बुधबार, १७ डिसेम्बर २०२५

विश्व कपमा १२ वर्षपछि अस्ट्रेलिया र बंगलादेश आज भिड्दै

News Image
Agency
• • •

डिफेन्डिङ च्याम्पिन अस्ट्रेलिया १२ वर्षपछि विश्व कपमा विहिबार बंगलादेशविरूद्ध भिड्दैछ। नटिङ्घममा अस्ट्रेलिया जहाँ अंक तालिकाको शीर्षस्थानमा उक्लिन संघर्षशील छ, त्यही बंगलादेश सेमिफाइनल प्रवेशको सपनालाई जिवित राख्न कङ्गारु टोलीविरूद्ध भिड्ने छ।

अस्ट्रेलिया र बंगलादेश सन् २००७ मा पछिल्लो पल्ट विश्व कपमा भिडेका थिए। अस्ट्रेलिया पाँचौ जितका लागि मैदानमा उत्रिनेछ। अघिल्लो खेलमा वेष्ट इन्डिजलाई पराजित गरेको बंगलादेश लगातार दोस्रो जितको तयारीमा छ।

अस्ट्रेलिया एउटा खेलमा मात्र पराजित भएको छ। विश्व च्याम्पियन कङ्गारु टोलीलाई भारतले पराजित गरेको थियो। अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेट, दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रन, तेस्रो खेलमा पाकिस्तानलाई ४१ र चौथो खेलमा श्रीलंकालाई ८७ रनले पराजित गरेको थियो।

यस्तै, बंगली टोलीले ५ मध्ये दुई खेलमा जित निकालेको छ। उसले दक्षिण अफ्रिका र वेष्ट इन्डिजलाई पराजित गरेको थियो। न्युजिल्यान्ड र इंग्ल्यान्डविरूद्धको खेलमा भने पराजित भयो। एक खेल वर्षाका कारण रद्द भएको थियो।

अस्ट्रेलिया र बंगलादेशले २० एकदिवसीय खेलेका छन्। जसमा अस्ट्रेलिया १८ मा विजयी भएको छ। बंगलादेशले १ खेल मात्र जितेको छ। एउटा खेलको नतिजा निस्किन सकेको थिएन। विश्व कपमा यी टोली २ पल्ट भिडेका छन् र दुवैमा अस्ट्रेलिया विजयी भएको छ।

आजको खेलमा पानी पर्ने सम्भावना पनि उत्तिकै छ। यस मैदानमा हालसम्म ५१ एकदिवसीय भएको छ, जसमा पहिलो ब्याटिङ गर्ने टोलीले २४ पल्ट जित निकालेका छन्। यस मैदानको औसत स्कोर २ सय ९५ मानिन्छ।

अस्ट्रेलियाको सबैभन्दा बलियो पक्ष भनेको उसको तीब्र बलर मिशेल स्टार्क हुन्। उनले विश्व कपको १३ खेलमा ३५ विकेट लिइसकेका छन्। पूर्व बलर ब्रेट लीले विश्व कपमा ३५ विकेट लिन १७ खेल खेल्नु परेको थियो।

यस्तै, जारी विश्व कपको ५ खेलमा ९२ को औसतले ३ सय ४३ रन बनाइसकेका कप्तान एरोन फिन्च बंगलादेशी बलरका लागि सबैभन्दा ठूलो चुनौति बन्ने सम्भावना बलियो छ। उनले श्रीलंकाविरूद्ध १ सय ५३ रन बनाएका थिए।

यस्तै, बंगलादेश आफ्नो स्टार अलराउन्डर शाकिब अल हसनमा निर्भर रहनेछ। विश्वको नम्बर एक अलराउन्डर शाकिबले ४ खेलमा १ सय २८ को औसतले ३ सय ८४ रन बनाएका छन्। उनले वेष्ट इन्डिजविरूद्ध प्रतिकूल अवस्थामा बनाएको अविजित सतकको अहिले पनि तारिफ भइरहेको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!