धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका तीन स्थानीय नेता रहेको धनुषा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा दुई महिला र १ पुरूष गरी ३ जना रहेका छन्।
गएराति कुसाई टोलस्थित एक औषधि व्यवसायी राजेश्वर शाहको घरमा भएको बम विस्फोट भएको हो। घटनामा घरधनी राजेश्वर र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै कोखामा छर्रा लागेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन्।
राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो। त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विस्फोट भएको थियो।
घटनामा घरधनी राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऎरले जानकारी दिए।