धान्नै गाह्रो दशैं

बीएल

गोलभेडा ११० रूपैयाँ, प्रति केजी 

परवल ७० रुपैयाँ,

भण्टा ७० रुपैयाँ,

प्याज १२० रुपैयाँ,

च्याउ २२० रुपैयाँ,

कुखुराको मासु ३४०,

खसीको मासु १२००,

साग प्रतिकेजी ९०। 

यो काठमाडौ प्रदर्शनीमार्गस्थित तरकारी बजारको हिजो आजको भाउ हो । ठाउँ अनुसार केही फरक पर्नसक्छ । 

एउटा पाइन्ट वा कुर्ता मुश्किलले १५०० र टीसर्ट पनि पुरूषको सामान्यत १००० देखि माथि र महिलाको २००० देखि माथि, त्यसै अनुपातमा जुत्ताको भाउ झनै माथि।

समाचारमा आए अनुसार काठमाडौंबाट करीब १४ लाखभन्दा बढी मान्छे दशैं मान्न आ–आफ्नो थलो फर्किएका छन् ।

काठमाडौंको सडकले पनि केही हलुङ्गो महशुस गरे झैं लाग्छ । तर, काठमाडौभित्रको शहरबजार, शक्तिपीठको रूपमा स्थापित देवी मन्दिरमा भीडभाड उस्तै देखिन्छ ।

यो स्थापित बजार मूल्यसँग सामना गर्दै उपत्यका बाहिरबाट काठमाडौंमा आई सामान्य जागिर खाँदै, कलेज पढ्दै बसेका एउटा सामान्य मान्छेले दशैं उत्सव कसरी मनाउन सक्छन् ? आउनुस् एकछिन घोत्लिउँ।

सन्दीप काफ्ले, वर्ष २५, काठमाडौंको डेरा, ना.सु. जागिर, स्नातकोत्तरका विद्यार्थी ।

आफ्नो साथमा बहिनीलाई कलेज पढाइरहेको । उनको मासिक खर्च हेरौं:

घरभाडा ६,०००
पानी, विजुली, फोहोर व्यवस्थापन १,२००
दाल, चामल, तेल, मसला, ग्याँस ६,५००
माछा, मासु, तरकारी ३,०००
खाजा ३,०००
कलेज शुल्क, पुस्तक, कलम, कपि ४,०००
मोबाइल रिचार्ज १,०००
साबुन, सरफ, स्याम्पु १,५००
गाडी भाडा १,५००
अन्य भैपरी २,०००
जम्मा खर्च २९,७००
मासिक तलब ३०,२००

काठमाडौंको भागदौड दैनिकी, तलब थापेको दिन ठूलो जीत हासिल गरेको जस्तो खुशी हुन्छ । तर, पसलमा रासन पानीको तिरोतारो र डेराभाडा तिर्दा हुने खल्ती शून्य र मनस्थिति शून्यताले काठमाडौंको महङ्गीलाई सम्झने फुर्सद पनि हुन्न ।

फेरि अर्को महिनाको मसान्त पर्खने प्रतिक्षाले कुदाइरहन्छ । सन्दीप काठमाडौंमा क्यारियर बनाउन संघर्षरत् आमयुवाको प्रतिनिधित्व हो । पानी पनि नकिनी तिर्खा मेट्न पाइन्न । त्यसैले यहाँ कोदेखि कोसँग रिस र गुनासो गर्नु ? मनभित्रको खिन्नता पोखिन्छ सन्दीपको मुहारमा।

धन्न धन्न जीविका चलाइरहेको सन्दिपले घरको जेठो सन्तान भए पनि घरपरिवारको आर्थिक जिम्मेवारी बोक्नुपरेको छैन । ‘गाउँमा बा को जागिरले बा आमाको जीवन धानिरहेकै भएर सजिलो छ । दुःख बिराम पर्दा र अपर्झट कुनै ठूलो खर्च गर्नुपरे, साथीभाइसँग सापटी नै लिने हो । बचत हुने त कुरै छैन, काठमाडौमा जागिर खाएर जमिन र घर तथा अन्य सुविधा कसरी जोड्न सकिएला र खोई? कसरी सके अरुले भन्ने ठूलो आश्चर्य उठ्छ मेरो मनमा।’

दशैं पेश्कीले दशैं धानिन्छ भन्ने प्रश्नमा सन्दीप भन्छन् – ‘दशैं पैसाले भन्दा पनि मनले धान्ने हो । आफूसँग जे जति छ, त्यसैले मान्ने हो, सन्तुष्ट हुने हो । दशैं पेश्की अघि तपाईले भन्नु भए जस्तै काठमाडौको महङ्गीसँग लड्ने अलिकति बल पुग्छ म र मेरी बहिनीलाई। आवश्यक सामग्री मात्रै खरिद गर्ने, कपडा अहिले दशैंमा नै किन्नुपर्छ भन्ने छैन नि, बरु रासनपानी किनेर सञ्चय गर्छु, भाडा अग्रिम तिर्छु । यस्तै हो ।’

पढेलेखेको, जागिरे युवा, समाजलाई बुझेको मान्छे विदेश जाने रहर वा सोच होला कि भन्ने प्रश्नमा सन्दिप भन्छन्, ‘विदेशमा गएर चाहीँ कामै नगरी पैसा फल्ने हो र? काम गरे जहाँ पनि त्यसको मूल्य पाइन्छ । उही फरक के हो भने योग्यता अनुसारको काम भने पाउनुपर्‍यो। काम अनुसारको कमाई पनि पाउनुपर्‍यो, कोही पनि विदेश जाँदैनन् जस्तो लाग्छ।’

सन्दीप जस्ता युवाहरू काठमाडौंमा लाखौं छन्। सामान्य जिन्दगी, सामान्य रहर, जीवनप्रतिको आशा, देशप्रतिको प्रेम र जिम्मेवारीहरुले भर्भराउँदा जीवनलाई देशभित्रै अटाउन र अड्न दिन सकियोस्, नकरात्मक सोचलाई बदल्न सकियोस् ।

यही नै बडादशैंको शुभकामना।

प्रकाशित मिति: : 2019-10-05 08:00:56

प्रतिकृया दिनुहोस्