चिनियाँ राष्ट्रपति सी हिड्ने बाटो अवलोकन गर्न प्रधानमन्त्री आफैं जाँदै

तस्बिरः बिएल

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आउँदै छन्। भारत भ्रमणमा रहेका सी त्यहाँबाट सीधै काठमाडौं आउन लागेका हुन्।

सीको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। सि हिड्ने बाटो चिटिक्क पारेर सिंगारेको छ। सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ।

सीको नेपाल भ्रमणमा सुरक्षाका लागि भनेर ५० जना चिनियाँ सुरक्षाकर्मी काठमाडौं आइसकेका छन्। उनीहरूले सीको रुटको सूक्ष्म अध्ययन गरिरहेका छन्। सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ । सीको भ्रमणका लागि सरकारले सोल्टी होटेल तीन दिनका लागि बुक गरेको छ।

सी विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ।

चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेर स्वागतको भव्य तयारी गरेको छ।

सरकारले सी हिड्ने बाटो रातारात मर्मत तथा सजावट गर्‍यो।

सडक छेउछाउको फोहोर छोप्न नेपालीपन झल्काउने फ्लेक्स राखिएको छ भने तीनकुनेको खाली भागको बाहिरी घेरामा बिरूवाहरू रोपेर हरियाली बनाउने काम पनि भएको छ।

सडकका खम्बाहरूमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीका फोटाहरू टाँगिएका छन्। सीको रूटमा पर्ने सबै बाटो मर्मत गरेर चिल्लो बनाइएको छ भने पुलहरू रंगाएर चिटिक्क पारिएको छ। साथै हरियाली देखाउने अस्थायी रूपमा बिरूवाहरू रोपिएको र गमलाहरू सजाइएको छ। सी हिँड्ने रूट अहिलेसम्मै नभएको सिनित्त छ।

यसैको अवलोकन र सुरक्षा अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केही बेरमा सि हिड्ने बाटोको अवलोकनका लागि निस्कने भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सी करिब ९० जना प्रतिनिधिमण्डलसहित आउँदै छन्।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ। २३ वर्षअघि चिनियाँ राष्ट्रपति जियाङ जमिन नेपाल भ्रमणमा आउँदा पनि तत्कालीन राजा वीरेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च अधिकारीले स्वागत गरेका थिए।

प्रकाशित मिति: : 2019-10-12 08:27:05

प्रतिकृया दिनुहोस्