शिखहरूको धार्मिक स्थललाई लिएर भारत–पाकिस्तानबीच सम्झौंता

Agency

भारत–पाकिस्तानबीच जम्मु–काश्मिरको विषयलाई लिएर विवाद चरममा रहेको बेला शिखहरूको धर्मगुरु बाबा नानक देवको तीर्थ स्थल करतारपुर कोरिडोरलाई लिएर बिहीबार दुई देशबीच सम्झौंता भएको छ।

पञ्जाबको गुरदासपुर जिल्लामा रहेको डेरा बाबा नानक देव क्षेत्रमा पर्ने भारततर्फको ४ दशमलव २ किलोमिटर लामो कोरिडोरको बाटो गुरुनानक देवको ५ सय ५० औं जयन्तीको एक साताअघि ३१ अक्टुबरमा पुरा हुँदैछ। यसको उद्घाटन भारत र पाकिस्तानका प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खानले संयुक्त रुपमा ९ नोभेम्बरमा गर्न लागेको विदेशी मिडियाले बताएका छन्।

पाकिस्तानमा पर्ने यो क्षेत्रमा प्रतिदिन ५ हजार भारतीय श्रद्धालु आउने गरेका छन्। यो कोरिडोर सुरु भएपछि पाकिस्तानलाई प्रतिदिन एक श्रद्धालुबाट २० डलर आम्दानी हुने बताइएको छ।

पाकिस्तानको पञ्जाब प्रान्तस्थित नारोवाल जिल्लाको करतारपुर साहिब गुरुद्धारा डेरा नानक भारतीय सीमाबाट ४ दशमलव ५ किलोमिटरको दुरीमा रहेको छ।

दुई देशका विदेश मन्त्रालयका पदाधिकारीले बिहीबार गरेको सम्झौंतामा यो क्षेत्रमा भ्रमण गर्ने धार्मिक श्रद्धालुले बिहान गएर बेलुका फर्किसक्नु पर्नेछ। यात्राका लागि भिसा निःशुल्क गरिएको छ भने श्रद्धालुले पहिचानका लागि पासपोर्ट लैजानु पर्नेछ। श्रद्धालुले सर्भिस शुल्कको रुपमा २० डलर तिर्नु पर्नेछ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले यसको जानकारी दिँदै भने, ‘सबै समुदायका भारतीय श्रद्धालुले करतारपुर कोरिडोरको उपयोग गर्न सक्ने छन्। यात्राका लागि भिसा निःशुल्क गरिएको छ। श्रद्धालुले आफ्नो वैधानिक पासपोर्ट लिएर जानसक्ने छन्।’

गुरु नानकले आफ्नो जीवनको अन्तिम १८ वर्ष हाल पाकिस्तानमा रहेको करतारपुरमा बिताएका थिए।

प्रकाशित मिति: : 2019-10-24 18:49:56

प्रतिकृया दिनुहोस्