अमेरिकामा एकजना भुटि्नज अगुवा हराए: गाडी भेटियो, मान्छे भेटिएन

Famaly photo

अमेरिकाको रहेको भुटि्नज नेपाली समुदायका एक प्रतिष्ठित व्यक्तित्व पदम रिजाल हराएका छन्। पेन्सेल्भेनियाको ह्यारिसबर्गमा बसोबास गर्दै आएका उनी बिहीबार रातिदेखि हराइरहेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पेन्सेल्भेनिया राज्यका गभर्नरका एसियन प्यासिफिक अमेरिकनसम्वन्धी एड्भाइजरी कमिशनको मेम्बर कमिशनर रहेका रिजालले बिहीबार साँझ ७ बजे परिवारसँग भेट्ने भनेका थिए। पारिवारिक स्रोतका अनुसार भनेको समयभन्दा धेरै पछिसम्म पनि घर नफर्किएपछि परिवार, आफन्त तथा स्थानीय भुटि्नज नेपाली समुदायसँग सम्बद्ध संघ संस्थाले उनको खाेजी गरेका थिए। खोजीले सार्थक परिणाम नदिए पछि उनीहरूले प्रहरीलाई जानकारी गराएको बताइएको छ। 

यसैबीच रिजालले चढेको गाडी इन्टरस्टेट ८३ को साउथ ब्रिजतिर सुस्केहाना नदीको पुलमाथि भेटिए पनि उनलाई भने गाडीमा नभेटिएको प्रहरीले जनाएको छ। स्थानीय प्रहरीले उनको खोजीलाई थप गति दिएको छ। तस्वीर सार्वजनिक गर्दै उनका बारेमा जानकारी भए प्रहरीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको छ। 

पूर्वी नेपालकाे पाँचथर भारपा पुर्खौली थातथलो भएका रिजालको जन्म १९६७ अक्टाेबरमा दागापेलाकाे टासिदिनमा भएकाे थियो। २३ वर्षकाे उमेरमा नेपाल आएका उनले २००५ मा  अमेरिका उड्नुअघि  नेपालमा  १५ वर्ष भुटानी शरणार्थीका रूपमा अनागरिक जीवन बिताएका थिए। नेपालमा रहँदा  उनले नेपालका  विभिन्न भाग तथा शिविरका पनि  शिक्षकका रूपमा काम गरेका थिए। उनलाई आज पनि धेरै  भुटि्नज  नेपालीहरू एक महान शिक्षकका रूपमा सम्झन्छन् ।

सुरूमा क्यालफोर्निया आएका उनी पछिल्लो समय पेन्सेल्भेनियाको ह्यारिसबर्गमा बस्दै आएका थिए। उनी रियल स्टेट र ट्याक्ससँग सम्बन्धित व्यवसायमा आवद्ध थिए।

उनी नेपालका नेपाली र भुटानका नेपाली भनेर छुट्याउन नहुने भन्दै अमेरिकामा रहेका दुबै नेपालीको मूल नेपाली नै भएको बताउँथे। ह्यरिसबर्गमा रहेका नेपालका नेपालीसँग सहकार्य गर्दै उनले नेपालमा भूकम्पपीडितका लागि चन्दा संकलन गर्न अहम् भूमिका निर्वाह गरेका थिए। उनले नेपाली भाषालाई पेन्सेल्भेनियामा मान्यता दिलाउन पनि महत्वपूर्ण योगदान दिएका थिए।

समुदायका एक प्रतिष्ठित व्यक्ति यसरी एकाएक हराएको समाचारले अमेरिकामा रहेको भुटि्नज नेपाली समुदाय आश्चर्यमा परेको छ। दुई दिन बित्दा पनि उनी नभेटिएको र गाडी पुलमाथि छोडिएको अवस्थामा भेटिनुले थप चासो र चिन्ता बढाएको छ।

प्रकाशित मिति: : 2019-02-24 07:55:03

प्रतिकृया दिनुहोस्