भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो।
धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए। विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ।
गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन्।(रासस)