मुकेशको बैठक कोठा उसका आफन्त र साथीहरुले भरिएको छ। उसको आमा १५ महिनाको नाति लिएर टोलाइराखेकी छिन्। सबै धमिलो अनुहारमा मौन छन्, लाग्छ कसैको मृत्यु नै भएको छ त्यहाँ।
'यस्तो पापीनी स्वास्नी मानिस मैले आजसम्म देखेको छैन’, मुकेशको आमा भन्छिन्, 'कसरी यस्तो काखे बच्चा छोडेर हिँड्न सकेको होला हेर्नुस त?'
आमाले यति बोलेपछि सबैलाई निराको बारेमा खुलेर बोल्न हौसला मिलेझैँ भयो। सबैले उनको बारेमा आफ्नो आफ्नो मन्तब्य दिन थाले, म भने चुप लागेर सबैको कुरा सुनिराखेको थिएँ। दुःख लाग्यो, एक जना पनि थिएनन् त्यहाँ जो निराको लागि बोलिरहेको होस्। मानिसहरू कोही भन्थे बच्चाको पो बिजोक हुने भो अनि कोही कस्तो पथ्थरको मुटु रैछ भन्दै थिए।
कति स्वार्थी छ यो दुनियाँ, म मनमनै सोच्छु। यी त्यहि मान्छेहरू हुन् जो यस घरमा आउँदा, निराले खुसीले सत्कार गर्थी, मिठा मिठा खानेकुरा बनाएर खुवाउथी, अनि यी त्यहि मान्छेहरू जो ‘ओहो हाम्रो निरा भाउजु जस्तो त मान्छे देखेको छैन’ भनेर उनको बयान उनकै अगाडि गर्थे, आज उनीहरू नै तम्सी तम्सी निरालाई दोषी ठहराई राखेका छन्। निरा कहाँ गई होलि? उसले किन आफ्नो नाबालक छोरालाई त्यसरी छोडेर हिँडी? के उसलाई त्यो घरमा सबैले राम्रो ब्यवहार गरिरहेका त थिए? के साच्चै मुकेशको आमाले भने झैँ ऊ अर्को मानिससँग हिँडेकी हो त? यी प्रश्न कसैको मनमा आयो कि आएन मलाई थाहा भएन। तर, मेरो मनमा भने यस्ता हजारौं प्रश्नले होहल्ला मच्चाईरहेका थिए।
यो पनि हेर्नुहोस्- जरूर केही छ पहाडमा- हेमन्त विवश
निरा त्यस्ती छैन, म मनमनै भन्छु। मैले निरालाई चिनेको यस्तै २,३ वर्ष मात्रै भयो होला। ऊ त शान्त स्वभाव अनि नरम मिजासकी थिई। कसैको बारेमा नराम्रो नबोल्ने, कैले कसैको कुरा नगर्ने ऊ मैले चिनेको निरा थिई। निरा मलाई मनपर्ने मान्छे मध्येमा एक थिइ। हामी बीच धेरै भेटघाट र कुराकानी नुहने भए पनि हामीमा एक किसिमको आत्मीयता भने पक्कै थियो। ‘एक पटक मात्रै उनलाई भेट्न पाए’, भने झैँ लाग्छ। अनि भित्र भित्र निरालाई भेट्ने चाहले औडाह हुन थाल्छ।
'काँ छे निरा हजुरहरुलाई थाहा भो?' मैले मन थाम्नै नसकेर सोधेँ।
'अब था' पाएर पनि के गर्ने नानी? यस्तो घर छोडेर हिँडिसकेकी स्वास्नी मानिस जहाँ भए पनि के मतलब भयो र?' आमा ले भन्नुभयो। 'हाम्रो नाकमा कालो लाग्नु लागिसक्यो,' उहाँले मुन्टो हल्लाउँदै बच्चालाई हेर्नु हुन्छ, 'यो नाबालकको पो पीर भो त। ‘यति भन्दै उहाँ एक छिन चुप लाग्नुहुन्छ। अनि फेरि भन्नुहुन्छ, ‘अब यो बच्चाले ठूलो भए पछि त्यस्ती आमाको माया गर्छ त, ल तपाईँ नै भन्नुस् अब?’ उहाँको चेहरामा घृणाको ज्वाला थियो, म चुप लागेँ। मन मनै लाग्यो- सही हो, उहाँले त निरा आफ्नो छोरी भएको भए पो साथ् दिनुहुन्थ्यो। यहाँ त छोरालाई नै साथ् दिनुपर्यो नि। रगत पानी भन्दा बाक्लो हुन्छ भन्ने त भनाई नै छ नि। यहाँ मानिसले को सहि को गलत भनेर कहाँ हेर्छ र? यहाँ त सबै कुराको निर्णय, को आफ्नो र को पराय भन्नेमा हुन्छ। यो सम्बन्धको मतलब नै यही यो। श्रीमान श्रीमति मिलुन्जेल दुवैका परिवारका मान्छेहरुले एक अर्कालाई आफ्नो मान्छन्। जब दुई बिचको सम्बन्ध बिग्रिन्छ, त्यसको मतलब बाँकी सबैसँगको सम्बन्ध पनि बिग्रियो। यो त मायाले जोडेको सम्बन्ध नै हैन। सम्बन्धले जोडेको सम्बन्ध, म आफ्नो तर्कसँग विश्वस्त सहमत हुन्छु।
