असई प्रितमको लुटेरा सम्पर्क
पछिल्लो समय नेपाल प्रहरी विभिन्न कारणले बदनामी खेप्न बाध्य छ। सुन तस्करीदेखि घुससम्मको घटनामा प्रहरी मुछिँदै आएको छ। पछिल्लो समय सुन लुटेको अभियोगमा प्रहरी बदनाम कमाइरहेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रितम लामा अहिले सम्पर्क विहिन छन्।
असई लामालाई बौद्धबाट ६ सय ग्राम सुन लुटेर फरार भएको आरोप लागेको छ।
परिसरका एसएसपी उत्तमराज सुवेदीले यस घटनाको अनुसन्धान भइरहेको बताउँछन्। ‘के हो हामी पनि अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
असई लामा घुमुवा प्रहरीमा थिए। उनीमाथि यसअघि पनि विभिन्न घटनामा लुटेरासँग सम्पर्क भएको देखिएको थियो। तर, उनलाई कमाण्ड गर्ने प्रहरी अधिकृतले बचाउँ गर्दै आएका थिए।
गत भदौ २२ गते महानगरीय प्रहरी वृत्त बौद्धमा परेको एउटा उजुरीको छानबिन गर्दा असई लामाको लुटेरासँग सम्पर्क देखिएको थियो।
सुन सस्तोमा दिने भन्दै आफ्नो १० लाख रूपैयाँ लुटिए पछि नारायण श्रेष्ठले उजुरी दिएका थिए।
सोलुखुम्बु घर भएका नोर्बु भनिने टासी लाक्पा शेर्पाले १० लाख रुपैयाँमा एक किलो सुन दिने भन्दै बौद्धमा बोलाएर श्रेष्ठको रकम लगेका थिए। तर, शेर्पाले बेचेको सुन नक्कली भएपछि उनी प्रहरीको शरणमा पुगेका थिए।
सम्पर्क बिहीन प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामा यस घटनामा पनि संलग्न भएको खुलेको थियो।
सम्पर्कबिहीन भएका असई लामाको कनेक्सन बौद्धमा नक्कली सुन देखाएर ठगी गर्ने टासी शेर्पासँग देखिएको अनुसन्धानबाट खुलेको छ।
असई लामाले टाँसीलाई पटकपटक फोन गरेका थिए। १२ पटकसम्म फोन सम्पर्क भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
टाँसीले प्रयोग गर्ने २२० सिसि पल्सर बाइक असई लामाको नाममा भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।