सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण गर्न सरकारले दीर्घकालिन योजना बनाइरहेको बताएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमूर्त साँस्कृतिक सम्पदा दिवसको सन्दर्भमा शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले संस्कृति मुलुकको पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारले दीर्घकालिन योजना बनाउने बताए। नेपाल अमूर्त सम्पदाको धनी भएकाले नेपाललाई अमूर्त सम्पदाको विश्वबिद्यालय बनाउनु पर्ने उनको भनाई थियो।
उनले पछिल्लो समयमा अमूर्त सम्पदामाथि मानविय हस्तक्षेप बढ्दै गएकाले यसबाट बचाउने चुनौती रहेको जिकिर गरे। उनले संस्कृतिको रक्षा गर्न बिभिन्न प्रतिष्ठान निर्माण गरेको भन्दै यसले आउने पुस्तालाई कला र सस्कृति हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा अमूर्त सम्पदा, संस्कृति र नेपाली रितीरिवावाजबारे बिभिन्न कला प्रस्तुत गरिएको थियो भने काठमाडौमा बिभिन्न जातजातीको संस्कृति झल्कने र्याली निकालिएको थियो।