ठेकेदारको लापरवाहीले भवनको छत बाङ्गियो

बिएल

गत मंसिरमा मोरङको रंगेली नगरपालिका–७ स्थित बसपार्कमा १८ कोठाको सटर निर्माण कार्य सुरु हुँदा स्थानीयहरू निकै दंग परेका थिए। उनीहरूलाई लागेको थियो, बसपार्कमा बन्ने पूर्वधारले यहाँको विकाशमा ठूलो टेवा पुर्याउने छ। 

तर केही साताअघि आएको अविरल वर्षाका कारण सटरको माथिल्लो भागको ढलान बाङ्गिएको मात्र छैन, छतसमेत गहिरो भएको छ। गोविन्द कन्स्ट्रक्सन विराटनगरले निर्माणका लागि कूल ६५ लाख बराबरको ठेक्का प्राप्त गरेको थियो।

स्थानीय निकेश थापाका अनुसार पानी परेको बेला छत ढलान गरेका कारण यस्तो अवस्था आएको हो।

‘यति ठूलो पानी परिरहेको बेला ईन्जिनियरलगायत जनप्रतिनिधीहरूले ढलान कार्य रोकेनन्। राति १२ बजेसम्म छत ढलान भएको थियोे,’ थापाले बताए।

लगातारको बर्षाले ढलान गरिएको सबै सिमेन्ट बगाएपछि उक्त ठाउँमा छड देखा परेको थियो। तर ठेकेदारले पुनः माथिबाट पलस्टर गरेर टालटुल पारेको स्थानीय बताउँछन्।

स्थानीय अशुपत्ति मन्डल छतको सेन्ट्रिङ गर्ने समयमा बेवास्ता भएको बताउँछन्। उनले यसै कारण अधिकांश ठाउँ बाङ्गिएको र फुटेको बताउँछन्।

गोविन्द कन्स्ट्रक्सनका प्रोपाइटर अशोककुमार साह काम गर्दे जाँदा गल्ति भएको स्विकारछन्।

बिग्रिएको भवन निर्माणमा ईन्जिनियरले कसरी भवन पास गर्छन, त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति: : 2019-07-31 19:41:33

प्रतिकृया दिनुहोस्