तराईबासीले वर्ष भरि कुनै न कुनै व्रत, उपवास, पर्व मानेर धर्मप्रति आफ्नो दृढ विश्वास प्रकट गर्ने गरेका छन्। यसमा पनि आश्विन महिनाको शुक्लपक्ष तथा कार्तिक महिनाभरि नै बिभिन्न त्यौहार मनाइने गरिन्छ। तिहार लगतै छठ पूजाको उत्सव धुमधामका साथ सुरू हुन्छ। वास्तवमा छठ उत्सवको रुपमा मात्र नभइ कठिन ब्रत र उपवासपूर्वक गरिने तपस्याको रूपमा देखा पर्दछ। चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण अराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास छ।
हिन्दु ऋतिका अनेक ब्रत र पर्व मध्ये केहीमा फलाहार गरेर बसिन्छ, केहीमा एक वा दुबै छाक उपवास गर्दा ब्रत सफल हुन्छ भने केही ब्रतमा ब्रतालुले पानीसम्म नखाएर निर्जला उपवास गर्दछन्। नुन नहालिएको खाना (रसियाव–रोटी) खाएर शुरू हुने ‘छठ’ मा बाँकि समय अठचालीस घण्टा अन्न पनि नखाएर उपवास गरी पूरा गर्ने बिधान रहेको छ।
छठ पूजाको विशेषता अस्ताउदो सूर्यलाई समेत अघ्र्यदान दिनु पनि हो। यसमा मानिसले केवल उदाउदो सूर्यलाई पूजा गर्दैनन् बरु अस्ताउदो सूर्यलाई पनि उचित तथा समान पूजा र सम्मान गर्दछन्। छठ पर्व अब तराईका गाउँमा मात्र सिमित रहेन् । तराईका शहर हुँदै पहाडी क्षेत्रका मानिसमा र भित्रि पहाड(भित्री मधेश) सम्म यसको बिस्तार भइरहेकाे देखिन्छ।
कातिक महिनाको शुक्ल चतुर्थी तिथीबाट छठ पूजाको ब्रतारम्भ हुन्छ। पहिलो दिन बिधिपूर्वक नुहाएर खाने चलन छ, जसलाई भोजपुरी भाषामा ‘नहाए–खाएके दिन’ भन्दछन्। यस दिन ब्रतालुले नुहाएर पवित्र भई शुद्ध सात्विक भोजनमा अगहनी चामलको भात, अरहर वा चनाको दाल र लौकाको तरकारी खाने गर्दछन्।
भोजनमा मांशाहार र लसुन र प्याज वर्जित हुन्छ। पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा आँपको दाउरा बालेर अगहनीको चामलमा गुड (चाकू) हालेर ‘रसियाव’ तथा बिशेषरुपले चोखो पारिएको गहुँको पिठोको रोटी पकाइन्छ। ‘रसियाव रोटी’लाई अक्षता, सिन्दूरले पूजा गरि दिउँसोभरि निराहार बसेका ब्रतालु अग्नी तथा गाईलाई अग्रासन (पहिलो अशं) दिएपछि खान्छन्।
यसलाई प्रसादको रुपमा घरपरिवारकाले खाने र जसको घरमा छठपुजा भएको हुदैन त्यसलाई प्रसादस्वरुप बाड्ने पनि गरिन्छ। बिवाहिताले नाकमाथी देखि निधार हुँदै पूरा सिउँदो भरि सिन्दूर लगाएका हुन्छन्। षष्ठीको दिन ब्रतालू पूर्णरुपेण निराहार बसि साँझपख छठी घाट भनिने जलासय वा नदीको किनारमा गइ ‘सिरसोप्ता’ माताको पुजा आजा गरि अस्ताउदाें सूर्यलाई पश्चिमाभिमुख अघ्र्यदान गर्छन्। (मन्त्रः–आदिदेव नमस्तुभ्यं प्रसीद मम् भास्कर । दिवाकर नमस्तुभ्यं प्रभाकर नमोऽस्तु ते) अघ्र्यदान दिइ पुनः सिरसोप्तालाई पुजा गरेर घर फर्किन्छन्।
भाकल गरेका रात्रिमा घरको आँगनमा ‘कोसी भर्ने’ गर्छन्। कोसीमा सात वा नौवटा उखु टुप्पातिर बाट एकै ठाउँमा बाँधेर जरोलाई फैलाएर ‘पिरामिड’ आकार दिइन्छ। यो काम सधवा पुरुषले गर्छन्। उखुको जरामा समान संख्यामा माटाको ‘ढकना’ मा ठेकुवा, अदुवा, केरा, पानीमा भिजाएको मटर, फर्सीको चानो, मुला, निबुआ, अरिपन चढाएर तथा माटाको दियो बालेर राखिन्छ।