निकै बेर निराको बारेमा नाना भाँती कुरा सुनेपछि म मा खै किन हो अब बढी कुरा सुन्ने हिम्मत रहेन। मलाई त्यहाँबाट एकाएक जुरुक्क उठेर हिँड्न मन लाग्यो र म त्यहाँबाट निस्किएँ पनि।
यो पनि हेर्नुहोस् - पुनर्मिलन - रूमु न्यौपाने
घर गएपछि पनि मन अस्थिर नै भैराखेको थियो। निराको अनुहार झलझल आँखामा आइरहेको, अनि उसको सानो छोरा अनुहार मेरो दिमाखबाट हट्न सकेन। आज उसकै घरमा उसलाईनै नाना भाँती भनेको सुन्दा मलाई एकदम नराम्रो लाग्यो। मुकेशसँग उसको विवाह भएको ४,५ वर्ष भएको थियो। हामीले देख्दा त उनीहरुको जोडी दैवले नै बनाएका रहेछन् भने झैँ लाग्थ्यो। सधै हाँसी खुशी देखिन्थी निरा। उसको हाउभाउ हेर्दा ऊ अर्को पुरुषको खोजीमा थिइ जस्तो लाग्दैनथ्यो मलाई। बरू लाग्थ्यो उसको जीवन मुकेशसँग सुखमय थियो। मलाई निराको यस समाचारले आश्चर्य चकित बनाएको छ। कुनै तरिकाबाट सोच्दा पनि मलाई निरा अर्को पुरुषको लागि आफ्नो परिवार त्यागेर हिँडी जस्तो लागेन। जो सुकैले उसलाई जे भने पनि मेरो मनले भने उसलाई दोषि मानेन। मनमा यस्तै यस्तै कुराहरु आईराख्यो।
निरासँग मेरो बसिबियाँलो गर्ने गरेर भेट नभएको निक्कै भइसकेको थियो, कहिले यसो भेट भै हाल्यो भने ऊ मलाई जुगौ देखिको साथि जस्तो गरेर उसलाई मैले वास्ता गरिनँ भनेर गुनासो गर्थी। एक किसिमको आत्मीयता थियो उसको र मेरो बिचमा। धेरै दिन लाग्यो मलाई निराको सम्झना दिमागबाट हटाउन।
निराले घर छोडेको पनि निकै भैसकेको थियो। आजकाल मुकेशको घरमा पनि निराको बारेमा केहि कुरा गर्दैन थिए। उसको सानो छोरालाई मुकेशको आमाले सम्हालिरहनुभएको थियो। आजकाल उनिहरुले सबै कुरा गुपचुप राख्ने गरेका छन। कता कता मुकेशको अर्को बिहेको गाइगुइ कुरा सुनिराखेकी थिएँ। भित्र मेरो मनमा पो औडाह भै राखेको थियो, दुःख आफैंलाई परे झैँ पीडा भइराखेको थियो मनमा। मुकेशले यति छिटै कसरि अर्को बिहे गर्न सक्छ? म आफ्नो मनलाई सान्त्वना दिन खोज्छु। अनि फेरि सोच्छु मानिस न हो, बदलिन कति बेर लाग्छ? त्यै निराको लागि सारा संसार त्यागिदिन्छु भन्ने मुकेशले आज उल्टो निरालाई नै त्यागिदियो। सर्पले काँचुली बदले झैँ बदलिन्छ मान्छेको मन। मानिसलाई कुनै पनि कुरा भुल्न अनि मानिस बदलिन कत्ति नी समय नलाग्ने। बिस्तार बिस्तार निरा मेरो दिमाखबाट पनि हटी।
बिस्तारै मेरो मुकेश काहाँ आवत जावत कम हुँदै गयो। मुकेश र निराको जीवन कथा उनीहरुकै चार दिवार भित्र सिमित रह्यो। निरा कहाँ गई, उसलाई कस्तो छ, के छ, यो बाँकी दुनियाँको विषय रहेन, अब मैले पनि यस विषयमा चासो राख्न छोडिसकेको थिएँ।
यो पनि हेर्नुहोस् - जस्ताका छाना हुँदा, धनी बनेका मष्टाका थान - महेश नेपाली
