प्रधानमन्त्रीज्यू, त्रिविलाई 'नाक-कान-घाँटी रोग' लागेको हो ?

प्रधानमन्त्री ओलीले 'ईएनटी क्लिनिक' नै बनाइदिए- त्रिभुवन विश्वविद्यालयलाई !

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएको समाचारले नेपाल अझैपनि 'टाउको दुखेको दबाइ नाइटाेमा लगाई' अवस्थामै रहेको प्रमाणित भएको छ । 

यो निर्णयमा पुग्नका लागि थप अध्ययन अनुसन्धान नै चाँहिदैन, नवनियुक्त उपकुलपतिको डा. बाँस्कोटाको योग्यता हेरे पुग्छ । उनको योग्यता यस्तो छ, 

शैक्षिक योग्यता : नाक, कान, घाँटी रोग विशेषज्ञ 

भौगोलिक योग्यता : झापा 

राजनीतिक योग्यता : नेकपा 

निकटतम् योग्यता : प्रधानमन्त्री ओली निकट 

विशेष योग्यता : राष्ट्रपति भण्डारीको निजी चिकित्सक 

उनका वस्तुगत योग्यता यिनै हुन् । यो पृष्ठभूमि र योग्यताको मान्छे कहाँ नियुक्त हुनुपर्ने हो ? शैक्षिकदेखि बाहेकका योग्यताले उनी कहीँ न कहीँ राजनीतिक नियुक्ति पाउँन अयोग्य पात्र हैनन् । ओली प्रधानमन्त्री भएको बेला नेकपा निकट त्यसमा पनि ओली निकट झापाली अनि ओलीले नै बनाएकी राष्ट्रपति भण्डारीका निजी चिकित्सक भएपछि योभन्दा ठूलो योग्यता आजको नेपालमा राजनीतिक नियुक्ति पाउँन अरू हुने कुरै भएन । 

तर, उनको शैक्षिक योग्यताले भने उनी जुन ठाउँमा र जुन अवस्थामा नियुक्त भएका छन्, त्यो एक किसिमको जग हसाइँ मात्र हैन, आफैं मूर्ख हुने कुकृत्य पनि हो । अनि,  सत्तामा पुगेपछि जे गरे पनि हुन्छ भन्ने यो एक किसिमको चरम तानाशाही पनि हो । जनतालाई हेप्ने र विवेकलाई ताल्चा लगाउने किसिमको अत्याचार पनि हो ।

अहिले त्रिभुवन विश्वविद्यालय क्रोनिक समस्यामा छ । यसलाई सामान्य किसिमको व्यवस्थापकीय क्षमताले केही गर्न सकिने अवस्था छैन । अहिले यसलाई व्यवस्थापकीय कोणबाट सर्जरी नै गर्नुपरेको छ । त्यसका लागि त्यही विशेषज्ञता भएको उपकुलपतिको आवश्यकता छ । तर, प्रधानमन्त्री ओलीले त्रिविविलाई 'नाक, कान, घाँटी रोग' लागेको ठानेर एक 'नाक, कान, घाँटी रोग' विशेषज्ञ चिकित्सकलाई अरू 'योग्यता' को आधारमा नियुक्त गरिदिए । 

यसले केही गम्भीर प्रश्न उठाउँछ- 
एक, प्रधानमन्त्री ओली स्वस्थ दिमाखले त सोचिरहेका छन् ? 
दुई, आफू फिट नै नहुने ठाउँमा नियुक्ति पाउँदा पनि तयार हुने डा. बाँस्कोटा मानसिक रूपले स्वस्थ छन् ? 
तीन, यस्तो 'अत्याचार' नियुक्ति गर्दा पनि सही थाप्ने शिक्षामन्त्री स्वस्थ दिमाखले त सोचिरहेका छन् ? 
चार, यस्तो गलत निर्णयको पक्षमा उभिने नेकपाको पार्टी नेतृत्वको दिमाखी हालत सही छ ? 

यी बाहेक अरू पनि अनगिन्ति प्रश्न छन् जसको उत्तर मौजुदा अवस्थामा नेपालमा सम्भव देखिदैन । किनकि, नेकपा एमाले र माओवादी केन्द्रको मिलन प्रकारान्तरमा नेपालमा ओली शासन ल्याउन थियो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग हुदैगएको छ । दुई तिहाइको बहुमतलाई पनि यो कोणबाहेक भिन्न किसिमले हेर्न सकिने अवस्था छैन । 

प्रकाशित मिति: : 2019-11-04 03:51:52

प्रतिकृया दिनुहोस्