बारा-पर्साका लागि अमेरिकामा जुट्दैछ साथ: एनआरएन अमेरिकाले भने झिक्यो हात

नेपालमा बारा-पर्सामा आएको हावाहुरीबाट पीडितको सहयोगार्थ अमेरिकामा सञ्चालित १२ गो फण्डमी अभियानबाट ३३ हजार चारसय ६३ अमेरिकी डलर संकलन भएको छ। एकलाख ३४ हजारको लक्ष्य राखेर सुरू गरिएका अभियानले २५ प्रतिशत मात्र सफलता हासिल गरेको छ। 

यो तथ्यांक पत्रकार सुनील मणी दाहालले तयार पारेका हुन्। उनका अनुसार यो समाचार तयार पार्दासम्म १० वटा गो फण्ड मी अभियान सहयोग संकलन जारी भए पनि अमेरिकामा रहेका नेपालीको छाता संस्था भनिने गैरआवासीय नेपाली संघ र क्यानेडियन स्वयंसेवी मिचेल हानले चलाएका अभियान भने बन्द गरिएका छन् ५० हजार लक्ष्य लिएर सुरू गरिएको अभियानमा पाँच हजार एकसय ४१ डलर संकलन भएपछि अभियान नै बन्द गरिएको छ। संकलन भएको रकम लक्ष्यको १० प्रतिशत मात्र हो। तर, क्यानेडियन स्वयंसेवी मिचेल हानले भने तीनहजार लक्ष्य राखेकोमा लक्ष्यभन्दा पनि ७० डलर बढी संकलन गरेर बन्द गरेका हुन् ।

गो फण्ड मीमा सबैभन्दा बढी सहयोग संकलन गर्नेमा मधेस-तराई मूलका नेपालीका संस्थाहरू अगाडि देखिएका छन्। पहिलो स्थानमा रहेको एन्टाले १० हजार नौसय ५९ अमेरिकी डलर संकलन गरेको छ भने दोस्रो स्थानमा रहेको मधेसी एशोसियसन अफ अमेरिकालेसातहजार आठसय ५४ अमेरिकी डलर संकलन गरेको छ। तेस्रो स्थानमा रहेको एनआ।एन अमेरिकाले भने पाँच हजार एकसय ४१ डलर संकलन गरेर अभियान नै बन्द गरेको छ।

कसैले ठुलो लक्ष्य राखेर थोरै सहयोग उठाउने सफलता हासिल गरेका छन् भने कतिपयले थोरै लक्ष्य राखेर धेरै उठाएको पनि देखिन्छ। तर, सहयोग उठाउक्ने संस्था र सहयोगको राशी हेर्दा एउटा तीतो सत्य पनि उजागर भएको पाइनछ। त्यो के भने बारा-पर्साको पीडाले मधेस-तराईका मानिसलाई जति छोएको रहेछ, पहाडी र हिमाली मुलका मानिसलाई त्यति छोएको पाइएन। सहयोग राशी उठाउने पहिलो र दोस्रो संस्था मधेस-तराईकै देखिनु र सहयोग उठाउनमा पहाडी हिमाली संस्थाको नाम नदेखिनुले त्यही कुराको पुष्टी गर्छ।

यसबाहेक अमेरिकाको नेपाली डायस्पोरामा रहेका अन्य संघ-संस्थाहरूले पनि संस्थागत रूपमा र कतिपयले व्यक्तिगत रूपमा पनि सहयोग उठाएका हुन सक्छन्। घरदेशमा पीडामा रहेका नेपालीका लागि परदेशमा रहेका नेपालीले सहयोग उठाउनु स्वागतयोग्य कदम हो र यसमा हरेक मनकारी नेपालीले आफूले सक्दो योगदान दिनु झनै राम्रो कुरा हो ।

तर, यो सँगै अर्को एउटा प्रश्न पनि उठ्न सक्छ। त्यो के भने विगतमा पनि यसरी पैसा उठाइने गरिएको छ।कतिपयले उठाएको पैसा पीडितसम्म सही किसिमले नै पुर्याएका छन् भने कतिपयले हिनामिना गरेको भन्ने समाचार पनि सार्वजनिक हुदै आएको छ।त्यो खराब इतिहास यसपटक नदोहोरियोस् र पीडितका नाममा उठाइएको रकम उनीहरूसँमे पुगोस् भन्ने चाहना सहयोगी मनहरूको छ। 

प्रकाशित मिति: : 2019-04-08 19:06:54

प्रतिकृया दिनुहोस्