किन जान्छन् डान्सबार र मसाजमा पुरूषहरू?

सडकमा यौनकर्मी बन्दाको अनुभव प्रकाशित भएपछि मोबाइलमा कल गर्नेको ओइरो नै लाग्यो ।

माथिल्लो तहका नेता र उनका पिएदेखि राजनीतिकर्मी, समाजसेवी ,पत्रकार सबैले एउटै स्वरमा भने- 'हैन स्थिति त विकराल रैछ है ।'

कतिले मलाई नै व्यङ्ग गर्दै भने, 'होइन तपाईँले यौनकर्मी बन्दाको अनुभव भनेर लेख्दा त एकपटक झसङ्गै भएँ ।'

आखिर समाज यही त हो जहाँ महिलालाई कुनै न कुनै रूपबाट ह्यारेस् गर्न खोजिन्छ ।

यौंनको नाममा महिलालाई मात्र नङ्गयाउने नेपाली समाजमा यौनकार्यको लागि घरमा श्रीमती हुँदाहुँदै सडकपेटीमा कलिला नानी खोज्दै हिड्ने पुरूषको वास्तकिता पस्किएपछि समाचारमा नआएका, तर सडकछेउ यौनकार्यको लागि युवती चाहर्न हिड्ने पुरूषको मनमा चस्का पस्यो ।

त्यसको तथ्य बाहिर निकाल्न अलि गाह्रो छ । तर, भोलिका दिनमा यसरी सडकपेटीमा कलिला नानी खोज्दै हिड्नेलाई राज्यले पनि कारबाहीको दायरामा ल्याउन सकोस् भन्ने मेरो उद्धेश्य थियो ।

यसबाट सम्बन्धित व्यक्तिहरू केही हदसम्म सचेत हुनेछन् भन्ने आशा राखेकी छु ।

त्यसपछि महिला तथा युवतीको आन्तरिक बेचविखनको थलोको रुपमा विकास हुँदै गईरहेको मनोरन्जन क्षेत्रका विषयमा अनुसन्धान गर्ने निधो गरेँ ।

'के यी र यस्ता ठाउँमा जाने पुरूष सोहार्दपूर्ण वातावरणमा मनोरञ्जन गर्न त्यहाँ जान्छन् त?', यो प्रश्नले मलाई बारम्बार घोचिरह्यो ।

राजधानीका क्याविन डान्सबार तथा मसाज केन्द्रमा जाने पुरूष कुन उद्देश्य लिएर त्यहाँ जान्छन् भन्ने विषयमा लामो समयको अनुसन्धान गरेँ ।
लगभग तीन महिनाको अनुसन्धानपछि केही पुरूषलाई नाम उल्लेख नगर्ने सर्तमा आफ्नो सही कुरा भन्न मैले कन्भिन्स गर्न सकेँ ।

दृश्य नं १

न्यूरोडको पिपलबोटमा कपडा पसल राखेका ३० वर्षे युवा समय समयमा ठमेलको डान्सबारमा जाने गर्छन् ।

डान्सबार जानुको कारणबारे मैले सोधेपछि उनको जवाफ थियो- त्यहाँ जाने त रमाइलो गर्न त हो नि।

मैले फेरि सोधे, 'कस्तो रमाइलो ?'

हास्दै उनले जवाफ फर्काए, 'हेर्नुस् त्यहाँ अरू रमाईलो त के हुनु र रक्सी र चुरोटको गन्धले बसिसक्नु हुन्न । कुहिरीमण्डल धुवाले सास फेर्नसमेत गाह्रो हुन्छ । त्यस्तोमा रमाइलो भनेको उही ठिटीहरूसँग जिस्कने, चल्ने त हो नि ।'

'जिस्कने मात्रै हो त?', मैले फेरि सोधेँ ।

'हेर्नु साथीहरूले चै फोन नम्बर मागेर बाहिर होटलतिर पनि लान्छन् । तर, मैले अहिलेसम्म लगेको छैन,' उनले जवाफ फर्काए।

'उसो भए कस्तो रमाइलो हुन्छ त त्यहाँ ?', मेरो जिज्ञासा अझै सकिएको थिएन ।

'हेर्नुस् तपाईँलाई के भन्नु, डान्सबारतिर यसो ससाना भर्खर बढ्दै गरका ठिटीहरूलाई चलाउन जिस्काउन पाउँदा मजा लाग्छ', उनले सहजै जवाफ दिए, 'अध्याँरो हुन्छ, जीउतिर जता हात लगे पनि भइहाल्यो, त्यसमै मजा लिन्छु । त्योभन्दा बढी त घरमै छ नि ।

'अनि मसाजमा जानुहुन्न', फेरि सोधेँ ।

'उहिले उमेरमा गईयो एकपटक', उनले विगत सम्झिए ।

'मसाज नै गर्नु भयो त?', प्रश्न गरेँ।

'अहिले बरू मसाज सेन्टरमा मसाज मात्रै हुने ठाँउ धेरै छन् । ६/७ वर्ष पहिला साथीसँग कस्तो हुदो रै'छ भनेर गा'को, त्यहाँ त जे सुन्याथेँ त्यही नै पाईयो', उनले अलि अनकनाउँदै भने,'सानै उमेर भएर होला हिम्मत नै आएन, फर्किए म त।'

दृश्य २

नुवाकोट घर भएका रमेश (परिवर्तित नाम) काठमाडौंमा घरजग्गाको कारोबार गर्छन् ।

'तपाईँलाई त हरेक शुक्रबार ठमेलतिरै भेटिन्छ नि?' लामो हाँसो हाँस्दै उनले सहजै जवाफ दिए, 'हप्ताभरी कामको थकान मेट्नु परेन त?

