कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएर कार्तिक शुक्लपक्ष द्धितिया तिथीसम्म जम्मा पाँच दिन मनाउँदै आएको तिहार पर्व पञ्चाङ्ग समितीको निर्णयअनुसार तिथी क्षय अर्थात तिथी घटबढ हुँदा यो वर्ष चार दिनसम्म मनाउने निर्णय भयो।
जसअनुसार कार्तिक ९ गते काग तिहार मनाइयो भने कार्तिक १० गते बिहान कुकुर पुजा र साँझ लक्ष्मी पुजा गरियो। कार्तिक ११ गते गोर्बधन पुजा गरि भोली अर्थात कार्तिक १२ गते भाइटिका मनाइदैं छ। पञ्चाङ्ग समितीको यो निर्णयलाई खस–आर्य समुदायको संस्कृतिलाई केन्द्रमा राखी नेवारी संस्कृतिलाई पक्षपात गरेको भन्दै केही नेवारी समुदायबाट विरोध पनि भयो। नेवार समुदायको विरोध पश्चात यो विषय सदनसम्म पुग्यो। अन्ततः सरकार बाध्य भएर नेवार समुदायलाई भाइटिका अर्थात किजा पुजा मनाउन कार्तिक १३ गते सार्वजनिक बिदा दिनुपर्ने आवश्यकता महसुस भयो।
यसै सन्दर्भमा शताब्दी पुरुष सत्यमोहन जोशीले नेवारी परम्परा हजारौ वर्षदेखि चलिआएको बताएका छन्। उनले नेवार समुदाय आफ्नै ऋति, थिति र परम्पराअनुसार चल्ने हुँदा नेवाः परम्परा अनुसार नै स्वन्ति नखः (लक्ष्मी पुजा, म्हँ पुजा र किजा पुजा) गर्नुपर्छ भन्दै एक कार्यक्रममा पञ्चाङ्ग समितिलाई नेवारी परम्परा र व्यवहारसँग खेलवाड नर्गन सुझाव दिएका थिए।
यसअघि २०५७ साल कार्तिक ११ गते औथी तिथी १७ घडी ३८ पला, प्रतिपदा १७ घडी १० पला र द्धितिया १७ घडी ५९ पला हुँदा यस्तै विवाद उब्जिएको थियो। तर, त्यस बेला पञ्चाङ्ग निर्णायक समितिका तत्कालिन अध्यक्ष मंगलराज जोशीले १२ गते नै गर्नु पर्ने व्यक्तव्य जारी गरेपछि सोही निर्णय सदर भएको थियो। तर यसपटक निर्णय मानिएन र विवाद बढ्दै जाँदा नेवारी समुदायले राष्ट्रिय पञ्चाङ्ग समिति जस्तै नेपाल संबत नेवाः पञ्चाङ्ग समितिको स्थापना गर्नुपर्ने माग गर्दै यो वर्षको नेपाल संम्बत ११४० मनाउने तयारी गरिरहेको छ।
केही महिनाअघि सोह्र श्राद्रको समयमा गोकर्णमा कथा व्यास ईश्वर कृष्ण महाराजले २१ करोड बत्ति दिपवान गर्ने घोषणा गरे। उनले यति बेला भागवतसमेत लगाउने भन्दै करिव एक वर्ष अघिदेखी नै प्रचार–प्रसार गरेका थिए। तर, कार्यक्रम शुरू हुनुभन्दा १० दिनअघि पञ्चाङ्ग निर्णायक समितिले शुक्र अस्तको बेला (पितृ पक्ष) कुनै पनि अशास्त्रीय कर्म गरे पातक लाग्ने भन्दै विज्ञप्ति सार्वजनिक गर्यो। पञ्चाङ्ग समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा ईश्वर कृष्ण महाराजको कार्य गलत भएको भन्दै शास्त्र विपरित गरिने कार्यले शुभ नहुने बताएका थिए। तर, ईश्वर कृष्ण महाराजले भागवत इश्वरको स्वरुप भएको हुँदा जति सुकै पाप लागे पनि आफू भागवत लगाएरै छाड्ने उद्घोष गरे र पञ्चाङ्ग समितिको विरोधका बाबजुद गोकर्णमा २१ करोड दिपवान साथै भागवत लगाइछाडे।
यी घटनाहरू हेर्दा विस्तारै हाम्रो राष्ट्रिय पञ्चाङ्ग समितिका निर्णय विवादित हुने र समितिको निर्णय नमानी आफू अनुकुल गर्ने स्थिति बन्दै गएको भान हुन्छ। हुनत देश गणतन्त्रमय भएपछि धर्ममा समेत राजनीतिको प्रभाव बढ्दै गइरहेको महसुस गर्न पाइन्छ।
हिन्दु संंस्कारअनुसार क्रिया बस्ने, जुठो बार्ने, सुतक बार्ने चलन विस्तारै मानिसहरूले आफ्नो अनुकूल परिमार्जन गर्दै गइरहेका छन्। तर, यसले हाम्रो संस्कृतिमा ठूलो क्षय भइरहेको छ। त्यसैले परापूर्वकालदेखि हामीले मनाउदैं आएको चाडवाड, ऋति, संस्कृतिमा धार्मिक सहिष्णुता अपनाउदैं विवाद नगरि संस्कृतिको जर्गेना गर्ने हो कि?
साथै पञ्चाङ्ग समितिको गठन गर्ने क्रममा सबै धार्मिक समुदाय तथा जातिको प्रतिनिधित्व गर्न सकेको खण्डमा भोलीका दिनमा यस्तो विवाद हुदैन्थ्यो कि?
धर्म, संस्कृति र परम्परा मान्ने र मनाउने क्रममा विवाद हुँदा भोली धर्मकै नाममा समाजको ध्रुविकरण नहोला भन्न सकिदैन्। यति बेला हाम्रो धर्म, संस्कृति र परम्परा संसारमा चर्चित हुँदै गइरहेको छ। युरोप, अमेरिकालगायत अन्य मुलुकमा विस्तारै हिन्दु धर्मको अनुसरण गर्नेको संख्या बढ्दो छ। यस्तो अवस्थामा हामीले संयमित हुँदै समयानुकूल धर्म, संस्कृति र चाडवाड मनाउदैं जाने हो की?