यातायात व्यवस्था कार्यालय सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

ललितपुर, कात्तिक २९ गते । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार गोरखापत्रको स्थलगत रिपोर्टिङ टिम कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो । 
बिचौलियाबाटै बार्गेनिङ हुने भएपछि कर्मचारीलाई टाउको दुःखाइको विषय छैन । कार्यालयको प्रवेशद्वारमै “छिटो लाइसेन्स निकालिदिन्छु, लाइन बस्नु पर्दैन, लिखित र ट्रायलमा पास गराइदिन्छु” भन्नेहरूको तानातानमा पर्छन् सेवाग्राही । 
सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भ¥याङमा थप भएपछि पहिलाको तुलनामा सेवाग्राहीको भीड आधा घटेको छ तर सेवाग्राहीलाई दिने सास्ती र ठगिने क्रम भने घटेको छैन । 
प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई विगत १२ वर्षदेखि सहयोग गर्दै आएको बताउने ५० वर्षीय केशव भन्नुहुन्छ, “मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटकपटक धाइरहन पनि चाहँदैनन् । बरु दुई चार सय रुपियाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्, त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौँ । ”
कार्यालय खुल्ने समयभन्दा तीन घण्टाअगावै सेवाग्राही टोकन लिन बस्ने गर्छन् । त्यो टोकन लिइदिने, लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गरेका छन् । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । तर अनलाइन प्रणालीलले गर्दा भीड कम भएको अधिकारीहरूको दाबी छ ।

प्रकाशित मिति: : 2019-11-15 06:58:44

प्रतिकृया दिनुहोस्