चावहिल क्षेत्र बिहानैदेखि तनावग्रस्त, गाडीमा आगजनी र तोडफोड

पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि विद्यार्थी आक्रोशित

राजधानीको चावहिल क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ। पशुपति बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सृष्टि पन्तलाई गाडीले  ठक्कर दिएर गम्भीर घाइते बनाएपछि त्यसको विरोधमा विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए ।

बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सोमबार बिहान सुकेधारामा ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए।

गाडीको ठक्करबाट गम्भीर घाइते पन्तको अहिले उपचार भइरहेको छ ।

पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड गरेका छन्।

विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरेका थिए।

अहिले पनि अवस्था भने तनावग्रस्त छ । प्रहरीले पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो। झडपका क्रममा केही विद्यार्थी घाइतेसमेत भएका छन्।

प्रकाशित मिति: : 2019-12-23 21:51:42

प्रतिकृया दिनुहोस्