श्वेतपत्रबाटै अर्थतन्त्रको बद्‍नामी

फाइल तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थतन्त्रलाई बद्नाम गराउन मानिस परिचालित भएको बताएका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो नहान्न आग्रह गरेका छन्। उनले अर्थतन्त्र डुब्दा लाइफ ज्याकेट नै लगाएर आएको रहेछ भने पनि सँगै डुब्ने भन्दै सजग हुन गरेको आग्रहप्रति पूर्वअर्थमन्त्री र अर्थशास्त्रीले आलोचनात्मक टिप्पणी गरेका छन्।

दुई तिहाई बहुमतको शक्तिशाली सरकारको अर्थमन्त्री भएपछि खतिवडाले २०७४ चैत १६ गते श्वेतपत्र जारी गरेका थिए। ‘त्यही श्वेतपत्रमा उल्लिखित विज्ञ अर्थमन्त्रीको अवलोकन/सिंहावलोकनले अर्थतन्त्र अधोगतितर्फ धकेलिएको हो’, पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले भने, ‘हामीले भ्रष्टाचार रोक्नुपर्‍यो। सार्वजनिक खर्च प्रणालीमा सुधार गरेर विकास खर्च बढाउनुपर्‍यो। ४४ प्रतिशत विकास खर्च गरेर उहाँले ठूलै प्रगति गर्नुभएछ।’

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको श्वेतपत्रमा ‘मुलुकको ढुकुटी रित्तो रहेको’ र ‘निजीकरणको अभ्यास मूलतः असफल देखिएको’ टिप्पणी गरेका थिए। निजीकरणमाथिको अविश्वास र मुलुकको ढुकुटी रित्तो रहेका जस्ता गतल टिप्पणीका कारण स्वदेशी र विदेशी लगानी आकर्षित हुन नसकेको अर्थशास्त्री बताउँछन्। ‘अहिले नै उहाँका कामकारबाहीको मूल्यांकन गर्नु अलिक हतारो हुन्छ’, अर्थशास्त्री विश्व पौडेल भन्छन्, ‘उहाँलाई आफूले चलाएको अर्थतन्त्रको प्रतिरक्षा गर्ने स्वतन्त्रता छ। तर, उहाँले पहिल्यै हलुका ढंगले टिप्पणी नगरेको भए राम्रो हुन्थ्यो।’

अर्थमन्त्रीले अहिले राष्ट्र बैंकको क्यास ब्यालेन्स (नगद मौज्दात) का आधारमा सञ्चित कोषबारे बताउने गरेका छन्। महालेखा नियन्त्रक कार्यालयको सञ्चित कोष गत आवमा दुई खर्ब १० अर्ब रुपैयाँ घाटामा थियो। नगद मौज्दातमा आधारित सञ्चिति श्वेतपत्र जारी गरेको वर्ष २७१ अर्ब नाफा (सरप्लस) थियो। त्यतिबेला पूर्वअर्थमन्त्री डा.रामशरण महतले अर्थमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट अर्थतन्त्रका बारेमा हलुका टिप्पणी हुनु दुःखद् भएको बताएका थिए।

कतिपयले अर्थमन्त्री खतिवडालाई अर्थतन्त्रका बारेमा हलुका टिप्पणी गर्दा त्यसले गलत सन्देश बाहिर जाने सुझाएका थिए। उनीहरूले राजनीतिक स्थायित्वपछि द्वन्द्व र संक्रमणकालीन समयमा समेत कायम गरेको आर्थिक स्थायित्वका आधारमा तीव्र आर्थिक विस्तारमा अघि बढिरहेका भारत र चीनलगायत मुलुकबाट लगानी आकर्षित गर्न पहल गर्नसमेत आग्रह गरेका थिए।

अर्थमन्त्रीले श्वेतपत्र जारी गर्दा आव २०७४/७५ को सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३४ करोड रुपैयाँ थियो भने गत आव २०७५/७६ मा वर्षभरमा जम्मा १५ अर्ब ४६ करोड रुपैयाँ प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ।

प्रकाशित मिति: : 2019-09-09 07:25:03

प्रतिकृया दिनुहोस्