आज मेरो काममा छुट्टी छ, छुट्टीमा प्रायः म सधै घर बस्थेँ। तर, आज यसै शहरतिर टहल्लिन मन लाग्यो। बिहानै जुरुक्क उठेर ब्रेकफास्ट खाई म आफ्नो गन्तब्य तिर लाग्छु। कैले काहीँ एक्लै हिड्न पनि रमाइलो हुँदोरहेछ, त्यो पनि बिना लक्ष्य। सिड्नीको ट्रेन, बिहानको व्यस्त समयपछि प्रायः शान्त र आरामदाई हुन्छ। ट्रेन स्टेसनमा गएपछि मेरो मनमा अलि लामो यात्रा गर्ने ईच्छा जाग्छ, म वोलंगोंग जाने ट्रेनको टिकेट किन्छु। वोलंगोंग निउ साउथ वेल्सको इलावारा भन्ने प्रान्तमा पर्छ। यस ठाउँमा भएको बुद्धको मन्दिर ‘निन तेन टेम्पल’ निकै प्रसिद्द छ। आफू बसेको ठाउँबाट झन्डै दुई घण्टा पर हरिया बाक्ला रूखहरूको माझ शान्तपूर्ण वातावरणमा ठडिएको मन्दिर, जति पटक गए पनि उत्तिकै मोहक लाग्ने खालको छ।
ट्रेनमा बस्ता बस्दै कतिखेर दुई घण्टा बितेछ पत्तो नै नपाई म वोलंगोंग आईपुगिसकेछु। सहरको होहल्लाबाट टाढा हरियाली वातावरण अनि शान्त ठाउँमा बनाएको यो मन्दिरमा साच्चिकैको बुद्ध बस्छन् जस्तो लाग्ने। जताततै सफा अनि ठाउँ ठाउँमा सृखंड बास्ना आउने धुप बालेर पुरा ब्रम्हाण्ड नै मगमग पारेको यो मन्दिरमा आए पछि जिउँदै स्वर्ग पुगेको भान हुन्छ। त्यसैले म यहाँ बारम्बार आईराख्छु, धर्मको लागि हैन मनको शान्तिको लागि।
आज पनि मलाई यस ठाउँमा आउँदा त्यस्तै शान्तिको अनुभूती भइराखेको छ। यो सफा अनि पवित्र देखिने मन्दिरको सेरोफेरोमा म पनि त्यस्तै सफा र पबित्र मन लिएर घुम्दैछु। अनि बुझ्दैछु मानिस किन बेलाबेलामा यस्तो ठाउँमा आएर समय बिताउँदा रहेछन् भनेर।
यस मन्दिरको सेरोफेरोमा म एक लक्ष्य नभएको यात्री झैँ मन लागे तिर जताततै टहल्लिदै थिएँ। अनायासै एउटा महिला ले आएर 'डु यु ह्याब स्पर टू डलर्स’ भन्दा म झसंग भएर झस्किन्छु। अनि खल्तीबाट पैसा निकाल्नु भन्दा अघि म उसको अनुहार हेरेर झस्किन्छु। एक परिचित अनुहार! सपना हो या बिपना! ठम्याउन सक्दिनँ। मैलो लुगा, मैलो अनुहार, फोहर भरिएका लामा लामा नङ र लट्टीएका कपालमा पनि मैले त्यो मुहार तुरुन्तै चिनेँ। यी आँखाहरुले के देखेँ, यो दिमाखले तुरून्त प्रतिक्रिया दिन सक्दैन। हात खल्तीमा पुग्नुअघि रोक्किन्छ्न्, आँखाहरु नझिम्म्कीई अडिन्छ्न् अनि सास पनि कतै अड्न त लागेन भने झैँ लाग्छ। म खल्तीबाट पैसा निकालेर दिनुको सट्टा उसलाई हेरेको हेर्यै हुन्छु। सायद उसले पनि चिनी मलाई, ऊ फरक्क फर्केर त्यहाँबाट हिँडी। म ‘निरा’ भन्दै त्यही उभिएर अलमल्ल पर्छु। शून्य मन अनि शून्य आँखाले म ऊ हतासिँदै हिँडेको हेर्छु, भ्रम थियो या वास्तविकता ठहर्याउनुअघि नै ऊ मेरो नजरबाट ओझेल भैसकेकी थिई। आफ्नो तुरून्त निर्णय लिन नसक्ने क्षमतालाई धिकार्दै म ऊ गएकी बाटो तिर लम्किएँ। मैले फेरि फेला पर्न सकिन उनलाई। मन खिन्न भयो, हजारौं कुरा खेल्न थाले मन भित्र। के ऊ निरा नै थिई त? ऊ किन त्यो अवस्थामा थिई? ऊ कुनै पुरूषसँग भागेकी भन्ने कुरा के गलत थियो या त्यस पुरूषले धोका दिएर यस स्थितिमा पुर्यायो उसलाई? यी प्रश्नहरुको जवाफ चाहिएको थियो मलाई। म छट्पटाउँदै आफ्ना प्रश्नहरुको जवाफ खोज्दा खोज्दै पत्तै नपाई घर आईपुगिसकेछु। घरभित्र छिर्ने बित्तिकै म हत्त न पत्त फोन समातेर मुकेशलाई फोन गर्छु।
