बलात्कार आराेप लागेपछि सभामुख महराद्वारा राजीनामा (पत्रसहित)

तस्बिरः बिएल

बलात्कारको आरोप लागेका संघीय संसदका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार, सभामुखले उपसभामुखलाई राजीनामा बुझाउनुपर्छ । त्यहीअनुसार, सभामुख महराले उपसभामुख डा.तुम्बाहाङफे समक्ष राजीनामा बुझाएका हुन् ।

उनले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामापत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

महराले राजीनामा पत्रमा उनले केबाट राजीनामा दिएका हुन् भन्ने खुलाएका छैनन्।

सभामुखको लेटर प्याडमा राजीनामा दिएको भए पनि सांसदबाट भने उनले राजीनामा दिएका छैनन् । पत्रमा सांसदबाट राजीनामा दिएको कहिँकतै उल्लेख छैन।

यसअघि मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोमवार साँझ केही सञ्चारमाध्यमहरूले सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएको खबरहरू प्रकाशित गरेका थिए। त्यसपछि नेपालको राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको थियो।

पीडित भनिएकी महिलाको भनाइलाई उद्धृत गर्दै महराले आइतवार राति ती महिलाको डेरामै पुगेर यौन दुर्व्यवहार गरेको दाबी गरिएको थियो।

त्यसलगत्तै सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले वक्तव्यमार्फत् आरोपलाई महराको ‘राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र’ भन्दै खण्डन गरेका थिए।

यता प्रहरीले हालसम्म यस घटनाको विषयमा कुनै जाहेरी नपरेको बताएको छ।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र मा‌ओवादीको समर्थनमा सभामुख बनेका थिए।

यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो।

राजीनामा पत्र

प्रकाशित मिति: : 2019-10-01 13:18:06

प्रतिकृया दिनुहोस्