महराविरुद्ध प्रहरीले जुटाएको प्रमाण : एसएमएसदेखि चश्माको पावरसम्म

काठमाडौं । संसद सचिवालयकै महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले कसुर अस्वीकार गर्दै आएका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र वयान दिँदै महराले घटना भएको भनिएको सुविधानगरस्थित घरको छेउमा पुगेको तर, बाटैबाट फर्किएको बताएका छन् । 

‘म गएको थिएँ तर, घरभित्र नछिरी फर्किएँ’, महराले वयानमा भनेका छन् । उनले बरामद भएको भनिएको चश्माको डण्डी, जुत्ताको जिब्री (भित्री तलुवा) पनि आफ्नो नभएको बताएका छन् । आफूलाई फसाउन पुरानो फालिएको चश्माको सिसा, डण्डी र जुत्ताको तुलवा राखेको हुन सक्ने उनको आशंका छ ।

तर, काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसन्धान अधिकृतले भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट प्राप्त सीसी टीभी फुटेजसहितका प्रमाणले महरा छोरा निर्मलको गाडी चढेर वारदात स्थलमा पुगेको पुष्ट्याइँ गरेको अभियोगपत्रमा उल्लेख गरेका छन् ।

अदालतमा दायर अभियोग पत्रमा भनिएको छ, ‘मिति २०७६/०६/१२ गते बेलुका १८ः०० बजेदेखि २१ः०० बजेसम्म सभामुख निवास बालुवाटारबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तिनकुने हुँदै घटनास्थलसम्मको फुटेज हेर्दा प्रतिवादी वारदार स्थलमा पुगेको देखिन आयो ।’

प्रकाशित मिति: : 2019-11-01 19:39:43

प्रतिकृया दिनुहोस्