भक्तपुर दरबार स्क्वायर पछाडि हामी पुग्दा कुमाले अर्थात माटोका भाँडा बनाउनेको हुल घाम तापिरहेको थियो। घाम तापिरहेका बिचमा युवा, अधबैंसे र माटोको भाँडा बनाउँदा बनाउँदै मुहारमा अनुभवका रेसाहरु संगालेका बृद्ध पनि थिए।
हामीले यस विषयमा उनीसँग कुरा गर्न खोज्दा उनले नेपाली आँउदैन भनेर बोल्न मानेन्। त्यसपछि अरू बोल्न तम्सिए।
खानाको परिकार झै माटोको भाँडा र सजावटका प्रकार बनाउन यहाँका प्रजापति जाति खप्पीस छन्।
उनीहरु नेपालमा भए पनि उनीहरुले बनाएका कला विदेशमासमेत पुगिसकेका छन्।
यसपटक हामीले माटोका भाँडा बनाउने कथा भन्दा पनि यस भित्रको फरक पाटो खोतल्ने प्रयास गर्यौं।
काठमाडौंका धेरैको घर घरमा दियोको रूपमा उनीहरूले बनाएका सामान बलिरहेका हुन्छन्।
भक्तपुरमा पुस्तेनी कुमालेको काम गरिरहेका राजेन्द्र प्रजापति (५५) भन्छन्, 'माटोको भाँडा जन्मेदेखि मृत्युको क्रियाक्रममा काम लाग्छ। तर, आज भोलि प्लाष्टिकका भाँडाले माटोको भाँडालाई विस्तापित गर्दै लगेको छ।'
भक्तपुरको पोट्री स्क्वायरमा पुस्तेनी माटोको भाँडा, दियो, विभिन्न मूर्तीहरू बनाउने स्थान छ। जहाँ आर्कषक मूर्ति र माटोको दियो बनाउने काम हुन्छ। यहाँ पुस्तेनी पेशा हस्तान्तरण भइरहेको छ।
पुस्तेनी धरोहर अर्थात पुराना माटाका सुराईदेखि माटोको गमला पनि लोप भइरहेको राजेन्द्रको अनुभव छ।
राजेन्द्रलाई अहिले आफ्नो बुवाले बनाउन जानेका माटका परिकार बनाउन आँउदैन। ‘पुराना सामानको त मैले नामै बिर्सिसकेँ', उनले बिएल नेपाली सेवासँग भने।
उनका दाजुले माटोका भाँडा र सजावटका सामाग्री बिक्री गर्ने पसल राखेका छन्। उनले पनि त्यहीँ पसलमा सामाग्री पठाउँछन्।
यतिखेर उनलाई दियो बनाउन भ्याई नभ्याई छ। तिहारको समयमा दियोको अत्याधिक विक्रि हुने गरेको उनले बताए।
बढ्दो शहरीकरणसँगै माटोको भाँडा लोप हुनुका साथै माटो नै नपाइनाले पेशा नै धरापमा पर्ने भन्दै उनीहरू चिन्तित छन्।
माटोका सामाग्रीका लागि कालो माटो चाहिन्छ। जुन अहिले पाउन मुश्किल पर्छ। पाइहाले पनि धेरै महङ्गो पर्छ। महङ्गो पर्ने माटोका भाडाभन्दा प्लास्टिकका भाडातर्फ ग्राहक आकर्सित हुन्छन्।
राजेन्द्रको जस्तै विकास प्रजापतिका बुवा, बाजे, जिजुबाजेले पनि यही ठाँउमा माटो खेलाएरै जीविका चलाएका थिए।
अहिले उनी पनि आफूलाई सम्झना भएदेखि यहीँ माटोका सामाग्री बनाएर जीविकोपार्जन गरिरहेका छन्।
विकासले पनि आज भोलि कालो माटो पाउन समस्या भएको गुनासो गरे। नेपाली भन्दा विदेशीले माटोबाट बनेका सामाग्रीहरू किन्ने गरेको उनले सुनाए। बुद्धको शिर, दियो, माटोको हात्ती प्रायः बिक्री हुने गर्छन्।
विकासका बुबाले बनाउने माटाका कतिपय भाँडाको नाम विकासलाई सम्झना पनि छैन। मासिक २५ देखि ३० हजार आम्दानी हुने विकासले बताए।
यो आम्दानीका लागि उनी र उनकी श्रीमती रातदिन खट्ने गर्छन्। उनका छोराहरू सानैछन्। त्यसैले अवका पुस्ताले यो पेशा अंगाल्लान् भन्नेमा उनलाई शंका छ। हेर्नुहोस्
भिडियो रिपोर्ट......