अमेरिकाका लागि राजदूत प्रक्रिया सुरू: नयाँ कि पुरानै?

बीएल

राजनीतिक कोटामा राजदूत हुने ६ मुलुकका लागि राजदूतका लागि लिगलिग दौड सुरू भएको छ। परराष्ट्र मन्त्रालयले प्रक्रिया अगाडि बढाउन साथ 'बालुवाटार'तिरको लिगलिग दौड सुरू भएको हो।

लिगलिगेहरूको ध्यान मूलत: अमेरिका, अष्ट्रेलिया र स्पेनतिर केन्द्रीत छ। सरकारले यी तीन मुलुकका अतिरिक्त दक्षिण अफ्रिका, दक्षिण कोरिया र बंगलादेशका लागि राजदूत नियुक्त प्रक्रिया अगाडि बढाएको छ।

अमेरिकामा वैशाखमा राजदूत खालि हुदैछ भने अष्ट्रेलियामा बिचैमा खालि भएको छ।दक्षिण कोरिया, स्पेन र बंगलादेशका राजदूतलाई सरकारले फिर्ता बोलाएको थियो भने दक्षिण अफ्रिकाका राजदूत अमृतबहादुर राईलाई कार्यकाल पूरा नहुँदै काठमाडौै ट्रान्जिट गराएर संयुक्त राष्ट्र संघको स्थायी नियोग न्युयोर्कमा स्थायी प्रतिनिधि बनाएर पठाएको थियो। 

सबैको ध्यान अमेरिकाका लागि राजदूत हुने कुरामा केन्द्रित छ। यसका लागि अहिलेकै राजदूत डा. अर्जुन कार्की पनि अर्को कार्यकाल बढाउन काठमाडौंमै घुडा धसेर लागेका छन्। 

राष्ट्रपतिदेखि सत्तारूढ एमालेका शीर्ष नेताहरूको पनि आआफ्नो गुडबुकका मान्छेहरू छन्। उनीहरू कसलाई राजदूत बनाउँने भन्ने बारेमा आआफ्ना मान्छेका नाम उचालिइरहेका छन्। 

यो हानथाप अरू अगाडि बढ्यो भने र शीतल निवासको पाइन चल्यो भने अहिलेकै राजदूत डा. कार्कीका लागि खुदो पल्टन सक्ने पनि अनुमान गरिएको छ। यसो भयो भने कम्तिमा अर्को व्यवस्था नभएसम्मका लागि उनको हालिमुहाली वासिङ्टनमा चल्ने देखिन्छ। 

डा. कार्की अनेकौ विवादमा मुछिएको कुरा प्रधानमन्त्री र नेकपाका शीर्षनेताहरू पनि जानकार छन् र उनको पहिलो कार्यकाल कुनै पनि कोणबाट उल्लेख्य नभएको पनि जगजाहेर छ।परराष्ट्र अधिकारीहरू पनि उनीसँग खुशी छैनन् । यस्तो स्थितिमा उनलाई दोस्रो कार्यकाल नै दिन भने कोही तयार देखिएका छैनन्। तर, नेपाल हो- उनी नहोलान् भन्न सकिन्न। 

यसपटक राजनीतिक नियुक्ति मात्र हुने भए पनि मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र सचिव शंकरदास बैरागी पनि राजदूत हुन सक्ने सम्भावित नाममा दरिएका छन्। 

परराष्ट्र सचिव वैरागी अनेक विकल्पमा खेलिरहेको देखिन्छ। उनी मूलत: मुख्यसचिव बन्नका लागि न्वारानदेखिको बल लगाइरहेका छन्। यदि उनी मुख्यसचिव भएनन् भने अमेरिकाका लागि राजदूत भए पनि हुने कि भन्नेतिर लागेका छन्। त्यो पनि भएन भने उनी परराष्ट्र सचिवकै रूपमा पूरा कार्यकाल बिताउने योजनामा छन्।

प्रकाशित मिति: : 2019-04-06 09:43:07

प्रतिकृया दिनुहोस्