बीएल फलोअप : प्रचण्डमय भयो अमेरिकाका नेपालीको फेसबुक-भित्ता

Photo Credit: Nayapusta

पत्नी सीताको उपचारका लागि अमेरिका उडेका नेपालका पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को भ्रमणलाई लिएर सामाजिक सञ्जाल फेसबुकका भित्ताहरू तातेका छन्। फेसबुकका भित्ताहरू हेर्दा उनको लागि अमेरिका परदेशमा रहेका नेपालीहरूले तातो मनले स्वागत हैन, चिसो मस्तिष्कले तिरस्कार पस्किरहे जस्तो देखिन्छ।

फेसबुकका भित्ताहरू टाँगिएका सकारात्मकभन्दा बढी नकारात्मक टीका टिप्पणीहरूले त्यसैको प्रमाण दिइरहेका छन्। भित्तामा माओवादी द्वन्दकालमा भएका हत्याहिंसाका तस्वीरहरू पनि बाक्लै संख्यामा अपलोड गरिएका छन्।

यो पनि पढनुस्

बीएल अपडेट :प्रचण्डले भने- भ्रमण 'व्यक्तिगत', राजदूत निवासमा बास

माओवादी सशस्त्र द्वन्दप्रति राजनीतिक रूपमै असहमत हुने पक्षले उठाउँदै आएका पुराना विषयहरू त उठेकै छन्, अमेरिकालाई साम्राज्यवादी भन्नेहरू अन्तत: साम्राज्यवादकै शरणमा परेको भनेर नयाँ खिसीट्युरीहरू पनि गरेको पाइन्छ।

न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका योगेश आदि लेख्छन्- 'जिन्दगीभर अमेरिकी साम्राज्यबाद भन्नेहरू, अमेरिकाको खोईरो खन्नेहरू, अमेरिकी बिस्तारबाद मुर्दाबाद लेख्नेहरू; जीन्दगीको उत्तरार्धमा आखिर बिभिन्न बहान्मा यै अमेरिका नआई नहुने रहेछ ! ...'

भर्जिनियामा रहेर यसअघि छबिलाल भन्दै प्रचण्डको सत्तोसराप गर्दै आएका लोकगायक तथा मदर नेपाल डट कम पत्रकार रामप्रसाद खनालले सीता दाहालजीलाई शिघ्र स्वास्थ्यलाभको कामना भन्दै लेखेका छन्- 'बिचरा ३ तोला सुन मात्र भएका गरीब नेता प्रचण्डले कसरी गराउनुहुन्छ कुन्नी ऊपचार ! यहाँ सार्है महँगो छ ऊपचार !'

विरोध गर्नुभन्दा पहिले सोचौं

कमला प्रसाई, साहित्यकार

मैले कमरेड प्रचण्डको सपोर्ट गरेको होइन, यहाँका कुनै पनि पार्टीका हनुमानहरुको असली रुपको बयान गरेको हो, राजनीति गर्नु छ भने नेपाल गए भैहाल्यो नि, किन यहाँको नागरिकता लिएर नेपालको राजनीति गर्नु?यहाँको राजनीति गरे भैहाल्यो नि,कित यहाँको बिदेशी नागरिकता त्यागेर नेपालमा गएर प्रचण्डको ठाउँ लिए भैहाल्यो नि।
तपाईं हामी नै हो पहिले उनलाई ठूलो बनाउने नत्र प्रधानमन्त्री कसरी बन्थे त! सकिन्छ भने नेपालमा गएर राजनीति गरौ, यहाँबाट कराएर केही हुनेवाला छैन।
१७००० नेपालीको रगतको खोलो बगेपछि पनि उनी अमेरिका आएका थिए त्यतिबेला पनि तपाईं हामी नै हात मिलाउन र भतेर खान पुगेका थियौ अनि अहिले चाँहि केको टकटक? 
तपाईं हामी नै दोषी छौ, पहिले ठूलो बनाउने अनि बिरोध गर्ने?
सक्नु हुन्छ भने अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्नुहोस्, दोषी उनीमात्र छैनन् तपाईं -हामी पनि छौ।
अस्ति प्रधानमन्त्री अनि रास्ट्रपति आउँदा पनि तपाईं हामी नै हात मिलाउन, भतेर खान र फोटो खिचाउन आतुर थियौ। 
कति सरकारी जागिरेहरु त चाकरीवादमा मस्त भएको कुरा पनि सुनियो, देखियो ।
त्यसैले कुनै पनि कुराको बिरोध गर्नुभन्दा पहिले सोचौं अनि बिरोध गरौं किनकी हामी कहाँ छौ त्यो पनि सोच्नु जरुरी छ।