यि छठमा चढाइने मुख्य समान हुन्। केन्द्रमा माटाको कलशमा पनि सोही सामान राखिन्छ। उखुको टुप्पा बाँधिएको ठाँउमा पनि तिनै सामग्री बाँधेर ‘चँदोवा’ झुण्ड्याइन्छ। कोसीको वरिपरि बसेर ब्रतालूका साथै घरका अन्य महिला पनि छठीमाताका आराधना गीत गाउने क्रम प्रायः रात्रिको तेश्रो प्रहर सम्म चल्छ। रात्रिको तेश्रो प्रहर मै ब्रतालू पवित्र भई कोसीका साथ फेरि छठीघाट कुर्न जान्छन।
बिहान सिरसोप्ताको पुजा र छठीमाताका गीतपछि सूर्योदय हुनु अगावै सम्पूर्ण ब्रतालू नदी वा पोखरीको पानीमा पूर्वाभिमुख भएर उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन। सूर्योदयको साइतमा अघ्र्यदान दिइ ब्रतालू घर फर्किन्छन्। (अघ्र्यदान मन्त्रः–नमः सावित्रे जगदेकचक्षुषे जगत्प्रसूतिस्थितिनाशहेतवे। त्रयीमयाय त्रिगुणत्मधारिणे विरञ्चिनारायणशड्ढरात्मने) फर्किने क्रममा बाटामा भेटिने आफूभन्दा श्रेष्ठ, मान्यजन, गाई, इनार वा धारालाइ ढोगी, घरमा आइ छोरा बुहारी तथा नाती नातिनीलाई छठीमाताको प्रसादस्वरुप टीका लगाइ छठपूजाको उद्यापन भएर समाप्त हुन्छ।
‘छठ’ विशुद्धरुपमा ‘प्रकृती र पुरुष’को पूजा हो। सन्तान उत्पादनको लागि दैवी कृपाको अपेक्षा यस ब्रतले गर्दछ। झट्ट हेर्दा यो सूर्यको पूजा झैं देखिए पनि पुराणअनुसार यो मूलप्रकृतिको छैठौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो। श्रीमद्देवीभागवतको नवम् स्कन्ध, छयालिसौं अध्याय चौथो श्लोकको अनुसार श्रीनारायण भन्नु हुन्छ– षष्ठांशा प्रकृतेर्या च सा च षष्ठी प्रकीर्तिता । बालकानामधिष्ठात्री विष्णुमाया च बालदा ।।
अर्थात् मूल प्रकृतिको छैठौ अंशले जुन देवी आविर्भूत छिन्, उनी भगवती षष्ठी हुन्। यिनीलाई पुराणमा माया, सिद्धयोगिनी, स्वयंमुक्त, मुक्तिदायिनी, सारा, शारदा र षष्ठी देवीको रुपमा उल्लेख गरिएको पाइन्छ। शक्तेः षष्ठांशरुपायै सिद्धाए च नमो नमः। मायायै सिद्धयोगिन्यै षष्ठीदेव्यै नमो नमः ( ब्रह्मवैवर्त महापुराण, प्रकृति खण्ड, षष्ठी स्तोत्रं) । सोहि पुराणमा उल्लेख भए अनुसार उनी शिव पार्वतीका पुत्र कार्तिकेय वा स्कन्दकी धर्म पत्नी हुन्।
भनिएको छ –प्रत्यक्षायै च भक्तानां षष्ठी देव्यै नमो नमः। पूज्यायै स्कन्दकान्तायै सर्वेषां सर्व कर्मसु। अर्थात आफ्ना भक्तहरुलाई प्रत्यक्ष दर्शन दिने तथा सबैबाट सम्पूर्ण कार्यमा पूजा प्राप्त गर्ने अधिकारिणी, स्वामी कार्तिकेयकी प्राणप्रिया षष्ठी देवीलाई बारम्बार नमस्कार छ। षष्ठी माताको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट हुनुको साथै निःसन्तानले संतान प्रसव गर्ने योग्यता प्राप्त गर्न कृपा पाउछन्। पौराणिक मान्यता अनुसार माता षष्ठी देवीको कृपाबाट गुणी, विद्वान, यशस्वी, दीर्घायु तथा श्रेष्ठ पुत्रकी जननी बन्न सम्भव हुन्छ।
