पाँचथरको हिलिहाङ गाउँपालिका वडा ७ की नाम परिवर्तन पारू तामाङ अहिले २२ वर्ष पुगिन्। उनले १५ वर्षको उमेरमा सोही ठाउँका सुजित तामाङसँग विवाह गरिन्। तर, विवाह गरेको ७ वर्षपछि उनीहिरुको सम्बन्ध विच्छेद भयो।
१२ वर्ष अघिदेखि वैदेशिक रोजगारीमा जाँदै आउँदै गरेका सुजितले आफूसँग धन दौलतको मोह देखाएर कक्षा १० मा पढ्दै गरेकी पारूलाई भगाएर आफ्नो घरमा लगे। सानै उमेरमा विवाह गरेपछि उता पारूका बुबाआमाले छुटाउन पनि खोजे। तर, सकेनन्।
पारूको बुबाआमाले पनि छोरीको खुसी सम्झेर नौमति बाजा बजाएर विवाह गरिदिए।
सुजितभन्दा उमेरमा १२ वर्ष कान्छी पारूलाई विवाह गरेर सुजित फेरि पनि वैदेशिक रोजगारीमै गए। व्यवहारिक रूपमा परिपक्व भइनसकेकी पारू आफ्नो श्रीमान बैदेशिक रोजगारीमा गएपछि सासुससुराको खटनमा परिन्।
विद्यालय जाँदै गरेकी अनि आमा बुबाको काखमा सुःख सयलमा हुर्किएकी पारू समयमा घरको काम नगर्दा सासुको गाली खान थालिन्।
आफ्नो दुःखेसो श्रीमानलाई सात समुन्द्र पारी फोन कलबाट सुनाइन्। तर, उल्टै मुखमुखै नलागी बस्नू भन्दिए।
त्यसपछि सासुससुराको खटन सहन नसकेपछि पारू माइत गएर बसिन्। माइतमा आमाबुबासँग बस्न थालिन्। पारूले घर छोडेर माइत गएको खबर सुनेर सुजित बैदेशिक रोजगारीबाट फर्किएर आए।
श्रीमतीले आफ्नो घर छोडेर जानुको कारण खोजेनन् सुजितले आफू झगडा गर्ने र आफूले श्रीमतीलाई दिएको गरगहना खोस्न मात्र ससुराली गए।
उनीहरु बिच विवाद भयो। अन्त्यमा एकापसमा सम्बन्ध विच्छेद गर्ने निर्णय भयो। दुबैको मन्जुरीमा अदालतमा गएर सम्बन्ध बिच्छेद गरे। यसरी सानै उमेरमा विवाह गर्ने र श्रीमान श्रीमती एकैसाथ बस्न नपाएपछि एकआपसमा मनमुटाब हुने अनि सम्बन्ध विच्छेद गर्ने पारूजस्ता प्रतिनिधिपात्रहरू धेरै छन्।
‘विदेश नगए आर्थिक चाप हुने, विदेश गए श्रीमती टाप हुने’ हाम्रो देशको नियतीले समाजमा पारिवारिक क्षय त हुने नै भयो समाजलाई नै पनि प्रभाव पार्न थालेको छ।
पारिवारिक जीवन व्यवस्थित बनाउनु एक अर्काको साथ आवश्यक छ। अन्ततःविवाह गरेर श्रीमान् र श्रीमतिको रुपमा सामाजिकसँगै कानुनी तवरले वैद्यता प्राप्त गरिन्छ। यसैबिच आफन्तजनबाट प्राप्त हुने आशिर्वाद भनेकै ‘परेवाको जोडी जस्तै हुनू, सँगै साथ रहनू, सुखसाथ जीवन विताउनू’ भन्ने हुन्छ। तर, यस्तै आशिर्वाद पाएका जोडीको सम्बन्ध टुट्ने क्रम पाँचथरमा डरलाग्दो देखिएको छ।
जिल्ला अदालत पाँचथरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र अदालतको कार्य सम्पादनमा २०२ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। त्यसमध्ये एकाध भने आर्थिक वर्ष २०७४/०७५ का फैसला हुन बाँकी मुद्दा हुन्।
यो तथ्याङ्कले पूर्वी पहाडी जिल्ला पाँचथरमा पारिवारिक विखण्डन डरलाग्दो बन्न पुगेको छ। क्षणिक दाम्पत्य जीवन बिताएर आपसी असमझदारीपछि सम्बन्धलाई टुटाउन चाहनेको भीड देखिएको प्रष्ट हुन्छ।
ती २०२ मुद्दामध्ये ८९ मुद्दामा मिलापत्र भएको जिल्ला अदालत पाँचथरका सूचना अधिकारी राजकुमार निरौलाले बताए।
