डिपिआरको काम गर्ने मजदुरले ज्याला पाएनन्

नलगाड हाइड्रोपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् ।

दुई महीनादेखि रकम नभएको खाली चेक दिएर ढाँटीरहेको मजदुर नलगाड नगरपालिका–५ का शेरबहादुर सिंहले बताए। कम्तीमा पनि एक मजदुरको रु ७० हजारभन्दा बढी रकम निर्माण कम्पनीले भुक्तानी गर्न बाँकी रहेको छ ।

३० महीनामा सम्पन्न गर्ने शर्तसहित अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए ।  ती कम्पनीबाट अर्को निर्माण व्यवसायी वसन्त डिसीले अहिले कामको जिम्मेवारी लिएर गरिरहेका छन् ।

कम्पनीले ड्रिलिङकार्य ९० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए।

कन्ट्रक्सनका वसन्त डिसीले यहाँ काम गर्ने मजदुरलाई पटक–पटक खाली चेक दिएर झुक्याउने गरेको अर्का बारेकोट गाउँपालिका–८ अधेरीखोलाका मोहन सिंहले बताए।

मजदुर शेरबहादुर सिंहका अनुसार आफूलाई मात्र तीनपटक खाली चेक उपलब्ध गराएको तर बैंक जाँदा रकम नभएपछि तीनपटकसम्म चेक फर्किएको छ। उनले भने, ‘हामी १४ भन्दा बढी मदजुरको झण्डै रु छ लाख लिन बाँकी छ, सधैँ पैसा माग्दा चेक हात पार्छन्, तर बैंक जाँदा पैसा हुँदैन, खाली हात आउनुपरेको छ’, त्यस्तै स्थानीय मोहन सिंहले मङ्सिरदेखि अहिलेसम्म घरको भाडा नपाएको बताएका छन् ।

यस भन्दा अगाडि (पुस महिनामा) मजदुरले तुरुन्तै रकम पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएपछि नलगाड नगरपालिकाको न्यायिक समितिले दुई महीनाभित्र उपलब्ध गराउने दुवै पक्षबीच सहमति गराएको थियो । वसन्त डिसीलाई मजदुरको रकम नदिएर पटक–पटक खाली चेक दिनुको कारणबारे बुझ्न खोज्दा फोन नउठाएका कारण प्रतिक्रिया लिन सकिएन ।

प्रकाशित मिति: : 2019-08-25 09:41:46

प्रतिकृया दिनुहोस्