तयारी गराएर क्षमता बढाउने र केही गरेर देखाउने मौका थियो। 

तर, खेलाडीहरु दौडिरहन्छन्, वर्षाैं दौडिन्छन्, तापनि प्रतियोगितामा सहभागी हुन उनीहरुसँग पैसा हुँदैन। त्यसका लागि पुरस्कारबाट आउने केही रकम र प्रायोजकले सहायकको भूमिका निभाइदिए। खेलाडीको नतिजा त सधैँभरि उत्साजनक नै आउन थाल्यो। हरेक खेलाडी चम्किलो ताराजस्तो हुन थाले।

‘हाम्रा खेलाहरु बाहिर जान्छन् भने बाहिरका खेलाडीहरुलाई जुम्ला किन नभित्र्याउने भन्ने भयो। अरुले पनि हाम्रो ठाउँ हेर्न पाउन् तर जतिपटक हामीले खेल आयोजना गर्‍यौँ उति पटक हाम्रै खेलाडीले जिते’, शाहीले भने, ‘हाम्रा गतिविधिको चर्चा राम्रो हुन थाल्यो। काम सानो होस् वा ठूलो, यहाँका मान्छेहरुले पनि महत्व बुझे। यो केही रहेछ है भन्न थाले। यही नाममा पर्यटकहरु पनि भित्रिन थाले।’

यसरी सबैको नजरमा परेको जुम्ला रारा अल्ट्रा म्याराथन सबैभन्दा चर्चित आयोजना हुन पुग्यो। जसले विदेशीहरुको ध्यान खिच्न सफल भयो भने विश्वव्यापी रुपमा आयोजना गरिने गोल्डेन ट्रेल सिरिजको एक महत्वपूर्ण हिस्सा समेत बन्यो।

कर्णाली स्पोर्ट क्लबकै आयोजनामा ‘जेर आर कर्णाली हेरिटेज ट्रेल सिरिज’ पनि भयो। जसमा एउटै संस्थाले सम्पूर्ण पुरस्कारको व्यवस्था गर्‍यो। यो माइलस्टोन नै थियो। यस्ता कार्यक्रमको लागि प्रायोजकहरु खोजी कार्य जारी छ। 

त्यतिबेला अन्तर्राष्ट्रिय कीर्तिमानी धावक वैकुण्ठ मानन्धर प्रमुख अतिथिको रुपमा जुम्ला पुगेका थिए। ‘हामीलाई लाग्यो– हरि रोकाया प्रम्ख अतिथिको रुपमा देशभर गइरहनुहुन्छ भने हामीले हाम्रो जिल्लामा यस्ता आइकनलाई किन नल्याउने?’, उनले भने, ‘हामीले गरेको अर्को महत्त्वपूर्ण कार्यक्रम जुम्ली घोडादौड प्रतियोगिता हो। यी सबै गतिविधि र हाम्रा खेलाडीले हँसिल गरेका उपलब्धि आममान्छेले मिडियाबाट थाहा पाउन लागे। यसले पैसा नभए पनि नाम हुने सबैले बुझे। यो पनि केही हो है भन्ने भयो।’

ठूला प्रतियोगिता गरेपछि उत्साह पनि बढेर पहाडै जस्तो हुने गरेको उनको बुझाइ छ। जुम्ला जस्तो ठाउँमा गरिएको प्रतियोगिताको ‘कभरेज’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाबाट भयो। ‘हामीलाई लाग्छ यी कर्णालीको पर्यटन प्रवद्र्धनका कोसेढुंगा हुन्’, उनले भने, ‘अभाव, भोकमरी, छुवाछुत, छाउपडी, बालविवाह छ भनेर कर्णालीलाई नकारात्मक बिम्बको रुपमा चिनिएको ठाउँबाट नै यस्तो गतिविधि हुँदा हामीले केही गर्न सक्यौं जस्तो लाग्छ।’

सुखद संयोग ! १६–१७ वर्षकी केटीलाई बुढीकन्या भन्ने ठाउँबाट नै उत्साहका साथ खेलाडीहरु खेल क्षेत्रमै आफ्नो भविष्य खोज्न आइरहेका छन्। विशेषगरी सुनमायाको क्षेत्रतिरबाट बढी खेलाडी तालिम गर्न आइरहेका छन्। जहाँ बालविवाहको अवस्था भयावह छ। तर अर्काे सुखद संयोग नै भन्नुपर्छ त्यहीँका खेलाडी देशमा अब्बल छन् भने अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त छन्। 

‘लाग्छ कहीँबाट हामीले सामाजिक कुरीतिलाई पनि चुनौती दिइरहेका छौँ। यसले हामी सोसल च्यारिटी फन्डमा पनि काम गर्न पाइरहेका छौं,’ उनले भने, ‘कसैले स्टेसनरी, कसैले झोला, किताब पठाइदिन्छन्। कसैले ज्याकेट, कम्प्युटरलगायत सामग्री सहयोग गरिरहेका छन्। घोडे महादेवमा कम्प्युटर ल्याब र पुस्तकालय नै स्थापना गर्न सक्यौं। यी लिएर हामी गाउँमा गतिविधि गरिरहेका छौँ भने हाम्रा खेलाडीहरुले सोसल च्यारिटी फण्डमा काम गरेर डाइट खाने पैसा जुटाइरहेका छन्।’

कर्णाली स्पोर्ट क्लबको कामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाटै मूल्यांकन गर्न थालियो। ‘मलाई लाग्छ हामीलाई मूल्यांकन गर्नका लागि यिनै आधारहरु काफी थिए,’ उनले अन्तिममा भने, ‘अब सिंगो कर्णालीबाट गरिएका सबै कामलाई सरकारी इभेन्टमा रुपान्तरण गर्नका लागि मेरो उर्जा खर्च गर्नेछु।’
 

प्रकाशित मिति: : 2021-01-25 13:44:00

प्रतिकृया दिनुहोस्