सिड्नीका नेपालीलाई १० लाखको चुनावी प्रतिवद्धता : जसले जिते पनि सहयोग पक्का

अस्ट्रेलियामा मे १८ मा हुन लागेको संसदीय निर्वाचनको मिति जतिजति नजिकिदै छ, त्यतित्यति नै मुख्य दलहरूबीच मतदातालाई प्रभाव पार्न चुनावी प्रतिबद्धता गर्ने होडबाजी पनि बढ्दैछ। 

यसक्रममा अस्ट्रेलियाको सिड्नीमा रहेको नेपाली डायस्परोराले दुई मुख्य दलका तर्फबाट जसले चुनाव जिते पनि १० लाख डलर सहयोग पाउने प्रतिबद्धता पाएका छन्। 

सिड्नीमा आयोजित एनआरएन ओसेनिया क्षेत्रको तेस्रो सम्मेलनलाई गत शुक्रबार सम्बोधन गर्दै लिबरल पार्टीका नेता तथा संसदीय अध्यागमन मन्त्री डेबिड कोलम्यानले आफ्नो दलले चुनाव जिते नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख डलर दिने घोेषणा गरेका थिए। उनी सिड्नीका मार्जिनल सिट ब्याङ्क्स क्षेत्रका सत्तारूढ लिबरल पार्टीका उम्मेद्वार हुन्। उनले खासगरी आफ्नै लागि असुरक्षित रहेको ब्यांक निर्वाचन क्षेत्रका नेपालीमूलका मतदातालाई प्रभावित पार्न यस्तो घोषणा गरेका थिए। उनको यो घोषणालाई नेपाली समुदायले स्वागत गरेर सकारात्मक संकेत दिएको थियो। 

त्यसको २४ घण्टा पनि नबित्दै प्रमुख विपक्षी लेबर दलका एक नेता तथा ब्यांक निर्वाचन क्षेत्रका उम्मेद्वार क्रिस ग्याम्बियनले पनि स्याडो मिनिस्टरको सहमतिमा आफूले चुनाव जितेमा नेपाली समुदायलाई १० लाख डलर नै सहयोग दिने घोषणा गरे।उनले नेपाली समुदायसँग सल्लाह गरेर प्राथमिकताका आधारमा कुनै परियोजनालाई सहयोग गर्ने बताएका छन्। 

सि्ड्नीको दक्षिणी यस क्षेत्रबाट अहिले सत्तारूढ लेबर पार्टीका अध्यागमनमन्त्री डेबिड कोलम्यान सांसद छन् तर यो क्षेत्र कुनै पनि दलका लागि सुरक्षित मानिदैन।यहाँ प्रमुख प्रतिपक्षी लेबर पार्टीको प्रभाव पनि कम छैन। यस क्षेत्रका लेबर उम्मेद्वार क्रिस ग्याम्बियन पनि कमजोर छैनन्। सन् १९४९ देखि २०१३ सम्म बहुसांस्कृतिक यो क्षेत्रमा लेबरले एक छत्र राज गर्दै आएको थियो। तर, सन् २०१३ मा लिबरल पार्टीका कोलम्यानले लेबर सांसद डरिल मेलहमलाई पछि पार्दै लिबरलका लागि खाता खोले। सन् २०१६ को चुनावमा कोलम्यानले ग्याम्बियनलाई प्रतिस्पर्धी पाएका थिए।उनले ३९४२३ मत ल्याएर विजयी हुँदा ग्याम्बियनले ३५८९० मत ल्याएका थिए। कोलम्यान र ग्याम्बियन दोस्रोपटक आम्नेसाम्ने हुदैछन्। 

दुईपटक लिबरलका कोलम्यानले नै चुनाव जितेसकेकाले यसपटक उनी ल अफ एभ्रेजको शिकार हुने सम्भावना स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्। उता, केन्द्रमा पनि लिबरलले दुईपटक सत्ता सम्हालिसकेकोले यसपटक लेबरको सम्भावना बढेको बताइन्छ। अहिले लेबर १ प्रतिशत मत मार्जिनका आधारमा अगाडि रहेको मत सर्भेक्षणहरू सार्वजनिक भैरहेका छन्। 

लिबरल पार्टी अष्ट्रेलियाको रूढिबादी पार्टी हो यो आप्रवासीमैत्री मानिदैन। यसले चुनाव जितेमा शरणार्थी फिर्ता गर्ने र आप्रवासीलाई रोक्ने प्रतिवद्धता गरेको छ। अहिले यो पार्टी तीन गुटमा नराम्ररी विभाजित छ। र प्रधानमन्त्री फेरिरहेर अस्ट्रेलियामा राजनीतिक अस्थिरता बढाउन पनि जिम्मेवार रहेको मानिन्छ। यसरी हेर्दा लिबरलको सत्ता सम्भावना अलि कम नै देखिन्छ। 

उता प्रमुख प्रतिपक्षी दल लेबरमा पनि दुई धार छ। तर, दुई धार भए पनि यसपक अभूतपूर्व एकताका साथ चुनाव जित्ने आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको छ। यो दल आप्रवासीमैत्री मानिने भएकाले अस्ट्रेलियामा रहेका धेरै नेपालीमूलका मतदाता यही पार्टीलाई मतदान गर्ने गर्छन्।

तर, यसपटक सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट नेपाली युवा प्रमेज श्रेष्ठ लिबरल उम्मेद्वार छन्। उनी आप्रवासी विरोधी दलबाट उम्मेद्वार भए पनि नेपाली भएका नताले त्यस निर्वाचन क्षेत्रका अधिकांश नेपाली भने स्थानीय राजनीतिबाट माथि उठेर प्रमेजकै पक्षमा देखिएका छन्। उनको प्रतिस्पर्धा अहिले त्यस क्षेत्रकी सांसद रहेकी लेबरनेतृ लिण्डा बर्नीसँग हुने छ। 

प्रकाशित मिति: : 2019-05-14 19:16:41

प्रतिकृया दिनुहोस्