अदालतमा रहेका मेलमिलापकर्ताको सहजीकरणमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका श्रीमान् र श्रीमतिबीच पुनः समझदारी कायम गराइ मिलापत्र गराइएको उनले बताए।
देवानी प्रकृतिका मुद्दामा मिलापत्र गर्न र गराउन पाइन्छ भन्ने नियममा उल्लेख छ। मिलापत्र नभएका मुद्दालाई अदालती प्रक्रियामा लाने गरिन्छ। मिलापत्र नभएका ११३ वटा मुद्दा अदालती प्रक्रियामा पठाएको सूचना अधिकारी निरौलाले बताए।
वि.स. २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता (२०७४) मा उल्लेखित सम्बन्ध विच्छेद सम्बन्धि व्यवस्थाअनुसार ‘कानुनबमोजिम अंश लिई वा छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खानलगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च रचेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा’ पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ।
यससँगै पत्नीले पनि ‘कानुन बमोजिम अंश लिई वा छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढि समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च रचेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जवरजस्ती करणी गरेको ठहरेमा’ सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था छ ।
समाजशास्त्रका अध्ययेता युधिष्ठिर राज आम्गाई सम्बन्ध विच्छेदका घटनाहरु दिनप्रतिदिन बढ्दै जानुको कारण विश्वव्यापीकरणको प्रक्रियाको कारण परम्परागत मूल्य र मान्यताबाट परिवार सञ्चालन नहुनू, व्यक्तिमा अधिकार थपिनू, महिला सशक्तिकरण हुनू र कानुनी सचेतना पनि हुँदै जानू भन्छन्।
यससँगै सामाजिक सञ्जाल, वैदेशिक रोजगार, कम उमेरमा विवाह र मानिसको बढ्दो गतिशिलतालाई पनि मूल कारण रहेको आम्गाई भन्छन् ।
सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउनेमा महिला अधिक छन्। पुरूष अलिक कम छन् । अदालतले जनाए अनुसार २०२ मुद्दामा ६५ वटा पुरूषले र बाँकी १३७ वटा मुद्दा महिलाले लगाएका छन्।
यो तथ्याङ्कलाई आधार मान्दा पुरुषभन्दा महिला बढि पीडित भएकोले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएकामा पनि महिला नै बढि देखिएका हुन् भन्ने प्रष्ट छ।
यसरी अदालतमा परेका सम्बन्ध विच्छेद मुद्दालाई किनारा लगाउँदा माना चामलदेखि अंशवण्ड गराउनेसम्मका देखिन्छ। केही मुद्दा भने श्रीमान् र श्रीमतिबीच आर्थिक लेनदेन गरेर पनि टुङ्गिने गरेको छ।
श्रीमान श्रीमतीबिचको सम्बन्ध विच्छेदले उनीहरूबाट जन्मिएका सन्तानमा प्रभाव पर्न थालेको छ। सम्बन्ध विच्छेदपछि बालबालिकामा मनोबैज्ञानिक असर देखिने गरको वालअधिकारकर्मी सरस्वती शिवाकोटी बताउँछिन्।
बालबालिकामा रिसाउने, झगडा गर्ने, हिंसालु प्रवृत्ति देखाउने, कुलतमा फस्ने, एक्लो बस्न रूचाउने, नराम्रो संगतमा लाग्ने, घर छाड्ने र निराश हुनेजस्ता असर देखिने गरेको उनी बताउँछिन्।
बुबा र आमाबाट पाउने मायाँ, स्नेह र हेर विचारमा सम्बन्ध विच्छेदले कमी हुँदा यस्तो असर देखिने उनको भनाई छ।