जनकपुरमा प्रहरीको भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन् ।
बुधबार बिहान साढे ८ बजे सरसफाइ कार्यक्रम गरेर फर्किँदै गरेको प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यानमा तीव्र गतिमा आउँदै गरेको अनटेस्ट २२० सीसीको पल्सर मोटरसाइकल जनकपुरको रामचोकमा ठोक्किएको प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए।
दुर्घटनामा धनुषाको धनौजी गाउँपालिका–२ घर भइ जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने १९ वर्षीय मनिष मण्डलको ज्यान गएको एसपी खनालले बताए ।
मोटरसाइकल चालक मण्डलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा मण्डलका घरबेटी नजुर अन्शारी घाइते भएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।