एकै वर्षमा २६% बढ्यो जीवन बीमा गर्नेको संख्या

तस्बिरः आर्थिक अभियान

काठमाडौं । आर्थिक वर्ष (आव) २०७५/७६ मा १२ लाख १ हजार ४६३ व्यक्तिले जीवन बीमा गरेका छन् । यो अघिल्लो आव २०७४/७५ को तुलनामा झन्डै साढे २ लाख (२५ दशमलव ९७ प्रतिशत) बढी हो । अघिल्लो आवमा ९ लाख ५३ हजार ७४९ ले जीवन बीमा गरेका थिए ।

बीमा समितिका अनुसार हालसम्म ५५ लाख ४४ हजार ९९८ अर्थात् १९ प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् । यद्यपि, समितिले गत आवमा बीमाको पहुँच २० प्रतिशत नेपालीमा पुग्ने अपेक्षा लिएको थियो । 

समितिका एक उच्च अधिकारीले भने, ‘असारसम्म २० प्रतिशत पुग्ने अपेक्षा थियो । तर, त्यसको नजीक मात्र पुग्न सफल भयौं ।’ अघिल्लो आवसम्म बीमाको पहुँच १४ प्रतिशत नेपालीमा पुगेको थियो ।

एउटै व्यक्तिले दुईभन्दा बढी बीमालेख लिने हुँदा दोहोरिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले कम्पनीहरूले जारी गरेको कुल बीमालेख संख्यामा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गर्ने अन्तरराष्ट्रिय प्रावधान छ । समितिले पनि सोही प्रावधानअनुसार बीमाको पहुँच गणना गरेको हो । साथै, चालू आवमा बीमाको पहुँच २५ प्रतिशत नेपालीमा पुर्‍याउने लक्ष्य लिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

यस तथ्यांकमा सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालाई भने समावेश गरिएको छैन । वैदेशिक रोजगारमा जाने कामदारले गर्ने उक्त बीमासहित कुल ७२ लाख ८ हजार १०५ नेपाली हालसम्म बीमाको दायरामा आएको देखिन्छ, जुन कुल जनसंख्याको २४ प्रतिशत हो । हालसम्म १६ लाख ६१ हजार १०७ ले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका छन् ।

७२ वर्षको इतिहास बोकेको नेपालको बीमा क्षेत्रले लामो समयसम्म गति लिन सकेको थिएन । तर, २ वर्षअगाडि १० जीवन बीमा कम्पनी थपिएपछि र नियामक निकायले पूँजी बढाउनेजस्ता नीति ल्याएपछि बजारमा प्रतिस्पर्धा बढेको छ ।

त्यसपछि पुराना कम्पनीहरू पनि सक्रिय हुन थालेका छन् ।

यस क्रममा बीमा समितिले पनि निरीक्षण, नियमन, सुपरिवेक्षणलाई सक्रिय बनाउँदै नीतिगत सुधारमा जोड दिँदै आएको छ । कार्यकारी निर्देशक पौडेलले भने, ‘अहिले कम्पनीको शाखा सबै जिल्लामा पुगेको छ । साथै, आम मानिसमा बीमाप्रतिको विश्वास पनि बढ्दै गएको छ ।’ कम्पनीहरूले बढी रिटर्न दिने प्रडक्ट ल्याएकाले र बैंकहरूले समेत संस्थागत अभिकर्ताका रूपमा काम गरेकाले पनि बीमा गर्नेको संख्या बढेको उनको भनाइ छ । 

प्रकाशित मिति: : 2019-09-09 07:35:14

प्रतिकृया दिनुहोस्