‘बाटो क्रस गराइदिने बहानामा फाइदा उठाउन खोज्छन्’

तस्बिरः बिएल नेपाली सेवा

महिला हिंसाविरुद्धको १६ दिने अभियान विशेष:

सावित्री पौडेल जन्मजात दृष्टिविहीन हुन्। उनले २०७३ साललाई बिर्सिन सकेकी छैनन्। साउनको महिना थियो। अनामनगर एनआरडिएसबाट कम्प्युटर क्लास लिएर सेतो छडीको साहारामा काँडाघारीको माइक्रो चढ्न अनामनगर चोक क्रस गर्दै थिइन्। प्राय उनी एक्लै बाटो क्रस गर्छिन्।

बाटो क्रस गर्दै गर्दा एक अपरिचित मान्छे उनको सामु टक्क उभियो र भन्यो, 'म बाटो क्रस गराइदिन्छु,' तर, उनले मानिनन्। किनभने उनलाई एक्लै बाटो क्रस गर्ने बानी परिसकेको थियो।

उक्त अपरिचित व्यक्तिले निकै कर गरेपछि उनले मानिन्। त्यो मान्छेले 'धेरै गर्मी छ दही खाएर जाउन' भन्यो। धेरै कर गर्‍यो। तर, उनी तयार भइनन्। उसले अत्ति नै अनुरोध गरिसकेपछि मान्छे राम्रै होला भनेर डराइडराई अनामनगर नजिकको पसलमा जान बाद्य भइन्।

उनी दही खाँदै गर्दा सो अपरिचित मान्छेले अपाङ्गताको फाइदा उठाउन खोज्यो। आफ्नो हात उनको गालामा लैजान थाल्यो।

उनलाई त्यो क्रियाकलाप मन परेको थिएन। तर, उनी विवस थिइन्। आँखा नदेख्ने भएकाले भाग्न सकिनन्। उनले प्रतिकार गर्न सकिनन्। आफूले असुरक्षित महसुस गरिसकेपछि उनी केही नबोली त्यो पसलबाट उठिन् र काँडघारीको माइक्रो तर्फ लागिन्।

काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स क्याम्पसमा बिए तेस्रो वर्षमा मेजर अंग्रेजी र सोसलवर्क लिएर अध्ययन गरिरिहेकी सावित्री बाबा, ममी र दाइसँगै काँडाघारीमा बस्छिन्। उनको पुर्ख्यौली घर सिन्धुपाल्चोक फलेसी गाउँपालिकामा हो।

ब्लाइण्ड युथ एसोसियसन नेपाल काठमाडौं, भ्यालि च्याप्टर बोर्ड मेम्बर, युथ एक्सन नेपाल इन्टर्न र ब्लाइण्ड रक्स क्लबको कोअर्डिनेटरसमेत रहेकी उनी दृष्टिविहीन महिलाहरुले आत्म रक्षाका लागि तालिम लिनुपर्ने बताउँछिन्।

कीर्तिपुरको ल्याब स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी उनले २०७१ सालमा एसएलसीमा विशिष्ट श्रेणीमा पास भएकी थिइन्। त्यति धेरै अंक ल्याउँदा पनि दृष्टिविहीन भएकै कारण कुनै क्याम्पसले भर्ना लिन नमानेको उनले बिएल नेपालीसँग दुखेसो पोखिन्।

त्यसबेला क्याम्पसका सरहरूले गरेका बाहानाबजी उनले शब्दमा उतारिन्, 'जुनै क्याम्पसमा जाँदा पनि कक्षा कोठा चार तल्ला माथि छ भनेर क्याम्पसका सरहरुले भन्नुहुन्थ्यो। तिमीलाई गाह्रो हुन्छ भन्नुहुन्थ्यो,'  पौडेलले अगाडि  थपिन्, 'सेन्ट जेभियर्स कलेजको सरलाई निकै अनुरोध गरेँ। अनि सरले भर्ना लिनुभयो। पढ्न सहज भयो।'

उनी दृष्टिविहीनको हतियार नै आवाज भएकाले महिलाहरू बाटोमा यात्रा गर्दा कसैले यौन दुर्व्यवहार गर्दा बोल्नुपर्ने ठान्छिन्। उनले भनिन्, 'बाटो क्रस गराइदिने बहानामा केहि मानिसहरुले हामीबाट फाइदा उठाउने गर्छन्। त्यसैले निडर हुनुपर्छ। बोल्नुपर्छ। प्रतिकार गर्नुपर्छ।'

