५ वर्षसम्म अधुरै रूकुमको कबर्डहल, खेलाडी निरास

तस्बिरः राजु लामिछाने

निर्माण सुरू भएको ५ वर्षसम्म पनि रूकुम पश्चिमको मुसीकोट नगरपालिका १ बराहटाकुरामा रहेको कबर्ड पुरा हुन सकेको छैन।

२०७० सालदेखि सुरु भएको कबर्डहलको काम हालसम्म पनि अपुरो हुँदा खेलाडीहरू निराश छन्।

दिवा निर्माण सेवा प्रा.लिले २०७२ सालमा घेराबाराबाहेक कबर्डहलको अन्य संरचना निर्माण गरेको थियो। १८ महिनामा काम सम्पन्न गर्नेगरी २०७० मंसिर १८ गते कवर्डहल निर्माणको सम्झौता भएकामा सम्झौता भन्दा ६ महिना ढिला गरी प्रा.लि.ले आफूले पाएको म्याण्डेट अनुसारको काम सम्पन्न गरेको थियो। बारबन्दी बाहेकको काम गर्ने गरी ७२ लाख १६ हजार ४ सय ४६ रूपैंयाको ठेक्का लागेको थियो । राष्ट्रिय खेलकुद परिषदबाट उक्त बजेट व्यबस्था भएको थियो । 

बारबन्दीका लागि बजेट छैन

मार्सलआर्ट, ब्याटमिण्टन, टेबल टेनिस जस्ता इन्डोर गेम तथा भलिबलको प्रशिक्षणका लागि निर्माण गरिएको कबर्डहलको काम पुरा नहुँदा प्रयोगमा आउन सकेको छैन।

प्रयोगमै नआई कबर्डहल जीर्ण बन्दै गएको छ। कबर्डहलमा अब बारबन्दीको काम मात्रै बाँकि छ।

कबर्डहलको बारबन्दीका लागि कुनै निकायबाट पनि बजेट नआउँदा ५ वर्षसम्म पनि कबर्डहल निर्माणले पूर्णता पाउन नसकेको हो।

खेलाड निरा

विभिन्न खेलको अभ्यासका लागि सजिलो होस भनेर कवर्ड हल निर्माण थालिएपनि त्यसले लामो समयसम्म पूर्णता नपाउँदा खेलाडीहरू निराश भएका छन्।

कवर्डहलको आधाभन्दा बढी काम सम्पन्न भइसकेपछि अभ्यास गर्न पहिलेभन्दा सजिलो भएपनि पुरै काम अझै सम्पन्न नुहँदा सोँचे जति अभ्यास गर्न नसकेको तेक्वान्दो खेलाडी नरेस पुनले बताए।

कवर्डहलको काम सम्पन्न नहुँदा पानी तथा हावाहुरीले सताउने गरेको खेलाडीहरुको भनाई छ। इन्डोर गेमका लागि कबर्ड हल निर्माण गरिएपनि काम नसकिँदा ब्याटमिण्टनलगायतका खेल खेलाउन सक्ने अवस्था नरहेको जिल्ला ब्याटमिण्टन संघका अध्यक्ष अनिल बुढाल बताए।

कवर्डहलको वरिपरिको भाग खुला भएका कारण ठूलो पानी परेको बेला तथा हावाहुरी चलेका बेला अभ्यास गर्न नसकिने अवस्था छ। खुला ठाउँबाट पानी र हावा जति भित्र पस्ने हुँदा अभ्यासमा वाधा पुर्‍याईरहेको खेलाडीको गुनासो छ।

प्रदेशबाट बजेट आउने आशा

रूकुम पश्चिममा अर्को वर्ष बजेटको व्यवस्था गर्ने प्रदेश सरकारले आश्वासन दिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले जानकारी दिए।

उनका अनुसार, कार्यालयको तर्फबाट विभिन्न निकायमा लामो समयदेखि पहल हुँदै आएको छ। विगत ३/४ वर्षदेखि कबर्डहल निर्माणलाई पूर्णता दिन बजेटको व्यवस्था गरिदिन विभिन्न निकायमा पहल गरिरहेको बताउँदै प्रमुख केसीले बजेटको अभाव हुँदा ५ वर्षसम्म पनि कबर्डहल निर्माणको काम नकिएको उल्लेख गरे।

आगामी वर्ष प्रदेशबाट बजेट व्यबस्था हुने आशामा रहेको उनले बताए।

प्रकाशित मिति: : 2019-04-25 21:13:25

प्रतिकृया दिनुहोस्