बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।गत शनिबार बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलनमा दुई पक्षबिच झडप भएको थियाे ।
आज (बुधबार) गृहमन्त्रालयमा सो सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा बादल सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्याल, मन्त्रालयका पदाधिकारी सहितको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले बौद्धनाथ क्षेत्र विकास समिति,बौद्ध तामाङ कल्याण गुठी, बौद्ध(मेलम्ची घ्याङ्ग गुठीबिचको विवाद अन्त्यका लागि सहजिकरण गर्न एवम् ति संस्थाहरुको विवाद अध्ययन गरि दिगो समाधानका लागि उपयुक्त सुझाव सहितको प्रतिवेदन तयार पेश गर्न सहसचिव तामाङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव निरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णय समेत बैठकले गरेको छ ।