कमला प्रसाई, साहित्यकार

कुनै समय नेपालमा पत्रकार रहेका सानुबाबु सिलवाल यतिबेला अमेरिकामा आफ्नो पे चेक आफै काटौं अभियानमा छन्। उनले आफ्नो फेसबुक भित्तामा केही प्रतिनिधिमुलक तस्वीरसहित यस्तो लेखेका छन्- 'यि नरसँहारकारिका मनमा के खेल्दो हो अहिले आफ्नि प्यारिको प्राणपखेरु बचाउन साम्राज्यबादि मुलुक तर्फ उड्नु अघि? अमेरिकि भुमिमा टेक्दा नटेक्दै मानव हत्यामा यिनलाइ अमेरिकि अदालतमा उभ्याइनु पर्ने हो। कालो झन्डा यिनका लागि खासै अर्थ राख्दैन।'

अमेरिकामा कांग्रेस समर्थित नेपाल जनसम्पर्क समिति अमेरिकाका एक नेता न्युयोर्कका प्रमोद सिटौला लेख्छन्- '.... उपचारका लागि आएका व्यक्ति कतै कुनै व्यक्तिको ईसारामा बाहिर कतै देखिए ससक्त बिरोध कालो झण्डा कानुनि बाटो अपनाईने छ।हामी अमेरिकामा बस्ने नेपालीहरूका लागि चुनौति नै हो यि मानबअधिकार बिरोधि जत्था अमेरिका घुम्ने जाने गरेका छन ।अब हामि टुलुटुलु हेरेर बस्नु हुदैन आजै देखि अभियान थालौ ज्यानमारालाई अमेरिकामा बन्देज लगाऔं।'

सिटौलाकै स्टाटसमा राजन त्रिपाठी लेख्छन्- क्रान्तिको नाममा त्यत्रा मान्छे मारेर यिनले नै ल्याएको भनिएको गणतन्त्रमा पनि यिनकी स्वास्नीको उपचार त नहुने रैछ त, फेरी यस्ता महान क्रान्तिकारीहरुले त यो साम्राज्यवादी अमेरिकातिर उपचार नगराउनु पर्ने हो, फेरी लौन अस्ति भर्खर भेनेजुएलाको पक्षमा अमेरिका थर्काउने पनि यिनै हुन् क्यारे ! स्वास्नीको उपचारमा भेनेजुएला किन नगएको ? जनतालाई थांग्नामा सुताएर आफ्नै मस्ति, लुटेरातन्त्रका जल्लादहरुको जय होस् !

टेक्सासमा एक नेपाली राज अधिकारी लेख्छन्- 'प्रचण्डलाई अमेरिका भ्रमणका क्रममा पक्राउ गरेर युद्ध अपराध र १७,००० निहत्था नागरीकको हत्या सम्बन्धि मुद्धामा अन्तर्राष्ट्रिय अदालतमा मुद्धा चलाउन सकिन्छ कि सकिन्न ?'