यौन दुर्व्यवहारको समस्या धेरै दृष्टिविहीन महिलाले भोग्नुपरेको छ। यसमध्ये अर्की हुन् दृष्टिविहीन सुस्मिता राई। उनी पेसाले गायीका हुन्।

२०७३ सालमा सांस्कृतिक कार्यक्रम सकेर ललितपुरको नखिपोटबाट अनामनगर रूम फर्किदै थिइन्। त्यसेबला माइक्रोको चालकले गरेको दुर्व्यवहार उनले बिर्सन सकेकी छैनन्। उनी भन्छिन्, 'मैले त गाडी चालकलाई नै झापड हानेँ। तर, पनि ऊ मेरो पछि लाग्न छोडेन।'

त्यसले उनको शरीरको विभिन्न अङ्गहरुमा छुने गरेको रहेछ। त्यसबेला सुनिता गाडीमा एक्लै थिइन्। हातमा सेतो छडी पनि थिएन।

यसरी दृष्टविहीन महिलाहरु विभिन्न दुर्व्यवहार सहन बाद्य छन्। यस्तै बाध्यतामा परेकी अर्की पात्र हो, मेरी आफ्नै बहिनी।

ऊ मणिग्रामको शान्ति नमुना उच्च माविमा कक्षा ११ मा पढ्दै छ। ऊ पनि म जस्तै पूर्ण दृष्टिविहीन हो।

२०७४ सालमा स्कुलबाट घर फर्किने क्रममा उसलाई बाटो काट्नु थियो। लुम्बिनीको गाडी चढ्नु थियो। एक्लै बाटो काट्न सक्दिनथि। भैरहवामा एक जना रिक्सा चालकले भन्यो, 'नानु रिक्सामा बस म बाटो कटाइदिउँला। त्यसपछि ऊ रिक्सामा बसी।

उसले बाटो नकटाइदिएर जङ्गलको बाटो लैजादै थियो। केही दूरि पार गरेपछि उसले थाहा पाइन्, ‘यो मान्छेले मलाई अन्यत्र कतै लैजादैछ।'

रिक्सा चालकलाई उसले भनि, 'दाइ मलाई कता लैजादै हुनुहुन्छ।' रिक्सा चालकले भन्यो, 'थोरै टाढा छ। अहिले एकछिन पछि लुम्बिनीको गाडीमा पुर्‍याइदिन्छु।' बाटो सुनसान भएकाले ऊ डराउन थाली। एक जना महिला आरहेको आवाज सुनि र भनि, 'दिदि मलाई बचाउनुस् यसले मलाई लुम्बिनीको गाडी चढाइदिन्छु भनेर कुन्नि कता लैजान खोज्दैछ। म यहिँ ओर्लिन्छु भन्दा पनि मान्दैन।'

अपरिचित दिदीले रिक्सावालालाई एक झापड हानेर मेरो बहिनीलाई बचाइन्।

त्यो दिन उसले उक्त घटना सपाठ वर्णन गरेकी थिइ। त्यसबेला ऊ निकै डराएकी थिइ।

यो वर्ष पनि महिला हिंसा विरुद्धको सोह्र दिने अभियान चलिरहेको छ। तर पनि दृष्टिविहीन महिलाहरू सुरक्षित छैनन्। मलाई थाहा छ यो अभियान सकिएपछि हाम्रो अभियान सफल भयो भनेर सरोकारवालाले ठूलो स्वरमा भाषण गर्नेछन्। अन्तिम दिनमा चर्को नारा लगाउनेछन्। तर के यो अभियान सफल भएकै हो त?

माथि प्रस्तुत गरिएका पात्रहरुले भोगेका केही प्रतिनिधि घटना मात्र हुन्। यहाँ हर दिन, हर रात यस्ता थुप्रै घटनाहरु दोहोरिरहेका छन्। कति बोल्छन्। प्रतिकार गर्छन्। तर, जो बोल्दैनन् उनीहरूको स्थिति के होला? एकछिन आँखा चिम्लिएर कल्पना मात्र गर्नुस त!

 

प्रकाशित मिति: : 2019-12-11 12:19:07

प्रतिकृया दिनुहोस्