गजल – १
योग्य सधैँ पाखा पर्छ रित यस्तै छ
कोपिलामै फूल झर्छ रित यस्तै छ ।
जो होचो उसकै मुखमा घोचो भनेझैँ
गरिबकैमा चट्याङ झर्छ रित यस्तै छ ।
हो भाइ यो दुनियाँ सब पैसाको नै हो
मन्दिर स्वयं व्यापार गर्छ रित यस्तै छ ।
सँगै यात्रा गर्छु भनी मुटु जोड्नेले नै
जङ्घार तर्दा एक्लै तर्छ रित यस्तै छ ।
जसले संसार छाड्दा सिंगो देशै रुनुपथ्र्यो
उही मान्छे गुमनाम मर्छ रित यस्तै छ ।
गजल –२
पवित्र यो देशको माटो शिरमा लगाएर
समृद्धिको दियो बाल्छु निशा भगाएर ।
मरिचजस्तै चाउरिएर बाँच्न तयार छु
तिम्रा लागि स्वर्गदेखि खुसी मगाएर ।
इन्द्रेणीको रङ्ग भरी जोडौँ मेचीकाली
युवा ढुकढुकीमा देशको प्रेम जगाएर ।
उकालीको भरियालाई देख्दा यस्तो लाग्छ
कहिले सक्ला पसिनाले दुःख बगाएर ।
अरू पेशा छोडी मान्छे राजनीतिमा लागोस्
सफल बनी बाँच्न सक्छ इमान डगाएर ।
गजल – ३
निस्पट्ट यी अन्धकार रातहरू छन्
मन मुटुमा पीडाका खातहरू छन् ।
सोच्छु एकातिर यात्रा अन्तै मोडिन्छ
बाटोका हर घुम्तीमा घातहरू छन् ।
आऊ बस एकैछिन शीतल छहारीमा
सुनाउनै पर्ने बाँकी बातहरू छन् ।
फूल पनि सक्दैन एक्लै सुन्दर बन्न
फूलछेउ हेर काँडा र पातहरू छन् ।
यात्राभरि नआत्तिनु आँधी आए पनि
सम्हाल्नलाई ‘वसन्त’का हातहरु छन् ।
गजल –४
दशैँ जस्तै दशैँ पनि आउँन छोडेको छ
मनमा छुट्टै उमङ्ग छाउन छोडेको छ ।
उदास छन चिचिला खुशी हराइगो
जिब्रोले मिठो स्वाद पाउन छोडेको छ ।
अलिकति अष्टमी पैँचो पाऊँ मुखिया बा
मेरो झुपडीमा ईश्वर धाउन छोडेको छ ।
शून्य भयो सारा संसार सुके धूनहरू
सारङ्गीले भोकको गीत गाउन छोडेको छ ।
खोसेपछि नियतिले मनको खुसीयाली
निधारले रङ्गीन टीका लाउन छोडेको छ ।