'मुकेश तपाईँलाई निरा काहाँ छे था’ छ?' म सोध्छु।
यो पनि हेर्नुहोस् - कालापानी र लिपुलेकमा भारतीय सैनिकको ‘बुट’ कहिलेसम्म बज्रिरहने, प्रधानमन्त्री ज्यू? - युवराज पाण्डे
'मैले उसलाई भुलिसके, सलिना। प्लिज, अब उसको बारेमा मसँग केही कुरा नगर्नुहोला,' उसले अलि मन नपरेको जसरी जवाफ दिन्छ।
'मेरो एउटा कुरा सुन्नुहोस् अनि बाँकी तपाईँको विचार,' म भन्छु। 'निरा समस्यामा छे, ऊ कसैसँग भागेकी हैन। तपाईँले उसलाई लेराउनु पर्छ, प्लिज मद्दत गर्नुहोस उसलाई।'
'त्यो आइमाई पागल भइसकी सलिना। मैले भनिसकेँ, अब मलाई त्यसको केही मतलब छैन, मैले भुलिसके उसलाई।' ऊ केही बेर अडिएर फेरि भन्छ, 'बाइ द वे आजकाल मानिसहरु आफ्नो भन्दा अरूको समस्यामा बढी केन्द्रित भए जस्तो लाग्दैन तपाईलाई, सलिना? म मान्छेको कुरा सुन्दा सुन्दा दिक्क भैसकेँ।’
मुकेशको ब्यबहारले मनमा नमजा लाग्यो। तर, यो पनि लाग्यो कि उसको कुरा सहि नै थियो, वास्तवमा त्यो उसको व्यक्तिगत कुरा नै थियो। तर, कोही मान्छे समस्यामा छ भने उसको मद्धत गर्नु पनि त गलत कुरा होइन। मैले त निरालाई मदत गर्न मात्र चाहेकी थिएँ। मुकेशलाई ऊ गलत पनि हुन सक्छ भनेर देखाउन मात्र खोजेको थिएँ। तर, उसले त तथ्य कुरा जान्नसम्म पनि ईच्छा गरेन।
मुकेशबाट निरालाई केही सहयोग नहुने देखे पछि म अरु के उपाय हुन्छ निरालाई सहयोग गर्ने भनेर सोच्न थाल्छु। बिचरी निराको आफ्नो पनि त कोही थिएन यहाँ। उसको बुवा आमा दुबैको देहान्त भइसकेको थियो र उसको दाजु भाइ दिदि बहिनी कोहि थिएनन्। मैले उसका अरु कोही आफन्त पनि चिनेको थिइनँ। एक मन त यस विषयलाई यहीँ छोडिदिऊँ जस्तो पनि लागेको थियो। तर, भित्र आत्माले मानेन, मैले आफ्नो तरिकाबाट निरालाई सक्दो सहयोग गर्ने विचार गर्छु। निरालाई त्यस मन्दिरमा देखेको दिनदेखि मेरो दिलको चैन र रातको निन्द सबै उडेको छ। आज फेरि म अफ़िस छुट्टि लिएर वोलान्गोंग तिर लाग्छु।
संयोग हो या के हो म बुझ्न सक्दिनँ। जे काम म गएर गर्छु भन्ने सोची त्यहाँ गएको थिएँ, अरू कसैले त्यो पुरा गरिदिएछ। आज म त्यहाँ पुग्दा निरा त्यही थिई। केही समाजसेवीले उसको बारेमा सबै जानकारी लिँदै थिए। उसको आँखामा शून्यता र निराशता थियो। ऊ अस्ति मैले देखेको भन्दा पनि दुब्ली र कम्जोर देखिन्थी। समय र परिस्थितिले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ अनि कस्तोबाट कस्तो बनाउँछ। कति राम्री थिई निरा, म सोच्छु। जहिले म उसको घरमा जाँदा पनि ऊ पुरा श्रृंगारमा हुन्थी, लाग्थ्यो कि ऊ कतै बाहिर पार्टीमा जादै छे। उसका नंगहरु बिना नेलपोलीश मैले कैले देखेको थिइनँ। उसका कपाल सधै रेशम झैँ ढाडमा लार्की रहेको हुन्थ्यो। कुनै दिन ऊ अल्छी गरेर ओठमा लिपिस्टिक नलाई बस्दिन थिई। 'सधै कति सजिसजाउ निरा? खसम त भेटिसक्यौ भने जस्तो’ भन्दै मैले उसलाई जिस्काएको झलक्क याद आयो। आफ्नो अनुहार र शरीरमा सानो कतै दाग मात्र लाग्यो भने ऊ त्यस दागको चर्चा, त्यो दाग नहराउञ्जेलसम्म गरिराक्थी। त्यति माया थियो उसलाई आफ्नो शरीरको अनि आफ्नो सौन्दर्यको।
