बेचबिखनको माध्यम बन्दै मनोरञ्जन क्षेत्र

तस्बिरः बिएल

 ‘१४ वर्षको उमेरमा बिहे भयो। दुई छोराछोरी भए। बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाले गर्दा म कतार  गएँ।  कम्पनीको काम भनेर गएकी थिएँ, तर मलाई घरेलु काममा लगाइयो। घरेलु काम गर्दा जति हिंसा र  दुर्व्र्यवहार सहेँ, त्यो अहिले म वर्णन गर्न सक्दिनँ।’

उदयपुर घर भएकी २४ वर्षीया सानु मगर (नाम परिवर्तन) ले आँखाभरि आँशु पार्दै भनिन्, ‘दुई छोराछोरीको मुख सम्झेर जस्तो दुःखमा पनि काम गरेँ, एक्कासी नेपालमा बुढा विरामी छन् भन्ने खबर आयो,  नेपाल फर्किएँ, यहाँ आउँदा मेरो बुढा मरिसकेका रहेछन्।’

उनले बरर्र आँशु झारिन्, गला अवरुद्ध भयो। हिक्क–हिक्क गर्दै अगाडि बोलिन्, ‘जीवनमा ठूलो बज्रपात आइलाग्यो। जेठाजु पनि केही महिना अघि गाडी दुर्घटनामा परेर मरे। बुढा र जेठाजु मर्नुको दोष ममाथि थोपरियो।’

उनलाई अलच्छिना, व्यहोरा नभएकी, घरका दुई–दुई जना मान्छे खाईजस्ता आरोप लगाइयो। त्यो सहन नसकेपछि उनी एकजना साथीसँग काठमाडौं आइन्।

‘काम धेरै खोजें, कतै नपाएपछि बसपार्कको एउटा दोहोरी रेष्टुरेन्टमा काम गर्न थालेँ। जिन्दगीमा गीत कसरी गाउने थाहा थिएन, तर त्यहाँ म गायिकाको रुपमा काम गर्न थालेँ।’

दिनभरि घरमा प्राक्टिस गर्ने, साँझ परेपछि रेष्टुरेन्टमा गाउँने त हो नि, भनेर गएकी थिएँ। तर त्यस्तो होइन रहेछ। गीत मिठो गाउनेभन्दा पनि ग्राहकबाट कसरी धेरै पैसा असुल्ने भन्ने उद्देश्यका साथ काम हुँदोरहेछ।

गीत गाउँदागाउँदै रक्सीले टन्न मातेका ग्राहकले साहुलाई त्यो केटी पठाइदेऊ भन्दा रहेछन्, अनि हामी उनीहरूको छेउमा गएर बस्नुपर्ने– त्यो पनि वर्षौंदेखिको माया–प्रेममा परेको जोडीझैं।

मन लागे पनि नलागे पनि पिउनुपर्ने। ग्राहकसँग नजिक भएन र जतिसक्दो बढी अर्डर गरेर, बिल बढाएन भने साहुले तैंले गरिखान्नस् भन्दै कामबाट निकाल्ने धम्की दिने गर्थ्र्यो। त्यस्तो  बाध्यता र दबाबका बीच काम गरेँ।

यो  कुराकानी गर्दै गर्दा सानु विदेश जाने तयारीमा थिइन्। उनीसँगै काम गर्ने साथीको दाइले विदेश जान सल्लाह दिएकोले मेनपावर कम्पनीमा पैसासमेत बुझाइसकेको बताइन्।

‘दोहोरी र डान्सबारमा आउने ग्राहकहरू धेरैजसो मेनपावर कम्पनीसँग सम्बन्धित हुन्छन्, उनीहरुले धेरैलाई पठाइसके, अब हामी पनि जाने हो। दुनियाँको अगाडि बदनाम भएर बस्नुभन्दा विदेश जानु राम्रो,’ उनले आफ्नो निर्णय सुनाइन्।

सानुजस्तै नुवाकोटकी माया गुरूङ (नाम परिवर्तन) यति वेला वैदेशिक रोजगारीमा जाने तयारीमा छिन्।  ‘विदेश गएका श्रीमानले एक रूपियाँ पनि पठाएनन्। काखमा सानी छोरी छ। उसैलाई पाल्न म गोंगबुको एक दोहोरी रेष्टुरामा काम गर्न थालेँ। गाउँकी सोझी केटी यहाँ आएपछि रक्सी र चुरोट पिउनु मेरो लागि समान्य बन्दै गयो। म सधैं अरूसँग बनावटी हाँसो हाँस्दै टाँसिन सक्दिनँ म्याम। साथीको ब्वाईफ्रेण्डले विदेश पठाउने काम गर्दोरहेछ । राम्रो काम खोजिदिन्छु भनेको छ,’ उनले आफ्नो योजना सुनाइन्।

