महराले त्यागे सरकारी सुविधा, डेरा खोज्दै

फाइल तस्बिर

 महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन्। महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् ।

सभामुखको हैसियतमा रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए ।  उक्त गाडीलाई बिहीबार दिउँसो संसद सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।

त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । 

महरासँग अहिले दुईजना पीएसओ मात्र बाँकी छन्। बसोबासका लागि नयाँ घर पाउनेबित्तिकै महराले सरकारी निवास बालुवाटार पनि छोड्ने उनका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए।

महरामाथि संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीमाथि यौनदुव्र्यवहारको आरोप लागेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएसँगै मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो। महराले मंगलबार नै उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति: : 2019-10-03 22:07:43

प्रतिकृया दिनुहोस्