नेकपा छाडेर नेकपा संयुक्तको पुनर्गठन, अलग्गै चुनाव लड्ने

तस्बिरः नेपाल न्यूज

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएकामध्ये केही नेताले फर्केर नेपाल कम्युनिस्ट पार्टी संयुक्त पुनर्गठन गरेका छन्। तत्कालीन नेकपा माओवादी केन्द्र हँुदै नेकपामा पुगे पनि नेताहरूले गत चैत अन्तिमतिर सम्मेलन गरेर चन्द्रदेव जोशीको नेतृत्वमा नेकपा संयुक्तको पुनर्गठन गरेका हुन्। पुनर्गठित नेकपा संयुक्तले निर्वाचन आयोगबाट पुरानै हसियाँ चुनाब चिन्ह प्राप्त गरिसकेको छ।

‘तत्कालीन माओवादी केन्द्रसँग एकीकरण गर्ने भनिएको हो, तर एकीकरण नै भएको थिएन,’ जोशीले नेपालन्युजसँग भने, ‘हामीसँगको एकीकरण प्रक्रिया नटुंगिदै माओवादी एमालेसँग एकीकरण गर्न गयो, तर केही साथीहरू भने गएनौं।’ संयुक्तका तत्कालीन अध्यक्ष गणेश साहलगायत केही मात्रै माओवादी केन्द्र हँुदै नेकपामा प्रवेश गरे पनि धेरैजसो पुरानै पार्टीमा रहेको उनको जिकिर छ। २०७४ साल असोज २५ गते तत्कालीन माओवादी र संयुक्तबीच पार्टी एकीकरण घोषणा बुद्धनगरस्थित एक पार्टी प्यालेसमा गरिएको थियो। त्यसलगत्तै, माओवादी केन्द्रका १५ जना सचिवालय सदस्यमध्ये ८ जना संयुक्तबाट प्रतिनिधित्वसमेत गराइएको थियो। स्थानीय तह निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग संयुक्त रूपमा उम्मेदवारी खडा गरे पनि असोज २५ गते माओवादी–संयुक्त एकीकरणको घोषणा गरिएको थियो।

प्रकाशित मिति: : 2019-09-29 16:39:32

प्रतिकृया दिनुहोस्