यो पनि हेर्नुहोस्- जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर - सुरेन्द्र राना
आज उसको यस रुप देख्दा छाति कटक्क भएर आयो। मानसिक शान्ति मानिसलाई कति जरूरि छ। उसले देखाएका सुख सयल र खुसी के सबै बनावटी रहेछन् त? के ऊ भित्र भित्रै टुटेर छिया छिया भइसकेकी रहिछ? म आफैलाई प्रश्न गर्छु।
उसलाई त्यहाँ समाजसेवीहरुको माझमा देख्दा म हुत्तिएर भेट्न जान खोज्छु अनि झ्वाट्ट मुकेशको अनुहार र उसले भनेका कुराहरु दिमाखमा आउछन्। मेरा पाइलाहरू आफैं रूकिन्छ्न्। त्यहाँ गएर निरालाई चिनेको भन्ने संकेत दिने बित्तिकै यी समाजसेवी अधिकारीहरुले मलाई हजार प्रश्न गर्छन्, म फेरि बिना कारण नै यस काण्डमा फस्छु भने झैँ लाग्छ। तर, फेरि मेरो आत्माले दिँदैन, कसैलाई सहयोग गर्नु पनि धर्म हो, म जेसुकै होस् भन्दै निरालाई भेट्न जान्छु।
'निरा?' मैले भने, 'कसरी तिम्रो यो हालत भयो?'
निराको बारेमा केही जानकारी नभएकोले अन्योलमा परिराखेका उनीहरू, म निरासँग बोलेको देख्ने बित्तिकै मलाई उनीहरू सयौं प्रश्न गर्न थाल्छन्। मैले दिएको जानकारी र मेरो नाम कतै नआउने आश्वासन दिएर उनीहरुले मसंग प्रश्नहरू गरेकोले मन ढुक्क भयो। मेरा सबैकुरा सुनेपछि उनीहरुले निरालाई सिभियर पोस्ट नेटाल डिप्रेसन भएको दाबी गरे। अनि मलाई धन्यवाद दिँदै निरालाई उद्वार केन्द्र तिर लगे।
निरा गतिलो हातमा परेको भन्ने भएपछि मनमा एक किसिमको शान्ति छायो। ठूलो भारीलाई बिसाए झैँ भित्र आत्मासम्मै हल्का महसुस भयो। जिन्दगीमा मन्दिरको ढोका भित्र फूलपाति छरेर धर्म नगरे पनि मैले कुनै आत्मालाई ध्वस्त हुनबाट बचाएँ, ठूलो पुण्य गरे भने झैँ लाग्यो। आफूदेखि आफैं सन्तुष्ट भएर घर तिर लागेँ।
निरालाई सहयोग गर्ने अधिकारीसँग म दिनदिनै कुरा गर्छु। मुकेशसँग उनीहरुले सम्पर्क राखेछ्न् र आर्थिक रूपमा निरालाई सहयोग गर्ने सबै बन्दोबस्त मिलाएछन्। म हरेक दिन एकछिन निरालाई भेट्न जान्छु। मलाई भेटेपछि खुसीले मुस्काउने निरा आजकाल मेरो आगमनलाई बेवास्ता गर्छे। तर, मैले उसलाई भेट्न जान छोडिनँ। हरेक दिन अलि अलि गर्दै ऊ मसँग खुल्न थाल्छे। आज ऊ सँगको भेट निकै मार्मिक रह्यो। मलाई देख्ने बित्तिकै ऊ आँखा भरि आँसु पारी मलाई अंकमाल गर्न आउँछे। मलाई आश्चर्य लाग्छ।
यो पनि हेर्नुहोस्- बैकुण्ठले ५ सय रुपैयाँमा जितेको पहिलो स्वर्ण! - नवीन अर्याल
'किन? के भो? सबै ठिक त छ?' म सोध्छु।
'त्यति धेरै इस्टमित्र र आफन्त छन् जस्तो लाग्थ्यो। तर, म त कस्तो एक्लो रहेछु। आज तिमीबाहेक अरु कोहि छैन मेरो,' उसका आँखाबाट आँसु टलपलाउँदै झर्छन्। एकछिनको चुपचाप पछि ऊ फेरि भन्छे, 'हुन त आफूलाई जीवनभर साथ दिन्छु भन्नेले त यसरि छोड्यो अरूलाई सम्झी के गुनासो गर्नू?'