'डान्सबामा आएर थकान मेटिन्छ ?,' मैले प्रश्नमाथि प्रश्न गरेँ ।

'मेटिन्छ नि मन परेको गीत सुन्न पाइन्छ । त्यो पनि साइडमा छानी छानी केटी राखेर', उनले भने।

'घरमा श्रीमतीलाई भनेर आउनुहुन्छ ?,' यो प्रश्नमा उनी अलि झस्कदै भने, 'हैट! मारिहाल्छे नि।'

'डान्सबारमा डान्स हेर्ने, दोहोरीमा गीत सुन्न मात्र गए त कसले मार्छ र?', मैले जिज्ञासा राखेँ ।

'त्यति मात्र गर्न त यूट्यूव छँदैछ नि, त्यहाँ त यसो कलिली केटी छानेर एक हातमा वियरको चुस्की अनि अर्को हातमा केटी, आहा! त्यो मजा वेग्लै हुन्छ नि हजुर,' उनले भने ।

'डान्सबारमा गएर त्यहाँ काम गर्नेलाई जिस्काउँने चलाउने गर्नु दुव्यवहार होइन र?,' प्रश्न गरे ।

'त्यहाँ गएर जबरजस्ती गर्ने हो र ? उनीहरू मस्किँदै के ल्याउँ भन्दै आउँछन् । अनि ढेस्सिएर बस्छन् । त्यस्तालाई अलिअलि चलाउने/ जिस्काउने गर्दा के फरक पर्छ र?', उनले वास्तविकता बताए ।

'बाहिर पनि लैजानु हुन्छ कि?,' अर्को प्रश्न गरेँ।

'यसो कहिलेकाहीँ लान्छु । मान्छे हेरेर हुन्छ । कहिलेकाही आफूलाई मनपर्ने जान मान्दैनन्', उनले सहजै जवाफ दिए ।

यसरी क्याबिन डान्सबार तथा मसाज सेन्टर जाने लगभग ५० जनासँग कुरा गरेका थिएँ ।

तीमध्ये अधिकांशले कलेज पढ्ने समयमा साथीसरुँग कस्तो हुन्छ जाऔं न भनेर गएको बताए ।

यसरी मनोरन्जन क्षेत्रमा जाने पुरूषले गीत/संगीत र नाचको रमाइलो लिनेभन्दा त्यहाँ काम गर्ने बालिका तथा किशोरीलाई यौन दुर्व्यवहार गर्न जाने गरेको पाइएको छ।

बालबालिकासम्वन्धी ऐन २०७५ को दफा ६६ ले बालकालिकालाई मनोरन्जन क्षेत्रमा प्रवेश र प्रयोगमा रोक लगाएको छ ।

तर, राजधानीभित्रै अधिकांश मनोरञ्जनका क्षेत्रमा १३-१४ वर्षका बालिकालाई उमेर बढी भन्न लगाएर राख्ने गरेको पाईन्छ ।

यौन दुर्व्यवहारसम्वन्धी ऐनले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई मञ्जुरी बिना करणीका आशयले समातेमा, निजको संवेदनशील अंगमा छोएमा, छुन प्रयास गरेमा, अस्वभाविक रूपमा कुनै एकान्त कोठामा लगेमा, यौनसम्बन्धी आफ्नो अंग छुन वा समाउन लगाएमा, यौन आशयले जिस्काएमा या हैरानी गरेमा निजलाई ३ वर्ष कैद र ३० हजार रूपैयासम्म सजायको व्यवस्था गरेको छ।

यति हुँदाहुँदै पनि राजधानीभित्र रहेका मनोरञ्जन क्षेत्रमा काम गर्ने बालिका तथा किशोरीमाथि यौन दुर्व्यवहार गर्नकै लागि पुरूषहरू गइरहेका हुन्छन् । यस्तो वास्तविकता थाहा भएर पनि सो क्षेत्रलाई नियमन र नियन्त्रण गर्न सरकारले अझै कुनै चासो दिएको छैन ।

यसरी राजधानीभित्रका मनोरञ्जन क्षेत्र खुलेआम आन्तरिक यौन बेचविखनको थलोको रूपमा विकास भइरहेको छ।

प्रकाशित मिति: : 2019-09-12 14:17:14

प्रतिकृया दिनुहोस्