बैंक अफ काठमाण्डूका तत्कालीन (सीईओ) अजय श्रेष्ठसहित ५ जना कर्मचारी पक्राउ परेका छन् ।नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए ।
पक्राउ पर्नेहरुमा श्रेष्ठसहित बैंकका कर्मचारीहरुमा किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी निरज बहादुर शाहीले जानकारी दिए ।
खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरेको हो ।
उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको शाहीले जानकारी दिए ।