'मुकेशलाई सबैले गलत कुरा सुनाएका छन्। तिम्रो यो हालत सुनेपछि ऊ पक्का तिमीलाई लिन आउँछ। चिन्ता नगर। त्यस्तो मन पराएर बिहे गरेको तिमीलाई कहाँ यस्तो दुःख भोग्न छोड्छ। यस्तो नचाहिने कुरा सोच्दै नसोच। पहिला तिमी ठिक होउ अनि सबै ठिक हुन्छ।’
‘मलाई उसको कुनै मतलब छैन अब। बच्चा जन्मे पछि जुन मानसिक र शारीरिक तनाब उत्पन्न भयो, त्यसलाई टक्कर गर्ने हिम्मत ममा रहेन। मुकेशले सपोर्ट गर्नुपर्थ्यो। तर, उसले पनि गरेन। मलाई बुझ्ने कोही भएन। कतिखेर मैले आफ्नो सोच्ने शक्ति गुमाएँ, त्यो मलाई नै थाहा भएन, ऊ भन्दै थिई। ‘सुखमा त सबै आफ्नो हुन्छन् तर, दुःखमा त आफ्नो पनि पराइ हुँदो रहेछ। जसलाई आफ्नो मानेर जीवन अर्पेको हुन्छ, उसैले पनि हेर्दैन। त्यो बुझ्न मलाई यस स्थितिमा आउनुपर्यो,’ ऊ रुन्छे।
म उसका आँखाका आँसुहरु विवस भएर हेर्छु। ऊ भन्दै थिई, ‘मेरो छोराको माया नभएको होइन मलाई। तर, जब सोचले एक कुरा बाहेक अरु केही सोच्दैन, मानिसले दायाँ बायाँ केही देख्दैन। मेरो दिमाखमा कि त आफ्नो ज्यान लिने या घर छोड्ने बाहेक अर्को कुनै बिकल्प नै आउदैनथ्यो,’ ऊ भन्दै थिई, ‘हर स्वासमा निसासिन्थेँ म, हर रातमा एक्लै एक्लै आँसुका दहमा डुव्थेँ। दिन र रात एकै थियो मेरो लागि। एक हातमा बच्चा लिँदै अर्को हातले डाडु र पन्यू गर्दा कैले त जिन्दगी त्यही सिध्याईदिउँ जस्तो लाग्थ्यो। थाकेर हड्डी हड्डी गल्थे मेरा तर म थाकेको देख्ने कोही थिएनन्। म यति कमजोर थिइनँ जो हरपल कसैको सहनुभूती र मायाको लागि मरिमेट्छ। तर, अनायासै मन त्यस्तै भयो, मनले केवल माया र साहनुभूती मात्र खोजिरहन्थ्यो।’ निरा एकछिन टोलाउँछे अनि फेरि सुरु गर्छे, 'यो त तिमीलाई पनि थाहा होला नि, मानिसले कुनै चिजको धेरै चाहना राख्यो भने त्यो जसरि पनि हासिल गर्न खोज्छ। हो, मेरो मनस्थिति पनि त्यस्तै भइसकेको थियो। मलाई जसरि पनि मुकेशको माया, सहनुभूती र सहयोग हाशिल गर्नुथ्यो। मैले मुकेशको माया र सहानुभूती पाउन हर किसिमको कोसिस गरेँ। तर, मेरा कोसिसले उसमा कुनै परिवर्तन आएन। मेरा चाहनाहरुले केवल घरमा कलह मात्र बढायो। सबै भएर पनि एक्लो भएको महसुस हुन थाल्यो। शरीरमा आएको परिवर्तन, नपुग्दो निन्द्रा, दिनरातको व्यस्तता मेरो लागि असाहय भइसकेको थियो। एउटा बालक आफ्नो जीवनमा आउँदा खुसीले फूल्न पर्ने मेरो जीवन यसरि नैराश्यता तिर धकेल्लियेछ कि मैले चाहेर पनि त्यसलाई रोक्न सकिनँ, चाहेर पनि म त्यहाँबाट निस्कन सकिनँ।’