सानु र माया मात्र होइन, रामेछापकी मनमाया मगर (नाम परिवर्तन) पनि गोंगवुको एक डान्सबारमा काम गर्दागर्दै दलालको प्रलोभनमा परी विदेश गइन्।

दुवई पुगेपछि उनी त्यहींको एक डान्सबारमा काम गर्न थालिन्। डान्सबारमा आउने ग्राहकले उनीहरुलाई फकाउँथे। नेपालमा भन्दा यही काम गर्दा धेरै पैसा आउँछ भन्दै पासपोर्ट बनाउनेदेखि मेनपावरसम्म पुर्‍याउने काम गरिदिन्थे ।

मनमायाले भनिन्, ‘ग्राहक बनेर आउने तिनीहरु त हामीलाई बेच्ने दलाल पो हुँदारहेछन्। नेपाली चेलीहरु नेपालमा नेपालीबाटै  लुटिन्छन् भने विदेशमा विभिन्न देशका मानिसले हाम्रो अस्मिता लुट्छन्। ६ महिनासम्म काम गर्दा आफू कामदार होइन, अरूको उपभोगको साधन भएको अनुभव भयो र भागेर नेपाल आएँ। नेपाल आएपछि बाँच्नको लागि अहिले फेरि एउटा दोहोरीमा काम गर्दैछु,’ उनले गहभरि आँसु पार्दै आफ्नो दुःख बिसाइन्।

कुनै न कुनै रूपमा घरेलु हिंसामा परेका, आर्थिक अवस्था कमजोर भएका, अशिक्षित तथा पारिवारिक विखण्डनमा परेकाहरू नै मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला हुने गर्छन्।

यसैले उनीहरुको कमजोरीको फाइदा उठाई  मेनपावरका ‘दलाल’ले निरन्तर डान्सबार, दोहोरीमा कार्यरत किशोरीलाई फकाउने गर्छन्।

कतिपयले त माया–प्रेमको नाटक नै गरेर पनि सहयोग गरेजस्तो गरेर विदेश पठाउँछन् । अन्ततः उनीहरु फेरि पनि विदेशका डान्सबारमा बेचिन पुग्छन् ।

मनोरञ्जन क्षेत्रमा आउने ग्राहक मेनपावर व्यवसायी तथा दलाल, घरजग्गाको कारोवार गर्नेहरू, ड्राइभर, घर बनाउने ठेकेदार, भारतीय मूलका व्यापारी अनि, विदेशबाट फर्केका कामदार हुन्छन्।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरी एकै ठाउँमा लामो समय काम गर्दैनन् । सो क्षेत्रमा गएर भेटेका कामदार तीन–चार महिनापछि जाँदा त्यहाँ भेटिदैनन्।

डान्सबारका मालिकहरुलाई सोध्यो भने सीधै भन्छन्, ‘खै विदेशतिर गए होलान्।’

राजधानीको ठमेलस्थित व्लुबारका म्यानेजर आयुश ठकुरी डान्सबार, दोहोरीमा काम गर्ने महिला तथा किशोरीहरु एकै ठाउँमा लामो समय टिकेर काम नगर्ने र काम गर्दागर्दै धेरै मानिससँगको संगतले विदेशतिर जाने प्रचलन बढिरहेको बताउँछन्।

ठमेलमै सञ्चालित वियरबारका मालिक भूपेन कुँवर ठमेल क्षेत्रमा रहेका सबै डान्सबारमा महिलामाथि हिंसा हुन्छ भन्नु गलत भएको बताउँछन्। ‘केही गलत व्यवसायीका कारण सबैलाई बदनाम गर्नु गलत हो। कसले कति ग्राहक ल्याउँछन्, त्यसको आधारमा तलब तोक्ने काम हामीले गरेका छैनौं,’ उनले भने, ‘बरू डान्समा को कति निपुण छ त्यो हेरेर मात्र काममा राख्छौ।’

कुँवर भन्छन्, ‘कामदार आफैंले पनि आफू कुन हदसम्म ग्राहकसँग व्यवहार गर्ने भन्ने सोच्नुपर्छ। हामीले कसैलाई पनि तिमी ग्राहकसँग नजिकिनै पर्छ, उनीहरुले भनेको मान्नुपर्छ भनेर बाध्यतामा पार्दैनौं, त्यसैले मनोरञ्जन क्षेत्रभित्र हुने यौन दुव्र्यवहार उनीहरु आफैमा पनि भरपर्ने कुरा हो।’

