चार महिनामा गृह र वनका १९३ कर्मचारी विदेश सयर, ३० देशमा बिताए १५४९ दिन

सरकारले कर्मचारीको अनावश्यक विदेश भ्रमणमा कडाइ गर्ने नीति लिएको भए पनि पछिल्लो चार महिनामा गृह र वन तथा वातावरण मन्त्रालयका एक सय ९३ कर्मचारीले ३० देशको भ्रमण गरेको पाइएको छ।

उनीहरूले विदेशमा बिताएको दिन जोड्दा एक हजार ५ सय ४९ दिन हुन आउँछ। यो ४.२४ वर्ष हो।

पछिल्लो चार महिनामा गृह मन्त्रालयका एक सय ३ कर्मचारीले २१ देशको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा गृह मन्त्रालयबाट जति कर्मचारीले विदेश भ्रमण गरेका थिए त्यति नै सङ्ख्या चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा पुगेको छ।

‘अघिल्लो वर्षको तुलनामा भ्रमण सङ्ख्या केही बढेको होला। सङ्ख्या बढेको तालिम बढेकोले हो,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपालन्युजसँग भने, ‘क्षमता विकासको लागि भनेपछि भ्रमण रोक्न नसकिने रहेछ। फेरि यसमा नेपाल सरकारको खर्च भएको छैन।’

प्रकाशित मिति: : 2019-11-29 08:13:33

प्रतिकृया दिनुहोस्