महाधिवेशनको मिति घोषणा त्रुटिपूर्ण : डा. शेखर कोइराला 

नेता कोइरालाले महाधिवेशको मिति लम्ब्याउने भन्दा पनि सबैको माग सम्बोधन गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने विषयमा सभापति सहमत हुनु पर्नेमा जोड दिए । 

विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला। तस्बिरः रासस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बहुमतका आधारमा पार्टीको महाधिवेशन मिति घोेषणा गर्नु त्रुटिपूर्ण रहेको बताएका छन्।  

त्यसलाई सच्याएर सहमतिका आधारमा महाधिवेशनको मिति घोषणा हुुनु पर्ने उनको माग छ। प्रेस युनियन मोरङले सोमबार बिहान विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापति शेरबहादुर देउवा अघि बढ्न खोजेको आरोप लगाए।

नेता कोइरालाले महाधिवेशको मिति लम्ब्याउने भन्दा पनि सबैको माग सम्बोधन गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने विषयमा सभापति सहमत हुनु पर्नेमा जोड दिए।  

कार्यतालिका परिवर्तन गरेर सभापतिले महाधिवेशनका लागि उपयुक्त वातावरण बनाउनु पर्नेमा उनको जोड छ। उनले नेपाली कांग्रेसको इतिहासमा बहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिल्यै नभएको भन्दै सहमति जुट्न नसकेका बेला घोषित मितिमा महाधिवेशन हुने सम्भावना न्यून रहने बताए।

कोइरालाले आफूले पार्टी सभापतिको विरोध गरेको नभइकन एउटै पार्टी भएकाले मिलेर जानु पर्छ भन्ने धारणा राखेको बताए। नेता कोइरालाले पार्टीलाई एक ढिका नबनाएसम्म आफूले राजनीतिक विश्राम नलिने उद्घोष गरे।  

उनले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप लगाए। उनले सरकारले जग्गा लिजमा दिँदा पारदर्शी रुपमा टेन्डर आब्हान गरेर दिनु पर्ने बताए।

सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप कोइरालाको छ। दुई तिहाईको बलियो सरकार हुँदा पनि सभामुखको चयन गर्न नसक्दा संसद अवरुद्ध भएको उनको भनाइ थियो।  

मुलुकमा भ्रष्टाचार र महँगी बढेको भन्दै जनतालाई केन्द्रबिन्दुमा राखेर सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उनले औंल्याए। उनले राजधानी र प्रदेशको नामाकरणका विषयमा प्रदेश सरकारले गर्नु पर्ने निर्णय नेकपाले गर्नुले पनि वर्तमान सरकार एकलौटी शासन व्यवस्थामा जान खोजेको प्रष्ट हुने जिकिर गरे।  

कोइरालाले नेपाली जनतालाई अहिले सरकार छैन भन्ने भान भइरहेको दाबी गरे। उनले हरेक विषयमा राष्ट्रपतिले राजनीतिक सक्रियता बढाउनु उपयुक्त नभएको धारणा राखे। कोइरालाले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफनो गरिमामा ध्यान दिनु पर्ने उल्लेख गरे।  

प्रकाशित मिति: : 2019-12-31 02:04:58

प्रतिकृया दिनुहोस्