आसामको वेश्यालयमा छट्पटाइरहेका ४ बालिकासहित सात नेपाली महिलाको उद्धार

Photo Credit :Northeast Now

भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन्।

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो।

नेपालमा स्थापना भएको गैर नाफामुलक संगठन, शक्ति समूहको नेतृत्वमा ती युवतीहरुको उद्धार भएको हो। शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो।

‘उद्दार गरिएका सातजनामध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए,’ शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए।

दिलिपले नर्थइस्ट नाउसँगको कुराकानीमा भने, ‘जुलाई १४ तारिखमा एक किशोरीको उद्धार गरिएपछि यो वेश्यालयमा छट्पटाइरहेका उनीहरुलाई उद्धार गर्न सम्भव भएको हो।’

कोइरालाले थपे, ‘उनीहरुलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ।’

‘यी सबै सातजनामध्ये कतिलाई राम्रो काम दिलाउने प्रलोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको थियो,’ कोइरालाले जानकारी दिए।

गत जुलाइमा एकजना नेपाली किशोरीको सोही ठाउँबाट उद्धार गरिएको थियो। उनकै सूचनाका आधारमा त्यहाँ अरु धेरै नेपाली किशोरी र युवतीलाई यौनकार्यमा लगाइएको पुष्टि भएपछि शक्ति समूहको सात जनाको टोली आसाम पुगेको थियो।

ती युवती र किशोरीलाई बेश्यालयसम्म लैजाने र जबरजस्ती यौन धन्दामा लगाउने लक्ष्मी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी कोठी सञ्चालिका हुन् कि दलालमात्र हुन् भन्ने खुलेको छैन।

उद्धार गरिएकाहरुलाई आजै त्यहाँको स्थानीय अदालतमा उपस्थित गराउने र कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउने पहल भइरहेको शक्ति समूहले जनाएको छ । कानुनी सल्लाहकार कोइरालाले दिल्लीस्थित दूतावासलाई जानकारी दिएर उद्धार गरिएको बताएका छन्।

सन् १९९६ मा मुम्बईस्थित थुप्रै वेश्यालयबाट उद्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेको उनले बताए। सिल्चारमा मात्रै नभई भारतका विभिन्न स्थानमा यस्ता अभियान बारम्बार गरिँदै आएको पनि उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2019-11-19 11:08:39

प्रतिकृया दिनुहोस्