निधारमा १४ टाँका- तैपनि काम गरिरहेकै छन् यी ९५ वर्षीय अमेरिकी राष्ट्रपति !

निधारमा १४ टाँका- तैपनि काम गरिरहेकै छन् यी ९५ वर्षीय अमेरिकी राष्ट्रपति जिम्मी कार्टर । तस्बिर : एजेन्सी

१४ टाँका लगाएको निधार, रगत जमेको रातो आँखा र आँखामाथि ठूलो ब्याण्डेज । शीरमा एटलान्टा ब्रेभ्स बेसबल ह्याट । हातमा एक मेशिन लिएर काठ चिरिरहेको दृश्य । 

९५ वर्षको बूढो शरीर घिसार्दै श्रम गरिरहेका थिए उनी । त्यो पनि पैसा लिएर हैन, सित्तैमा । गरीवका लागि घर बनाइरहेका थिए उनी ।

यो फेसबुक, ट्विटर र इन्स्टामा फोटो पोष्टका लागि फोटो शेसनका लागि बनाइएको स्युडो इभेन्ट पनि थिएन ।  

उनी साँच्चै नै असिनपसिन हुदै काम गरिरहेका थिए, सामाजिक सेवा गरिरहेका थिए । 

......

उनी सामान्य श्रमिक हैनन्, एक असामान्य श्रमिक हुन् । ती ९५ वर्षीय श्रमिकको नाम हो- जिँम्मी कार्टर ।

यो नाम नै पर्याप्त छ, उनको परिचयका लागि थप विशेषण खोज्नै पर्दैन । 

महाशक्ति राष्ट्र अमेरिकाको पूर्वराष्ट्रपति कार्टर । १९७७ देखि १९८१ सम्म अमेरिकाका राष्ट्रपति रहेका उनी ३९औं राष्ट्रपति हुन् अमेरिकामा । गत मंगलबार मात्र ९५ वर्ष लागेका उनी अमेरिकाकै सबैभन्दा लामो आयु भएका राष्ट्रपति बने । 

.......

जर्जिया राज्यको प्लेनसमा रहेको एक सामान्य घरमा बस्छन् उनी श्रीमती रोजलिनका साथमा । आइतबार विहान घरमै लडेर घाइते भएका उनी अस्पताल लगिए । निधारमा चोट थियो, आँखामा रगत जमेर कालो भएको थियो । घाउमा १४ टाँका लगाइयो र घाउ छोप्न ब्यान्डेज ।

डाक्टरले आराम लिन भने । तर, उनी मानेनन् । उनले भने,  मेरो केही समयपछि टेनेसीको नासभिल जानुपर्छ । त्यहाँ ह्याविट्याट फर हुम्यानिटीसँग मिलेर हामी २१ घर बनाइरहेका छौं । कम आय भएका विपन्नका लागि बनाइने ती घरमा मैले स्वयंसेवा गर्छु भनेर वाचा गरेको छु  । त्यसैले मैले जानैपर्छ । '

चिकित्सकले भने, प्रेसिडेन्ट तपाई घाइते हुनुहुन्छ, १४ टाँका लगाइएको छ । तपाई ९५ वर्षको हुनुभयो । ...

कार्टरले विचैमा रोकेर भने, 'त्यसैले त मेरो लागि समय कम छ र मैले धेरै गर्नुछ । '

अनि उनले हात जोड्दै भने 'मलाई भगवानका लागि भए पनि जान दिनुहोस् ।'

उनको यो कुरा सुनेर चिकित्सकसँग भन्नलाई केही पनि बाँकि रहेन । 

कार्टर धन्यवाद भन्दै निस्किए । 

'मलाई अमेरिकाको राष्ट्रपति भएकोमा गर्व छ । तर, खुशीचाँहि यी घर बनाउँन सहयोग गर्न पाउँदा लागेको छ । मेरो लागि त्यो गर्व इतिहास हो भने यो खुशी चाँहि वर्तमान । अहिले म जिवित छु, त्यसैले वर्तमानमा बाँच्न चाहन्छु ।' 

केही समयपछि उनी टेनेसीको नासभिलमा माथि वर्णन गरिएको दृश्यमा भेटिए । उनले भने, 'मेरो जीवनका कसैका लागि काम लागोस् । त्यही भएर म यहाँ आएँ ।'

उनले अगाडि थपे, 'मलाई अमेरिकाको राष्ट्रपति भएकोमा गर्व छ । तर, खुशीचाँहि यी घर बनाउँन सहयोग गर्न पाउँदा लागेको छ । मेरो लागि त्यो गर्व इतिहास हो भने यो खुशी चाँहि वर्तमान । अहिले म जिवित छु, त्यसैले वर्तमानमा बाँच्न चाहन्छु ।' 

.... 

कार्टरको परोपकारी कामका लागि एक फाउण्डेसन बनाएका छन् । यसमार्फत् उनले अमेरिकामा मात्र हैन, विश्वका ६७ देशमा परोपकारी योजना सञ्चालन गरिरहेका छन् । 

उनी ३५ वर्षदेखि ह्याविट्याट फर हुम्यानिटीका लागि स्वयसेवा र च्यारिटी गरिरहेका छन् । यही क्रममा अहिले न्युन आय भएका अमेरिकीका लागि  टेनेसीको नासभिलमा २१ घर बनिरहेका छन् ।

......

जतिबेला ९५ वर्षीय अमेरिकी पूर्वराष्ट्रपति कार्टर निधारमा १४ टाँका लगाएर स्वयंसेवा गरिरहेका थिए, त्यतिबैलै बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प भने कार्टरकै पार्टी डमोक्रेटिक पार्टीलाई सत्तोसराप गरिरहेका थिए । 

... 

कार्टर र ट्रम्प दुबै अमेरिकाका राष्ट्रपति- कार्टर ३८औं, ट्रम्प ४५औं । तर, त्यो बेलाको अमेरिका र यो बेलाको अमेरिकामा कति फरक । राष्ट्रपतिको व्यक्तित्व र शील स्वभावमा कति फरक । 

सफल हुनु एउटा कुरा हो तर असल हुनु धेरै कुरा हो । यी दुईमा त्यही फरक पाइन्छ । 

कार्टर इतिहास हुन् ट्रम्प वर्तमान । अहिलेको अमेरिकामा कार्टर जस्तो भएर बाँच्न गाह्रो छ, त्यसैले ट्रम्पजस्तै भएर बाँच्ने अभ्यास जारी छ । समाजशाश्त्रले भन्ने अमेरिकी जीवनको पाराडाइम सिफ्ट पनि यही नै हो ।

प्रकाशित मिति: : 2019-10-09 08:29:11

प्रतिकृया दिनुहोस्