घुस लिँदै गर्दा कार्यवहाक वडा अध्यक्ष अख्तियारको फन्दामा

बिएल

घुस रकम लिँदै गर्दा मोरङको जहदा गाउँपालिका–१ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साह मंगलबार अख्तियारको फन्दामा परेका छन्।

घुस वापत २१ हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट रंगेहात पक्राउ गरेको हो। सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजनासम्झौता गर्ने क्रममा साहले घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए। उनका अनुसार १० प्रतिशत घुस मागेको खुलेको छ। उक्त योजनाको सम्झौता सोमबार नै गर्नु पर्ने थियो।

एक दिन ढिलो मंगलबार सम्झौंता गर्न आएको भन्दै साहले माग गरेको २० हजारमा एक हजार थप गरेर २१ हजार रुपैयाँ माग गरेको पुष्टि भएको प्रवक्ता ढकालले बताए। साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिने उनको भनाइ छ।

वडा अध्यक्ष प्रदीप यादव हत्या अभियोगमा लामो समयदेखि फरार छन्। विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा प्रदीप मुछिएका छन्। त्यही घटनादेखि वडा अध्यक्ष फरार भएपछि वडा सदस्य साहलाई कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो।

प्रकाशित मिति: : 2019-11-19 14:30:28

प्रतिकृया दिनुहोस्