काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस मापन,जु्म्लामा माइनस ६

काठमाडौं उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै कम भएको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ। यसअघि हिजो काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो।

बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ। गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो।

अाज बिहान  जिरीमा माइनस २ र जोमसोममा माइनस १/२ डिग्री, डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।  

मौसमविद् बरुण पौडेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। ‘राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ। चिसो बढ्ने क्रममा छ।’ अब दिन छोटो र रात लामो हुँदै गएकाले तापक्रम घटबढ भइरहनेछ।

यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। माइनसमा पुग्ने सम्भावना भने छैन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ।

यसैगरी शीतलहर चलिरहेका बेला आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ। मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ।

तराईका विभिन्न ठाउँमा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनले तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सबैसँग आग्रह गरेका छन्। 
 

प्रकाशित मिति: : 2019-12-26 20:49:13

प्रतिकृया दिनुहोस्