बलि दिन युवतीलाई बिहार लैजाने गिरोहका सात जना सार्वजनिक

विभिन्न प्रलोभनमा पारेर बलि दिनका लागि एक मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

बिहीबार हानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो।  

प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरीलाई सार्वजनिक गरेको छ।  

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको थियो।  

उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो। त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।  

घटनामा संलग्न भएकाहरुले युवतीलाई भारत पुर्याएवापत आफूहरुलाई राम्रो रकम दिने प्रलोभन दिइएको भएपनि के र किन युवती चाहिएको हो थाहा नभएको बताएका छन्।

प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए। उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए।  

कृष्ण तामाङले मोडलका लागि काठमाडौंबाट विराटनगर जाने हवाई टिकट काटेकाे थिए। दिलकुमारी बुढा युवतीसँगै विराटनगर पुगेकी थिइन्। विराटनगरमा रहेका उमेश शाहले भेटी भ्यानमा राखेर राम जानकी मन्दिरको खाजा घरमा लगेका थिए। त्यसपछि विराटनगर जलजलाचोक स्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरेर युवतीलाई राखेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको छलफलमा उमेश माझी, रंजित कुमार चौधरी, दिलिप पोदारसँग समेत छलफल गरी तान्त्रिक पूजाका सामाग्रीसहित युवतीलाई मोडलिङका लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगवनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूलचोक बुढीगंगा १ बाट कोभर्ट अप्रेसनमा रहेको प्रहरीले नियन्त्रणमा लिएको थियो।

मुख्य योजनाकार दिलिप पोदारले भारत बिहारको मन्दिरको बा लगायत अन्य व्यक्तिसँग सम्पर्क गरेको देखिएको छ। संलग्न प्रेम माया र कृष्णले ५ लाख रुपैयाँ पाउने लोभमा युवतीलाई भारत लैजाने प्रकृयामा संलग्न भएको देखिएको छ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ।  
 

प्रकाशित मिति: : 2019-12-27 04:04:11

प्रतिकृया दिनुहोस्