मनोरञ्जन व्यवसाय र यौन शोषण

आर्थिक लेनदेन तथा अन्य कुनै किसिमबाट फाइदा लिनको लागि व्यक्तिलाई व्यावसायिक रुपमा यौनजन्य कार्यमा संलग्न गराउने कार्य व्यावसायिक यौन शोषण हो।

यसमा डर त्रास, छलछाम, धोका, बल वा शक्तिको प्रयोग हुन्छ। यस्तो कार्यमा सो व्यक्ति आर्थिक, मानसिक र भौतिक रुपमा शोषित भएको हुन्छ र उसको मानवअधिकार पूर्ण रुपमा हनन् भएको हुन्छ।

नेपालमा व्यावसायिक यौन दुर्व्र्यवहारको मुद्दालाई  हालसम्म सार्वजनिक अपराध ऐन अन्तर्गत हेर्ने गरिन्छ जसमा ३ हजारदेखि २५ हजारसम्म जरिवाना हुनेगर्छ ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्र्यवहार नियन्त्रण गर्न सो सम्वन्धी ऐन २०७१ पारित भए पनि यसले विना दर्ता सञ्चालनमा रहेका व्यवसायमा हुने यौनजन्य दुव्र्यवहारलाई समेट्न सक्दैन।

मनोरञ्जन व्यवसाय पूर्णरुपमा दर्ता भएर सञ्चालनमा नरहने भएकाले यसक्षेत्रमा काम गर्ने महिला तथा किशोरीहरुमाथि हुने यौन दुर्व्र्यवहारलाई यसले पूर्णरुपमा समेट्न नसकेको हो । 

बेचविखनका  कारणहरु

महिला, बालिका तथा किशोरीमाथि हुने बेचविखन बढ्दै जानुमा दण्डहीनता पहिलो कारण हो।

राजधानीभित्र रहेका अधिकांश मनोरञ्जन क्षेत्रभित्र महिला, बालबालिका तथा किशोरीहरुमाथि आन्तरिक रुपमा बेचबिखन भइरहे पनि त्यसको नियन्त्रणको लागि अहिलेसम्म कडा कदम चालिएको देखिदैन।

मनोरञ्जन क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न सर्वोच्च अदालतद्वारा निर्देशिका २०६५ जारी गरिएको छ।  यसमा सो क्षेत्रमा कार्यरत श्रमिकको हक–अधिकार सुरक्षित गर्न व्यवसायी तथा  ग्राहकले पालना गर्नुपर्ने नियम स्पष्ट रुपमा उल्लेख गरिएको छ। तर, व्यवहारमा यो निर्देशिकालाई कुनै पनि व्यवसायीले  पालना गरेको देखिदैन।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अनुगमन तथा कारवाही समिति गठन गरेर अनुगमन गर्ने भनिए पनि उनीहरुलाई  कानुनी प्रक्रियामा ल्याउन सकिएको छैन।

हालसालै मात्र रेष्टुरेन्ट दर्ता सम्वन्धी कार्यविधि भने तयार भएको छ तर व्यवस्थित गर्न चालिएका यस्ता कदमहरु कछुवाको चालमा अगाडि बढ्दा कार्यान्वयनमा खासै प्रगति हुन सकेको छैन।

दुवई, मलेसिया, कतारलगायतका मुलुकमा व्यावसायिक यौन शोषणमा परेका धेरै युवतीहरु नेपाल फर्कनको लागि पहल गरिदिन भन्दै दूतावासमा आएर बसेको खबर बेलावेलामा सार्वजनिक हुन्छ।

विदेशबाट विभिन्न निकायको सहयोगमा फर्कन सफल किशोरीहरुले पनि आफूजस्तै धेरै साथीहरु अलपत्र अवस्थामा रहेको वास्तविकता बताइरहेका पनि छन्। तर सरकारले न त बेचविखन या व्यावासायिक यौन शोषणमा परेको ती किशोरी तथा महिलालाई तत्काल फर्काउन सकेको छ न त उनीहरुलाई बेचविखन गर्ने दलालहरुलाई, केही विकल्पलाई छोडेर, कानुनी कठघरामा उभ्याउन सकेको देखिन्छ।

प्रकाशित मिति: : 2019-09-27 09:32:59

प्रतिकृया दिनुहोस्