एउटा राजनैतिक स्वैरकल्पना 

शैलेस श्रेष्ठ, सञ्चारकर्मी

यस्तो कल्पना गरौँ (के कल्पना मात्र पनि भन्नु त्यस्तो देखेकै अनि भोगेकै हो यो एकबारको जुनीमा) अहिले संघोय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपाली कांग्रेस र माओबादीको गठबन्धन (ठग-बन्धन) सरकार छ र आलोपालो सहमति अन्तरगत प्रधानमन्त्री कांग्रेसका शेरबहादुर देउबा छ्न् अनि पुष्पकमल दाहाल आफ्नी धर्मपत्नी सीता दाहालको उपचारको लागि अमेरिका आउँदैछन या भर्खर आईपुगे।अब ईमान्दार भएर कल्पना गरौँ त्यो अवस्थामा अमेरिकास्थित कांग्रेसका कार्जेकर्ता अथवा अधिकृत या अनाधिकृत नेपाली जनसम्पर्क समितिका हर्ताकर्ताहरुको फेसबुक स्टाटस, पोस्टिंग अनि परिपत्रहरु कस्ता हुन्थे होला? कुरो बुझ्नु भो नि हैन?

शैलेस श्रेष्ठ,सञ्चारकर्मी

यी हुन् केही प्रतिनिधिमुलक क्रिया प्रतिक्रिया जसलाई सार्वजनिक गर्न सकिन्छ। यसअतिरिक्त अरू कतिपय सार्वजनिक गर्नै नसकिने खालका प्रतिक्रियाहरू पनि सामाजिक सञ्जालमा भेटिन्छन् ।

यसरी प्रचण्ड भ्रमणको विरोधमा सामाजिक सञ्जाल तातिए पनि उनको प्रत्यक्ष समर्थनमा खासै दमदार स्टाटसहरू भेटिएका छैनन् । तत्कालिन एमालेको प्रवास भातृसंस्था प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले भ्रमणसँग सम्बन्धित उज्यालो भिडियो सेयर गर्दै लेखेका छन् - सुरक्षित र आरमदायक यात्राको कामनासहित अमेरिकामा स्वागत हजुरहरूलाई।

अमेरिकामा प्रचण्डको तत्कालिन माओवादी पार्टीका कार्यकर्ता खासै छैनन् । त्यसैले उनको स्वागतका लागि फेसबुकको भित्ता त्यो घटकबाट रंगिने सम्भावना कमै छ। तर, तत्कालिन एमाले समर्थकहरू धेरै नै छन् र अहिले एउटै पार्टी नेकपा भएको बेला त्यही पार्टीका अध्यक्ष अमेरिका भ्रमणमा आउँदा पनि उनीहरूका फेसबुकका भित्ताहरू अरू नै कुराले रंगिएका भेटिन्छन्। उनीहरूका अध्यक्षलाई मुद्दा लगाउँनुपर्ने, पक्राउ गर्नुपर्ने भनिरहदा पनि उनीहरूको हातमा दही नै जमिरहेको देखिन्छ।

यो पनि पढनुस्

पत्नी सिता दाहालको उपचारका लागि प्रचण्ड सोमवार अमेरिका आँउदै

बरू न्युयोर्ककी साहित्यकार कमला प्रसाईले मैले कमरेड प्रचण्डको सपोर्ट गरेको होइन भन्दै पनि विराेध गर्नेहरूलाई गतिलो झापड दिएकी छिन् । उनले लेखेकी छिन्- १७००० नेपालीको रगतको खोलो बगाएपछि पनि पनि उनी अमेरिका आएका थिए त्यतिबेला पनि तपाईं हामी नै हात मिलाउन र भतेर खान पुगेका थियौ अनि अहिले चाँहि केको टकटक? 

सामाजिक सञ्जालका भित्तामा नदेखिए पनि धेरैको मनको भित्तामा एउटा साझा नेपाली स्टाटस भने अनुभव गर्न सकिन्छ। त्यो के भने- प्रचण्ड यसपटक विरामी श्रीमतीको उपचार गर्न आएका एकजना श्रीमान् मात्र हुन् । त्यसैले मानवीय समवेदनामाथि घोचपेच नगरौं। न्युनतम मानवीय समवेदना देखाऔं । 

प्रकाशित मिति: : 2019-03-18 06:20:27

प्रतिकृया दिनुहोस्