ऊ फेरि टोलाउँछे अनि भन्छे, ‘अहँ, म त्यस्तो मान्छे त हुँदै होइन। म त जीवनलाई माया गर्ने मान्छे, कसरि यस्तो जीवन अंगाल्न पुगेँ, म आफैं छक्क छु। मेरो नैरास्य्तालाई न कसैले बुझे न बुझ्ने प्रयत्न नै गरे। उल्टो म असन्तुष्ट, कहिले खुसी नहुने मानिस भनेर मप्रति मुकेशको घृणा बढ्दै गयो। मेरो मानसिक हालतलाई उसले कैले बुझ्ने प्रयत्न नै गरेन। उसले त मेरो नाममा सबै स्वास्नी मानिसहरुलाई कलंकित पार्थ्यो। ऊ भन्ने गर्थ्यो यी स्वास्नी मानिसको जातलाई जति गरे पनि हुँदैन। बिदेशमा आएर यिनीहरू बिदेशी भएका? एउटा बच्चाले बिचलित बनाउने स्वास्नी मानिसले दुनियाँमा के गरेर खान सक्छ?’ निराका आँखाबाट तररर्र आँसुको वर्सात हुन्छ। ‘छिया छिया हुन्थेँ म, उसका बचनहरु सुन्दा। जीवनको मोह यसरि मर्यो कि, मेरा सबै ईच्छा आकाक्षाहरू पत्तै नपाई मरेर गए। मेरो मनले हर बखत मलाई मृत्यु र पलायनमा एउटा छान भनेर घचघचाई रहन्थ्यो। म दिन दिनै झन् झन् दुःखी हुँदै गए। यतिसम्म भयो कि, मलाई छोराप्रति पनि माया हराएर गयो। मेरो सब्द्कोषबाट माया भन्ने सब्द नै लोप भयो। जब माया लोप भयो, मैले सोचेँ अब यी सब मायाजाल छोडेर जान मलाई केही गाह्रो हुँदैन।’
कुरा गर्दा गर्दै ऊ ठप्प रोकिन्छे। उसका आँखाका आँसु नसुक्दै फेरि आँखाबाट अर्को लहर आँसु बग्छ।
यो पनि हेर्नुहोस्- यौन हिंसाका कारण ६ पल्ट आत्महत्याको प्रयास गरेकी स्मृति ‘स्टाफ नर्स’ पढ्दै
मलाई उसका आँसुमा बगेका बेदनाहरुले पोल्दै थियो। तर पनि म उसको बेदना सुन्न उत्साहित थिएँ। 'अनि के भयो त्यसपछि?' म सोद्छु।
‘त्यस दिन मुकेशसँग झगडा भयो। हरपल झगडा हुँदा उसले मेरो औकात देखाउँछ, मलाई निच ठहर्याउँछ। यस पटकको झगडा पनि उही थियो। म सधै कम थिएँ उसको नजरमा। यस पटक म हिँडीदिएँ। लागेको थियो उसले रोक्छ मलाई। उसको गुरुरले मलाई रोकेन, उल्टो फर्केर नआउनू भन्दै उसले मलाई धम्कायो।' ऊ गहभरिका आँसु हत्केलाले पुस्छे। म उसलाई पछाडिबाट हात लगेर अंगाल्छु।
'तिमीले आज मसँग यसरी खुलेर कुरा गरि एकदम राम्रो गर्यौं,' मैले भने, 'मन हल्का हुन्छ, मनका बेदनाहरु बाहिर निकाल्दा।’
ऊ भक्कानो छोडेर रुन्छे।
'नरोउ’, म भन्छु उसलाई। ‘यही हो जीवन। तर मान, तिमीले विजय हाशिल गरेकी छौं। तिमीले घर छोड्यौ त के भो? तिमीले जीवन त त्यागिनौ नि। मैले कति यस्ता घटना पनि सुनेको छु कि मानिसले आफ्नो ज्यान नै लिएका छन् यस डिप्रेसनको कारणले। तिमीले त कायर भएर मृत्यु चुनीनौ, तिमीलाई त म श्यालुट गर्छु। जीवन त केवल एकपटक पाइन्छ त्यसैले शुख होस् या दुःख जीवन त जिउँनै पर्छ। 'जी रहे तो घि रहे’ भन्छन् नि,’ म हाँस्छु, अनि ऊ पनि खिस्स हाँसिदिन्छे। 