सर्व पापाद्विनिर्मुक्ता महावन्ध्या प्रसूयते। वीरपुत्रं च गुणिनं विद्यावन्तं यशस्विनम् । सुचिरायुष्मन्तमेव षष्ठीमातृप्रसादतः । छठीमाताको व्रत बारे श्रीमद्देवीभागवतको नवम स्कन्धको छयालिसौ अध्यायमा एउटा रोचक कथा बर्णित छ ।
स्वाम्भुव मनुको प्रियव्रत नाम गरेका छोरा थिए। योगिराज प्रियव्रत विवाह गर्न चाहदैनथे। उनी सदैव तपस्यामा लिन रहन्थे तर ब्रह्माजीको आज्ञा तथा करले उनले विवाह गर्नु पर्यो। विवाह गरेको निकै समय बितिसक्दा पनि उनलाई सन्तान भएन। यो देखेर महर्षि कश्यपले पुत्रेष्टियज्ञ गराएर यज्ञको प्रसाद उनकी पत्नी मालिनीलाई खान दिए। त्यसको प्रभावले मालिनी गर्भवती हुन पुगिन्। मालिनीले बाह्र वर्षसम्म गर्भधारण गरिरहिन। तत्पश्चात उनले स्वर्ण सदृश्य कान्ति भएका, शरीरको सबै अवयवले सम्पन्न, मृत तथा आँखा उल्टिएको पुत्रलाइ जन्म दिइन्। त्यो देखेर जम्मै आइमाई रुन थाले तथा महान् पुत्रशोकको कारणले मालिनी मूर्छित भइन्। त्यस मृत बालकलाई राजा प्रियव्रतले श्मसान लगे र त्यहा निर्जन वनमा बालकलाइ छातीमा टाँसेर विलाप गर्न थाले।
अत्यन्त दारुण पुत्रशोकका कारण राजाको ज्ञानयोग विस्मृत हुन् पुग्यो। उनी प्राण त्याग गर्न तत्पर भए। यसैबीच त्यहाँ आकासबाट एउटा विमान अवतरण भयो जसमा दिव्यरुपधारिणी देवी थिइन। राजाले देवीसित ‘तपाई को हुनुहुन्छ ?’ भन्ने प्रश्न गरे। उतरमा देवीले भनिन् –हे राजन, म ब्रह्माकी मानसी कन्या हु। सबैमाथि शासन गर्ने म देवसेनाको नामले प्रसिद्ध छु। विधाताले आफ्नो मनले मेरो सृष्टि गरेर स्वामी कार्तिकेयलाइ सुम्पि दिए । मातृकाहरुमा विख्यात म स्वामी कार्तिकेयकी पतिव्रता पत्नी हु। भगवती परा–प्रकृतिको षष्ठांश भएको कारणले म विश्वमा षष्ठी नामले प्रसिद्ध छु। म पुत्रहीनलाई पुत्र, पतिलाइ प्रिय पत्नी, दरिद्रलाई धन दिने देवी हु। यति भनेर देवीले त्यस मृत बालकलाई तत्कालै जीवित गरि दिइन तथा त्यस बालकलाई लिएर विमानमा सवार भई आकाशतिर उडने उपक्रम गर्न थालिन।
यो देखेर राजाको ओठ मुख सुक्न थाल्यो। आतिएर उनी देवीको स्तवन गर्न थाले तथा पुत्र प्राप्तिको लागि याचना गर्न थाले। राजाको याचना तथा स्तवनले प्रसन्न भएर देवीले भनिन्– राजन तिमी स्वाम्भुव मनुको छोरा तथा तीनै लोकको राजा हौ। तिमीले सर्वत्र मेरो पूजा गराएर स्वयंले पनि पुजा गरेमा म यस बालक तिमीलाई दिन तयार हुनेछु। यो बालक सुव्रत नामले प्रसिद्ध हुनेछ। यो बालक गुणी तथा विद्वान हुनेछ। राजा प्रियव्रतले देवीको वचन स्वीकार गरे। देवीले सो बालक प्रियव्रतलाई सुम्पेर अन्तर्ध्यान भइन्।
इति देवीं च संस्तूय लेभे पुत्रं प्रियव्रतः। यशस्विनं च राजेन्द्रः षष्ठीदेव्याः प्रसादतः। प्रचलित मान्यता अनुशार त्यसै बेला देखि छठीमाताको पूजन लोकजीवनमा चल्न थाल्यो जुन अद्यावधि पनि जारी छ । यस सालको छठीमाताको पूजनोत्सवको पुण्य अवसरमा हामी पनि छठीमातासित प्रार्थना गरौं –कल्याणं च सुमति देहि षष्ठीदेव्यै नमो नमः।