जोकोहीबाट कुनै कमिकमजोरी भए निर्दयीतापूर्वक कारबाही हुन्छ: मेट्रो प्रमुख पोखरेल

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले मातहतका कर्मचारीलाई इमान्दार र प्रतिबद्ध भएर संगठनका लागि काम गर्न निर्देशन दिएका छन्।

 मेट्रोमा कार्यभार सम्हालेपछि मंगलबार मातहतका कर्मचारीसँग व्रिफिङ लिँदै उनले संगठनको छवि उकास्ने गरी काम गर्न निर्देशन दिएका हुन्।

पोखरेलले उपत्यकाको पुलिसिङले सिंगो प्रहरी संगठनको प्रतिनिधित्व गर्ने बताउँदै भने, ‘हामीले कानूनी निर्दयीता अपनाउन जरुरी छ। तपाईंहरु जोकोहीबाट कुनै कमिकमजोरी भए निर्दयीतापूर्वक कारबाही हुन्छ।’

उनले पछिल्लो समय प्रहरीको छवि सुधारिँदै गएको पनि बताए। साथै, बढिरहेको सवारी दुर्घटना, आर्थिक अपराध, चोरी, लागूऔषध लगायतका अपराध घटाउन ध्यान दिन पनि उनले निर्देशन दिए।

पोखरेलले उपत्यकाको चौकी तहसम्मको समस्या पहिचान गरेर समाधानको योजना तयार पारेर काम गर्ने योजना रहेको पनि बताएका छन्।

पोखरेलले एसएसपी हुँदा काठमाडौं प्रहरी परिसर, टेकुको नेतृत्व सम्हालिसकेका छन्।

प्रकाशित मिति: : 2019-12-25 02:42:07

प्रतिकृया दिनुहोस्