किन आयोजना गरिन्छ ‘साग’ ? [टिप्पणी]

तस्बिरः पहिलोपोष्ट

सन् १९८४ मा पहिलो पटक दक्षिण एशियाली खेलकुद आयोजना हुँदा विश्व समुदायमा यो क्षेत्रले एउटा छुट्टै पहिचान बनाउन सफल भयो। विश्व समुदायले दक्षिण एशियालाई पनि प्राथमिकताको नजरले हेर्न थाल्यो। विश्व खेल जगतमा निकै कमजोर सावित भएका त्यति बेलाका देशहरुले पनि आफ्नो स्थान बनाउन सफल भए। सन् १९८३ मा साउथ एशियन ओलम्पिक काउन्सिल गठन भएपछि साग आयोजनाको बाटो खुलेको हो।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित दक्षिण एशियाका सात राष्ट्रको सहभागितामा दक्षिण एशियाली खेलकुद आयोजना गर्न शुरु गरियो। सन् १९८४ देखि यताको हिसाब गर्ने हो भने अहिलेसम्म १७ औं संस्करण पनि आयोजना भइसक्नु पर्ने थियो। तर, विभिन्न देशमा देखा परेका राजनीतिक कारण, ती देशहरुमा खेलकुदमा देखिएका विविध समस्या लगायतले साग आयोजना निरन्तर हुन सकेको छैन। जसको असर अहिलेसम्म पनि देखा परेको छ। नेपालमा आयोजनाको तयारी भइरहेको साग खेलकुद आजका दिनसम्म पनि अन्यौलमा हुनु भनेको दक्षिण एशियामा खेललाई हेर्ने दृष्टिकोण नै हो। विशेष गरेर भारतले पछिल्लो १० वर्षमा आफूलाई दक्षिण एशियामा मात्र सीमित नगराई ओलम्पिकसम्म प्रतिस्पर्धा गर्ने तहको बनाउन भूमिका खेल्यो। पछिल्लो दश वर्षमा भारतले खेलमा मारेको फड्को प्रशंसनीय नै छ। सन् २०१० मा भारतमा आयोजना भएको कमनवेल्थ गेम्सले भारतमा अकल्पनीय परिवर्तन आयो। भारतको दिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो परिवर्तनको शुरुवात देख्न सकिन्थ्यो। साग आयोजनाको मुख्य उद्देश्य भनेको शान्ति, सम्बृद्धी र प्रगति हो। देशको अन्य विषयलाई हामीले नियाल्ने बेला यो होइन। यती बेला अब हामीले नेपालको बारेमा चर्चा गर्ने बेला भएको छ। साग आयोजना अरु देशका लागि त्यति महत्वको विषय नहुन सक्छ तर नेपालका लागि साग महत्वपूर्ण पाटो हो। किनकि यो खेलको जन्मदाता नेपाल हो।

 

प्रकाशित मिति: : 2019-11-16 07:54:01

प्रतिकृया दिनुहोस्