नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु (भिडियोसहित)

बिएल

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ।
नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौमा सुरु भएको हो।

सन्धिको संशोधनमा थपिने बुँदाको ड्राफ्टलाई बैठकले अन्तिम रूप दिने गरी बैठक सुरू भएको नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए। यसअघि भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई समेत बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले बताए।

हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुने जनाइएको छ। यस्तै, विशाखापट्टनमबाट जोगबनी– विराटनगर–रक्सौल–वीरगन्ज र सुनवल भैरहवासम्मका ब्लक कार्गाे ढुवानीसम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।

यस्तै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) सम्बन्धमा पारवहन सन्धिमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि बैठकले अन्तिम रूप दिने उनले जानकारी दिए। बैठकमा नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव पनि सहभागी रहेका छन् । त्यस्तै भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लाले गरेका छन्। बैठक बुधबार सम्म चल्नेछ ।

प्रकाशित मिति: : 2019-11-26 14:26:50

प्रतिकृया दिनुहोस्