'यस्तै गरि मुस्काउँ, सधै, म भन्छु, ‘हरेक किसिमको अनुभवको संगालो हो जीवन। जीवनको उतार चढावसँग लड्न सक्नुपर्छ, लड्न सिक्नुपर्छ। सबै सधै एकै रहदैन। कैले लडिन्छ। तर, आफैं उठेर खुट्टा टेक्नुमा जस्तो गर्ब अरूले सहारा दिएर उठेकोमा हुँदैन। तिमी पनि लड़यौ। तर, आफैं उठ्यौ। भोलि एकपटक पछाडि फर्केर हेर्दा तिमीलाई आफू प्रति गर्ब हुन्छ। यहाँ सबैले माया पाउँदैनन् र अरूको मायाको धेरै आश पनि राख्नु हुँदैन। दुनियाँ स्वार्थी छ, सबैले जानेको कुरा हो यो। आफ्नो माया आफैले गर्नुपर्छ। जबसम्म आफूले आफूलाई माया गरिदैन, तबसम्म जीवन खुसी र सुखी हुँदैन। आशा कसैको नलिँदा जीवनमा शान्ति मिल्छ। अब नयाँ जीवनको सुरुआत नयाँ सोच राखी गर तिमी। तिमी जस्तो बहादुर मानिसले जीवनमा कसैको आशा राख्न हुँदैन।’
'तर मेरो छोराले त ठूलो भएपछि मलाई घृणा गर्छ, मैले यसरि छोडेर हिँडे उसलाई,' ऊ फेरि गहभरी आँसु पार्छे। 'तिमी चिन्ता नगर, समयले सबै ठिक पार्छ, समय शक्ति हो,' म भन्छु। ‘साच्चै, मुकेशसँग फेरि मिलाप हुने सम्भावना छैन?' म सोध्छु।
'अब मुकेशसँगको मेरो च्याप्टर फिनिस्ड,' ऊ भन्छे। 'अब म जिउन नौलो आधार चुन्नेछु।’
'के गर्ने विचार गर्यौं?' म सोध्छु।
म सोच्दै छु के गर्ने भनेर। तर, म मुकेशसँग त कुनै हालतमा पनि मेलमिलाप गर्दिनँ। जीवनले धेरै कुरा सिकायो मलाई। सायद म आफू जस्तै डिप्रेसन् भएका मानिसहरुलाई सहयोग गर्ने काममा लाग्छु होला। हेर्दै जाउँ,' ऊ भन्छे।
मलाई खुसी लाग्यो निरामा आएको सकारात्मक सोच देख्दा। म ऊ सँग फेरि भेट्ने बाचा गर्दै त्यहाँबाट निस्किन्छु। बाटोभरी नानाभाति कुराहरु मनमा खेल्छन्। बच्चाको जन्मपछि महिलालाई हुने सक्ने यो डिप्रेसनलाई हामी रोगको रुपमा लिँदैनौं तर यो कति भयानक हुँदोरहेछ। कास! मुकेशले पनि यो बुझिदिएको भए सायद निरालाई यतिसम्म पीडा भोग्न पर्दैन थियो होला, म सोच्छु।
यो पनि- गोठाला बन्दै पर्यटन उद्यमी (भिडियोसहित)
बच्चा जन्मेपछि महिलालाई हुनसक्ने डिप्रेसन, धेरैले नचिनेको भयानक र बुझ्न कठिन रोग छ। परिवारमा यो दैनिक कलह र अशन्तुष्टीको रुपमा प्रस्तुत हुने हुनाले रोगको रुपमा चिनिदैन, त्यसैले यसको सधै बेवास्ता हुन्छ। एउटा बालकको जन्ममा कुन महिला खुसी हुदिन होला र? तर रोगको अगाडि कसको के लाग्छ? आफू सानै हुँदा पल्लो गाउँको ठूलीले आफ्नो बच्चा मार्न खोजेको, कान्छीले काखे बच्चासहित आफू पनि आत्महत्या गरेको भन्ने जस्ता घटनाहरु सुन्दा अचम्म लाग्थ्यो तर आज यसो सोच्दा लाग्छ ती महिलाहरु पनि यसै रोगको सिकार भएका रहेछन्। यो कुनै नौलो रोग त पक्कै होइन, मानसिक खिन्नताबाट उत्पन्न यस रोग कति विनासकारी हुँदोरहेछ, म यस्तै सोच्दै आफ्नो गन्तब्य तिर हानिन्छु।